कृष्ण प्रजापति
विभिन्न पत्र पत्रिकामा हालै भारतीय सेना प्रमुख यही कार्तिक १८ गते नेपाल भ्रमणमा आउने कुरा प्रचार गरिएको छ । प्रत्येक पल्ट भारतीय प्रधानमन्त्री, मन्त्री र कुटनीतिक ब्यक्तिहरु नेपालमा आउँदा नेपालले केही न केही नेपाली सार्वभौमसत्तासंग सम्वन्धित चीजहरु गुमाउनु परिरहेको छ । नरेन्द्र मोदीले नेपाल भ्रमण गरी नेपालमा नाकाबन्दी गरेको पछिल्लो उदाहरण छँदैछ । त्यस्तै अटल बिहारी बाजपेयी आउँदा पनि नेपालका विभिन्न सीमाहरुमा बाँध बाँढ्ने कामलाई निरन्तरता दिइयो । त्यसैगरी चन्द्रशेखरले नेपालको भूमिमा प्रजातन्त्र ल्याएर भारतमुखी बनाउने मार्ग प्रशस्त पारिदियो । यी केही उदाहरण मात्रै हुन् । पहिलादेखि नै नेपालमा भारतीय राजनीतिक तथा कुटनीतिक ब्यक्तिहरुको आगमन जहिले पनि नेपाल माथि थिचोमिचो गर्नका लागि नै आउने गरेका छन् । त्यसैले जब जब नेपालमा भारतीय नेताहरुको प्रवेश हुन्छ, तब तब केही न केही हामी नेपालीहरुले शिर झुक्नु पर्ने वा घाटा सहने अवस्था आइपरेको पाउँछौं ।
भारतीय सेना प्रमुख मणिमुकुन्द नरवाणे हाल चर्चामा छ । यो भन्दा अगाडि उ कालापानी मामलामा नेपालले अरुको इसारामा बोल्यो भन्ने ब्यक्तिको रुपमा चर्चामा आएको थियो । कालापानीमा नेपाललाई उकास्ने चीन, पाकिस्तान, वर्मा, श्रीलंका, भूटान वा बंगलादेश जो पनि हुन सक्दथ्यो । तर भारतीय उच्च पदस्त ब्यक्ति सेना प्रमुख नरवाणेले एक देश र अर्को देशको कुटनीतिक मर्यादाको समेत ख्याल नगरी त्यो बेला नेपालले अरु देशको इसारामा भारतको नयाँ नक्सा बारे टिप्पणी गरेको अभिब्यक्ति दिन पुगेका थिए । अहिले उहीं ब्यक्ति नेपालको भ्रमणमा आउने कुरा सुन्दा नेपाली नेताहरु जो आफूलाई मार्न र हान्न तरवार लिएर अगाडि आउँछ, उनलाई नै रातो कार्पेट बिछ्याएर स्वागत गर्न तम्सिरहेको भान पर्न गएको छ । बास्तवमा एक देशको बारे अरु देशमा बसेर बोल्ने ब्यक्तिलाई उक्त देशमा मात्रै होइन कि कुनै पनि देश भित्र हुल्याउन नहुने थियो । एउटा देशको सार्वभौमिकता माथि धावा बोल्ने ब्यक्ति पुनः पल्केर अर्को देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको विरुद्ध पनि बोल्न लालायित हुन्छन् ।
गत साताको नयाँ पत्रिकामा भारतीय सेना प्रमुख नरवाणे नेपालको भ्रमणमा आउने जानकारी सहितको समाचार छापेको थियो । यो नेपाली राष्ट्रियताको लागि पनि गम्भीर विषय हुन पुगेको छ । शत्रु र मित्र नचिन्ने हो भने राजनीति गर्नुको अर्थ छैन । राजनीति गर्नेले शत्रु र मित्र दूधको दूध पानीको पानी जस्तै स्पष्ट रुपमा चिन्न सक्नु पर्दछ । यस्तो अवस्थामा ज्ञान विचारको हिसाबले परिपक्व ब्यक्तिले नै त्यसको अगुवा गर्न सक्नु पर्ने हो ।
सीधै नेपालको शत्रु, नेपाली सार्वाभौमिकता माथि नै भ्रम सिर्जना गर्ने काम गर्ने ब्यक्तिलाई नेपालमा स्वागत गर्नुको अर्थ के ? नेपाली भूमि मिचेर भारतले बनाएको सडकको नेपालमा तीब्र बिरोध भएपछि त्यसलाई चीनको इसारामा भएको मनगधन्त दावी गर्ने भारतीय सेनाध्यक्ष हरेक राष्ट्रियताको हिसाबले नेपालको शत्रु नै हुनेछ । मणिमुकुन्द नरवाणे ब्यक्तिको हिसाबले आफ्नो देश प्रति इमान्दार ब्यक्ति पनि हुन सक्दछ । तर एक राष्ट्रका लागि भने उनले घाटक अभिब्यक्ति दिने गरेको छ । चीन हालसम्म कसैको पक्ष वा विपक्षमा कराउने गरेको कसैलाई थाहा छैन । यस्तो कुटनीतिक अवस्था सन्तुलन गर्न सफल चीन माथि यो एक गम्भीर आरोप नै मान्न सकिन्छ ।
