दमौली/आदिकवि भानुभक्तको २०९ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगिता हुने भएको छ ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा असार २८ गते उनको जन्मस्थल चुँदी रम्घामा कविता प्रतियोगिता हुने भएको हो । जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटका अनुसार कविता अप्रकाशित हुनु पर्नेछ भने दुइसय शब्दमा नबढाई लेखिएको हुनु पर्नेछ ।
कविताको विषय शिर्षक खुल्ला राखिएको भएपनि कसैको व्यक्तिगत चरित्र, राष्ट्र, धर्म, जातजाति र राजनैतिक आक्षेप लगाउने किसिमको हुन हुनेछैन । हुलाक वा इमेलको माध्यमबाट कविले आफ्नो नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर तथा ईमेल ठेगाना खुलाई असार २० गते भित्र पठाउनु पर्ने समितिले जनाएको छ ।
असार २७, २८ र २९ गरी तीन दिन मनाउन लागिएको भानु जयन्तीको कार्यक्रम अन्तर्गत दोस्रो दिन हुने प्रतियोगितामा प्रथम हुने कविले नगद २० हजार पुरस्कार तथा प्रमाण पत्र प्राप्त गर्नेछन् । यसैगरी द्वितीय हुने प्रतियोगि कविले नगद रु १५ हजार नगद तथा प्रमाण पत्र , तृतीय हुनेले १० हजार नगद तथा प्रमाणपत्र र सान्तवना स्थान प्राप्त गर्ने दुइजनाले जनही पाँच पाँच हजार नगद तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
भानुजयन्तीको तीन दिने कार्यक्रम अन्तर्गत असार २७ मा स्थानीय मठ मन्दिरमा पुजा अर्चना र साँझ दिपावली गर्ने कार्यक्रम रहेको छ । यसैगरी दोस्रो दिन २८ गते भानुभक्तीय रचना पाठ प्रतियोगिता, विद्यालय स्तरिय कविता प्रतियोगिता तथा खुल्ला कविता प्रतियोगिता रहेको छ । भानुभक्तीय रचना पाठ तथा विद्यालय स्तरिय कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगिले क्रमषः ५ हजार, ३ हजार, २ हजार नगद तथा प्रमाण पत्र र सान्त्वना स्थान प्राप्त गर्ने २ जनाले जनही एकहजार नगद तथा प्रमाणपत्र प्राप्त गर्ने समितिले जनाएको छ ।
अन्तिम दिन २९ गते प्रभात फेरी, भानुभक्तको प्रतिमामा पुजा अर्चना, पञ्चकन्याबाट रामायण वाचन, जयघोष, कवि गाष्ठी, साहित्यिक कार्यक्रम साथै सांकृतिक कार्यक्रम र झाँकी प्रदर्शन रहेका छन् ।
भानु जयन्तीमा कविता प्रतियोगिता हुने
previous post