दमौली/नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले एकता र मेलमिलापको कुरा गर्ने बीपीका अनुयायी कांग्रेस सदस्यहरु झगडा गर्दा उनको आदर्शको अनुशरण हुन नसकेको बताएका छन् ।
केन्द्रीय सदस्य भण्डारीले ३७ औ बीपी स्मृती दिवसको अवसरमा दमौलीमा आयोजित कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै उक्तकुरा बताएका हुन् । प्रजातान्त्रीक विचार समाज जिल्ला शाखा तनहुँले सोमबार आयोजना गरेको प्रवचन एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै भण्डारीले नेतृत्वमा रहनेहरुले आफ्ना कमजोरी सच्याउँदै जानुपर्ने समेत उल्लेख गरे । सबै कार्यकर्तालाई समान अवसरको सृजना गर्न आवश्यक रहेको बताउँदै भण्डारीले व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर पार्टी,राष्ट्र र नागरिकको हितमा काम गर्नु आवश्यक भएको बताए ।
समाजका केन्द्रीय उपाध्यक्ष कुलचन्द्र वाग्लेले बीपीको राजनैतिक र साहित्यिक व्यक्तित्वका बारेमा चर्चा गर्दै उनी वास्तवमै जननायक र महामानव भएको बताए । तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले राजनैतिक सुझबुझमा बीपीलाई आफ्नो प्रतिस्पर्धी ठान्ने गरेको उल्लेख गर्दै वाग्लेले बीपीको व्यक्तित्वको उचाइकै कारण इन्दिरा गान्धीले इष्र्यावश उनका कामहरुमा बाधा उत्पन्न गर्ने गरेको उदाहरण भेटिने बताए ।
कांग्रेस तनहुँका कावा सभापति जितप्रकाश आलेले बीपीले राणाहरुको जहानिया शासनबाट नेपाली जनतालाई मुक्त गरेको बताए । कांग्रेस पूर्व सभापति धु्रव वाग्लेले बीपीले क्षितिजमा कतै उज्यालोको किरण समेत नदेखिने राजनैतिक अवस्थाबाट देश र जनतालाई नवजागरणको युगमा प्रवेश गराएको उल्लेख गरे । हरेक कार्यकर्तालाई आफ्ना छोराछोरीलाई झै मायाँ गर्न बीपीका अनुयायी हामी भने कार्यकर्ताको बारेमा सोधपुछ समेत गर्दैनौं भन्दै नेतृत्वले आफुलाई सच्याउनु आवश्यक रहेको बताए ।
प्रजातान्त्रीक विचार समाज तनहुका सभापति ब्रम्हदत्त तिमल्सिनाको सभापतित्वमा आयोजित कार्यक्रममा प्राध्यापक आत्माराम वास्तोलाले कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रेमप्रकाश भट्टराई, नेवि संघ तनहुँका अध्यक्ष चुडामणी खनाल लगाएतले बोलेका थिए । कार्यक्रमा उपस्थितलाई समाजका निवर्तमान सभापति कमलामोहन वाग्लेले धन्यवाद ज्ञापन गरेका थिए । यसैबीच स्मृती दिवसको अवसरमा भानु १३ सम्जुरमा अम्रिसो रोपणकार्य सम्पन्न भएको छ । ३७ औं स्मृती दिवसमा ३७ वटा अम्रिसोका विरुवा जर्गा जामे मस्जिदको स्वामित्वमा भएको जग्गामा रोपिएको हो ।