हामीलाई चीनले उक्सायो र नेपाल करायो भन्नु सरासर झूठ नै हो । वास्तवमा लिम्पियाधुरा लिपुलेक जस्ता कालापानी क्षेत्रमा २०१८ सालमा जन गणना गर्ने ब्यक्ति बरिष्ठ पत्रकार भैरव रिसाल अहिलेसम्म जिउँदैछ । जानाजान उक्त भूमिमा जनगणना गर्ने गणक नै भएपछि त्यो भन्दा ठूलो प्रमाण अरु के पो चाहियो र ? हात, खुट्टा, आँखा, कान, नाक घाटी रहँदा पनि म मान्छे हुँ भन्नु पर्ने अवस्था किन आयो ? यो सबै हिसावले अकात्य प्रमाणको रुपमा लिन सकिन्छ । सुरुमा भारतको मनोहर पारिकट इन्ष्टिच्यूट अफ डिफेन्स स्टडिज एण्ड एनालाइसिसद्धारा आयोजित सेमिनारमा भारतीय सेनाध्यक्ष नरवाणेले चीनको इसारामा नेपालले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा बनेको सडक उद्घाटनको बिरोध गरेको
थियो । उनले अरुका लागि यी विषय उठाएका हुन् भनी सेनाध्यक्षले ठोकुवा गरे । यस्तो ब्यक्ति हाल नेपालको भ्रमणमा आउने समाचारले युवा वर्ग लगायत समाम नेपाली सार्वभौमिकता प्रति सचेत जनता तर्सिरहेको अवस्था छ ।
भारतीय सडक करिडोर बारे विवाद छैन भनी नेपाली भूभागमा बनेको उक्त भारतीय करिडोरको समर्थन गर्ने ब्यक्ति सेनापति, राष्ट्रपति वा प्रधानमन्त्री नै भएपनि अर्को देशको लागि सह्य नहुन
सक्छ । काली नदी भन्दा पश्चिममा सडक बनाएको विषयलाई भारतीय पक्षले नेपाली भूमिमा बनाएको छैन भनिए पनि प्रमाणको आधारमा उक्त भूमि नेपाली भूमि भएको धैरै आधार देखाउन सकिन्छ । नेपालमा किन त्यसको बिरोध भएको हो भन्ने नजान्ने भारतीय सेनापतिले त्यस प्रकारको टिप्पणी गर्दा नेपाली सार्वभौमसत्तामा आँच पुग्नु स्वाभाविक थियो । मूल नदीभन्दा भित्र पारेर नक्कली काली नदी बनाएको कुरा सेनाध्यक्षले थाहा पाउनु पर्दछ । पछि भारत र बेलायतको उपनिवेश युद्ध भएको बेला चिनियाँ कम्युनिष्ट पार्टीको जन्म नै भएको थिएन । त्यसलाई लिएर भएको १८४० को युद्धमा बेलायती पक्ष हारेको पनि
थियो । पछि १८४२ मा बेलायती साम्राज्यको हात माथि पर्न
गयो । त्यसकारण पनि आजका चिनियाँहरुलाई महाकाली नदी र कालापानी बारे नेपालीहरुलाई जतिकै थाहा नपाउनु स्वाभाविक पनि हो । नेपाल र भारतीय जनता बीचको सम्वन्ध इतिहास भन्दा पुरानो छ । महाभारत काल र रामायण कालमै यो सम्वन्ध सुरु भइसकेको थियो । यस्तो गहन कुरालाई ध्यान नदिएर दुई सय वर्ष अगाडिदेखिको अंग्रेजी साम्राज्यले ओगटेको भारतले नेपाली सार्वभौमिकतालाई चुनौती दिनु सही कुरा होइन । भारत नेपाल भन्दा निकै नयाँ आधुनिक राष्ट्र हो । त्यसको तुलनामा नेपाल अति पुरानो र बलियो राष्ट्र हो । भारत छोड्दा बेलायती उपनिवेशले आफना दलालहरु मार्फत् हिन्दूस्तान र पाकिस्तान अलग्याए । यसरी हरेक दृष्टिकोणले भारतले इतिहास खोज्ने काम नगरी हचुवाको भरमा लिपुलेक आफ्नो दावी गरिएको पाइन्छ । यस्तो कुरालाई प्रमाणहरु अगाडि नराखी हचुवाको भरमा टिक्का टिप्पणी गर्नु पनि भोलिको लागि हाल सुजबुझ नभएको कुरा जस्तै न्यास्रो पर्न सक्दछ । यस्तो सार्वभोमिकता र राष्टिय अखण्डताको सवालमा नेपाली जनता पनि सजग र सचेत भएर बस्नु जरुरी देखिन्छ । राष्टिय मामला उच्च स्तरको मामला हुनु पर्दछ । यस अवसरमा आउँदो भ्रमणलाई गम्भीर रुपमा हेर्नेपर्ने देखिन्छ ।