नेपाली राजनीतिका दुइ शिखर पुरुषलाई नेपाली जनले हिजो र आज अर्थात साउन ६ र ७ मा श्रद्धा र निस्वार्थ पूर्वक सम्झना ग¥यो र श्रद्धाञ्जली व्यक्त ग¥यो । तर सर्वसाधारणले जसरी निस्वार्थ भएर ति दुई शिखर पुरुष बीपी कोइराला र पुष्पालाललाई सम्झ्यो । के अहिले देशलाई नेतृत्व गर्दै गरेका भनिएका र आफुलाई ति नेताका अनुयायी भन्न रुचाउने नेताहरुले त्यसरी नै सम्झे होलान ? दुःख पूर्वक भन्नु पर्छ, अवश्य सम्झेनन् । उनीहरुका लागि त बीपी र पुष्पलाल सत्ता प्राप्तीका लागि भरपर्दाे खुड्किलो मात्र हुन् जुन आफुलाई सत्तामा पुग्न आवश्यक हुँदा प्रयोग गर्छन नभए त्यसै राखिरहन्छन् घरको कुनै कुनामा भएको भ¥याङ जस्तै उनीहरुको तस्वीर र विचार ।
नेपाली कांग्रेसका संस्थापक नेता तथा जननायक बीपी आजभन्दा सात दशक अगाडि भन्थे “नेपालको सन्दर्भमा समाजबाद भनेको प्रत्येक नेपालीको एउटा सानो घर होस्, गरिखान पुग्ने खेतबारी होस्, प्रत्येकका घरमा एउटा दुहुनो गाई होस् । छोराछोरीले स्कुल पढ्न पाउन, बिरामी पर्दा उचित स्वास्थ्य उपचार गर्न पाउन । ” बीपीको यो विचारमा हेरौ त, उनी चाहन्थे कुनैपनि नेपालीे खाना, नाना, छाना र स्वास्थ्य तथा शिक्षा प्राप्त गर्नबाट विमुख नहोस् । सबै परिवार आत्मनिर्भर बनुन् । नेपालका सबै परिवार आत्मनिर्भर बन्नुको अर्थ हो देश आत्मनिर्भर बन्नु । सुन्दा समान्य लागेपनि बीपीको त्यो समाजवादको व्याख्यामा नेपालको आत्मनिर्भरताको प्रसंग जोडिएको छ । समुन्नतीको प्रसंग जोडिएको छ अनि अहिलेका नेताहरुले भन्ने गरेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा समेटिएको छ ।
अहिले हाम्रो अवस्था हेरौं,केही वर्ष अगाडिसम्म खाद्यान्न अभाव भएको देशलाई सहयोग गर्ने हामी अहिले त्यसैको सबैभन्दा ठूलो आयातकर्ता बनेका छौं । मासिक ४ अर्बको त खाद्यानमात्र आयात गर्छाैं । कैयौं विघा खेती योग्य जमिन बाँझै छ । किसानले उब्जाए पनि उचित मूल्य पाउँदैन । अनि उसलाई उब्जाउ गर्नै जाँगर कहाँबाट प्राप्त होस् । उसका लागि भनेर आएको सरकारी अनुदान नक्कली किसानले खाइदिन्छ । धनी र गरिब बीचको खाडल झन गहिरो बन्दै गएको छ । गरिखान पुग्ने खेतबारीको त कुरै छाडौं सानो घर ठड्याउने घडेरी नभएका मानिस दैनिक थपिएका छन् । सबै नागरिकका छोरा छोरीले उचित शिक्षा पाउने कुरा अब असम्भव बन्दै गएको छ । किनभने सामुदायिक विद्यालयबाट प्रदान गरिने शिक्षामा आममानिसको विश्वास छैन र नीजि क्षेत्रले प्रदान गर्ने शिक्षा यति महंगो भएको छ कि सामान्य नागरिकले छोराछोरी ती विद्यालयमा पढाउने कल्पनै गर्न सक्दैन । स्वास्थ्य उपचारको कुरा त्यस्तै छ । सरकारी अस्पतालको सेवा सुस्त हुँदा विरामी उपचारका लागि नीजिमा धाउनु पर्ने अवस्था छ र नीजिमा उपचार गर्न जानु भनेको घर खेतको लालपुर्जा अस्पतालमा बुझाउन तयार भएर जानुपर्ने जस्तै भएको छ । यसरी शिक्षा र स्वास्थ्य क्षेत्र नाफा खोरहरुको हातमा पुग्दा मानबता र संवेदना हराएको छ अनि ती दुवै क्षेत्र आमसर्वसाधारणको पहुँच बाहिरको कुरा बन्दै गएको छ ।
