“सूनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार” भन्ने नाराका साथ यस वर्षको बाल अधिकार दिवस मनाईँदै छ, भाद्र २९ मा । हरेक वर्ष भाद्र ४ मा तत्कालिन मुमा बडामहारानी रत्नराज्य लक्ष्मी शाहको जन्मदिन पारेर बालदिवस मनाउने गरिएको थियो । प्रजातन्त्र स्थापना पछिका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले बाल अधिकार सम्बन्धि महासन्धीमा सन् १९९० सेप्टेम्बर १४ अर्थात २०४७ भदौ २९ मा हस्ताक्षर गरेसंगै यो दिवस भाद्र २९ मा मनाउन थालिएको हो ।
महासन्धीमा हस्ताक्षर गरेको राष्ट्रका नाताले त्यसमा उल्लेखित बालअधिकारका चार पक्षको पूर्ण कार्यान्वयन नेपालका लागि बाध्यकारी छ । बाल बचाउ अन्तर्गत सुरक्षित जन्म, स्वास्थ्य उपचार, खोप, उचित स्याहार, पोषण युक्त खाना, बाबु आमासंग बस्न पाउने र आराम जस्ता कुरा पर्दछन् भने बाल संरक्षण अन्तरगत गर्भदेखि नै हुने विभेदबाट संरक्षण, यौन शोषण र श्रम शोषणबाट संरक्षण पाउने जस्ता कुरा पर्दछन् । विकासको अधिकारमा औपचारिक तथा अनौपचारिक शिक्षा हासिल गर्न पाउने, खेल तथा मनोरञ्जन तथा शारिरीक, संवेगात्मक तथा मानसिक विकासका सम्पूर्ण अवसरहरु बालबालिकाले पाउनु पर्छ भन्ने कुरा पर्दछन् । सहभागिताको अधिकारमा रचनात्मक कार्य, सामाजिक र सांस्कृतिक गतिविधिमा संलग्न हुन पाउने कुरा समावेश भएका छन् ।
महासन्धीको पक्ष राष्ट्रका रुपमा आफ्ना बालबालिकालाई माथि भनिएका अधिकारहरु प्रदान गर्न हाम्रो राज्य संवेदनशिल छ त ? भनेर सोधिखोजी गर्ने बेला भएको छ । निर्मला पन्तहरुले वर्ष वित्दा पनि न्याय पाउन सकेका छैनन् । लाखौ बालबालिका शिक्षा प्राप्त गर्ने अधिकारबाट वञ्चित छन् । सार्वजनिक शिक्षाको सवलिकरण गर्दै सबै बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्नु राज्यको प्रमुख दायित्व हो । अरु अधिकारका कुरा पनि त्यत्तिकै महत्वपूर्ण छन् । साँच्चै समृद्ध नेपाल बनाउने हो भने अहिलेका बालबलिकाले आफ्ना अधिकार निर्वाध उपभोग गर्न पाउनु पर्छ । त्यसैले हामी सबैको ध्यान यता तर्फ जानु जरुरी छ ।