हिजो नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्ना संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मरण गरे । कोरोना संक्रमणका कारण धेरैको समूहमा जम्मा हुने र भव्य कार्यक्रम गर्ने अवस्था थिएन । यद्यपी चौधौं महाधिवेशनको बीचमा धेरैले बीपीलाई सम्झे र आफुलाई बीपीको अब्बल अनुयायीका रुपमा व्याख्या गर्न भ्याए । तर अरुबेलाको हकमा सम्भवतः अधिकांश कांग्रेसका नेता तथा कार्यकर्ताका लागि बीपी सम्झिरहनु पर्ने पात्र पनि होइनन् । बीपीको आदर्शलाई पछ्याउन उनको आदर्श अनुकुलको आचरण गर्नुपर्छ र उक्त आदर्श अनुकुलको आचरण गर्नु भनेको सत्य, न्याय र निष्ठाका लागि लड्नु हो । तर अहिलको अधिकांश कांग्रेस नेता, कार्यकर्ताको ध्यान बीपीको नाम जपेर शक्तिमा पुग्ने र कमाउने तर्फ छ, जुन उनको आदर्श हुँदै होइन ।
बीपीले नेपालको २२ औं तथा प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रुपमा छोटो समय( २०१६ जेठ १३–२०१७ पुष १) मा जुन काम गरे त्यसको व्याज अहिलेसम्म खाइरहेको छ, कांग्रेस । तर कांग्रेसमा बीपीका प्रतिको आकर्षण उहाँले भने झै साँच्चै विपन्न नेपालीको समग्र उत्थानमा लाग्नका लागि अब रहेन । रह्यो त बीपीको नाममा सत्ता र शक्तिमा पुग्ने कुरामा । पछिल्ला घटनाक्रमलाई हरौं न । पार्टीका सभापतिको नेतृत्वमा सरकार छ । सरकारको नेतृत्व लिँदै गर्दा हामी केपीले झैं गफ गर्ने होइन काम गरेर देखाउँछौ भन्थे नेताहरु । तर सरकार बनेको दुइ महिना वित्न लाग्दासम्म सरकारले पूर्णता पाउन सकेको छैन । जनतामा आश जगाउने खालका काम हुन सकेका छैनन् । कोभिडको दोस्रो लहरका कारण आम नागरिक आर्थिक संकटमा छन् । विभिन्न सभा समारोहमा भाषण गर्न समय निकालेका देउवाले कोभिड पिडितको नाममा केही गर्ने त कुरै छाडौं बोल्न सकेत भ्याएका छैनन् ।
भारतीय सुरक्षा कर्मीले तुईन काटीदिँदा दार्चुला जिल्ला व्यास गाउँ पालिका–२ खाङदाङमालका जयसिंह धामी तुईनको तारसंगै महाकाली नदीमा बगी बेपत्ता भएका छन् । परराष्ट्रमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा घटनाको महिना वित्दा समेत केही बोल्दैनन् । कूटनैतिक नोट पठाएको भनिएको छ तर न त यस विषयमा प्रधानमन्त्रीले जानकारी गराएका छन् न त परराष्ट्र मन्त्रालयले यस बारे केही बताएको छ । अझ आश्चर्य त के छ भने गृह मन्त्रालय एमसिसी प्रकरण तथा धामी प्रकरणमा नारबाजी र प्रदर्शन नगर्न आदेश जारी गर्छ । ओलीले माइतीघरका प्रद्रर्शन गर्न रोक्दा आवज बन्द गरेको भनेर ठूला स्वरमा कराउने कांग्रेस नेताहरु नै थिए र अहिले नागरिकलाई नबोल्न उर्दी गर्ने पनि उनै । कस्तो विरोधाभाष हो यो ?
कांग्रेसले आदर्श मानेका जननायक बीपी कोइरालाले एक नेपाली नागरिको ज्यान जाँदा चीनिया सरकारलाई माफी माग्न बाध्य बनाएको र क्षतिपूर्ति दिलाएको उदाहरण छ । आम कांग्रेसजन यतिबेला आक्रोषमा छन्, कि किन आखिर हाम्रा सभापति भारतीय ज्यादती विरुद्ध बोल्ने आँट गर्दैनन् । उनले आफुलाई बीपीको अनुयायी हुँ भन्ने भुलेका हुन् या उनका लागि बीपीको आदर्शको अब अर्थ नरहेको
हो ?
अघिल्लो महाधिवेशनको तुलनामा यस पटक क्रियाशील सदस्यको संख्या झण्डै दोब्बर भएको छ, त्यसैले कांग्रेस प्रति जनताको आकर्षण बढ्दै गएको भनेर नेताहरु रमाएका भएपनि वास्तविकता अलि भिन्न छ । नेताहरुको शासकिय असक्षता, गुटमा रमाउने बानी, तल्लो तहका कार्यकर्ता र मतदाताकोभन्दा आसेपासेको कुरा सुन्ने र विश्वास गर्ने बानी तथा कांग्रेस विरुद्ध प्रतिस्पर्धी दलहरुले गर्ने भ्रमात्मक प्रचारका कारण कांग्रेस खिइँदै गएको छ । जनहितका काम गर्न नखोज्ने तर खिइएकै कांग्रेसको भएपनि नेता बनिरहेने धुनले नेताहरुलाई जनताबाट अलग बनाएको छ ।
जनताबाट अलग हुँदै गएको पार्टीको भविष्य के हुने भन्ने चिन्ता आम शुभ चिन्तक र रुख चिन्हमा मतदान गर्नेहरुमा कायम छ ।
पहिले इमान्दार व्यक्तिलाई पार्टीमा ल्याउन होडबाजी चल्थ्यो तर अहिले इमान्दार कार्यकर्ताबाट पार्टी चल्दैन भन्ने सोचमा नेता पुगेका छन् र इमान्दारहरु पार्टीबाट पाखा लाग्दैछन् । के बीपीको आदर्श यही थियो ? बीपी जे नहोस् भन्थे कांग्रेसमा त्यही भइरहेको छ । समय घर्की सकेको छैन । नागरिकसंग बढेको दूरी घटाउँदै गुम्दै गएको साख जोगाउन अझै समय बाँकी छ ।
जननायक बीपी कोइरालको १०८औं जन्म जयन्तीको अवसरका सबै कांग्रेसमा उहाँको आदर्श अनुशरण गर्ने शक्ति प्राप्त होस् ।
चौधौं महाधिवेशनले बीपीको विचारलाई थोरै भएपनि अनुशरण गर्ने प्रेरणा कांग्रेस नेता कार्यकर्तालाई प्रदान गरोस् । एक शुभचिन्तकको रुपमा यही कामना र उहाँका प्रति शब्द श्रद्धा !
बीपी विर्संदै अनि खिईँदै कांग्रेस
previous post