एकछिन् बीपीका अनुयायी भन्ने बर्तमानका अधिकांश जसो कांग्रेस नेता कार्यकर्तालाई हेरौं । के उनीहरुको उद्देश्य÷व्यवहार बीपीले भनेको समाजवाद तर्फ नेपाली समाजलाई लैजाने खालको छ ? उत्तर स्पष्ट छ, अहिलेका धेरै जसो कांग्रेस नेता कार्यकताको काम गराई सबै नेपालीको गोठमा दुहुनो गाई, खेती गरेर खान पुग्ने जमिन, सानो घर, आङभरी लुगा, बालबालिकालाई उचित शिक्षा र स्वास्थ्य सुविधा पु¥याउने कुरा तर्फ निर्देशित छैन । छ त आफैले कसरी धेरैभन्दा धेरै कमाउने । आफ्ना आफन्तलाई कसरी राम्रो ठाउँमा नियुक्ति दिलाउने, कसरी छोराछोरीलाई विदेशका राम्रा विद्यालय र विश्वविद्यालयमा पढ्ने वातावरण मिलाउने भन्नेमा । कांग्रेसका अहिलेका नेताहरुलाई किसानको भोटोबाट बीपीलाई जस्तो पसिनाको सुवास आउँदैन बरु दुर्गन्ध आउँछ । दिनरात रगत र पसिना बगाएर आफुलाई पाल्ने एउटा किसान र तल्लो वर्गका मानिसको आर्थिक उन्नतिसंग अहिलेका कांग्रेसलाई कुनै सरोकार छैन । त्यसैले मैले माथि भनेको बीपी र उनको आदर्श त कांग्रेस नेताहरुका लागि सत्ता र शक्तिमा पुग्ने खुड्किलो(भ¥याङ) मात्र हो ।
अब पुष्पलालका अनुयायीहरुका पनि कुरा गरौं । माथि बीपीका अनुयायीहरुका विषयमा जुन कुरा उल्लेख भयो, त्यो हुबहु कम्युनिस्टहरुमा पनि लागू भएको हामीले देखिबुझि आएका छौं । सर्वहारा वर्गको नेतृत्व गर्छाै भन्ने नाराका साथ सत्तामा गएका नेपाली कम्युनिष्टले कति सर्वहाराको पक्षका काम गरेका छन् भन्ने कुराको वर्णन शायद गरिरहनु आवश्यक छैन, खाली पछिल्लो पटक ओम्नी र यती समूहको हित रक्षार्थ भएका कामको स्मरण गराए पुग्छ ।
कुरा २०१७ सालमा राजा महेन्द्रले “कु” गरेपछिको हो । पुष्पलाल त्यतिबेला प्रवासमा थिए । प्रवासमा रहेका पुष्पलाललाई राजा महेन्द्रले भेट्न बोलाए । तर उनले राजालाई भेट्न अस्विकार
गरे । बरु राजाको खबरी बनेर आएको मानिससंग उनले जवाफ पठाए, ‘मैले राजालाई भेट्नु पर्ने कुनै कारण छैन । हदै भए उनले मलाई प्रधानमन्त्री खा भन्लान् । मलाई राजाले दिएको प्रधानमन्त्री चाहिँदैन । राजाले दिनसक्ने सबै भन्दा ठूलो पद प्रधानमन्त्री हो तर सिद्धान्त बेचेर मलाई प्रधानमन्त्री बन्नु छैन ।’
अहिले हामीले नेपालका कम्युनिस्टले सत्ता प्राप्तीका लागि जसरी सिद्धान्तको तिलाञ्जली दिएको देखेका छौं त्यो देख्दा यिनीहरुलाई पुष्पलालका अनुयायी भन्ने कि नभन्ने भन्ने द्विविधा मेटिन्छ शायद । र आम नेपाली स्पष्ट हुन्छन्, यिनीहरुका लागि पुष्पलालको फोटो र आदर्श त मागि खाने भाँडो पो रहेछ । वास्तवमा यिनीहरु पुष्पलालका अनुयायी होइन रहेछन् ।
आमनेपालीले बीपी र पुष्पलाललाई त्यसै आदर गरेका होइनन् । सिद्धान्त अनुसारको जीवन शैली, सिद्धान्तप्रतिको अडान तथा तात्कालिक र व्यक्तिगत लाभ भन्दा देश र जनताको हितका निम्ती निर्णय लिने भएका कारण सधै स्मरणमा रहने भएका हुन् । हिजो र आज तिनै आदर्श पुरुषलाई स्मरण गर्ने दिनमा दुःखका साथ भन्नु परेको छ– बीपी र पुष्पलालकाप्रतिको श्रद्धा केवल सत्ता र शक्तिमा जानका लागि देखाउने दाँत मात्र हुनु दुर्भाग्य हो ।