दमौली÷१४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीको पथान्तर गरिएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीमा निर्माण गर्न लागिएको जलविद्युत आयोजनाको मुख्य बाँध निर्माण गर्न झण्डै सातसय मिटर लामो सुरुङ मार्फत नदीको पथान्तर गरिएको हो । सुरुङमार्फत पथान्तर गरिएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ ।
जिल्ला समन्वय समिति,तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि.सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ,तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एशियाली विकास बैंकका वरिष्ठ निर्देशक (उर्जा) प्रियन्था विजयतुङ्गाले सोमबार बेलुन उडाएर नदी पथान्तर कार्यको शुभारम्भ गरेका थिए ।
शुभारम्भ पछि बोल्दै नेविप्राका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भएतापनि अहिले नमुना आयोजनाको रुपमा अगाडि बढाउने गरी काम भइरहेको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले आयोजनाले महत्वपूर्ण चरण पार गरेको बताउँदै जतिसक्दो छिट्टो निर्माण सम्पन्न हुनु पर्नेमा जोड दिए । व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले निहीत स्वार्थका व्यक्तिहरुबाट सतर्क भएर आयोजनालाई तोकिएकै समयमा सम्पन्न गरिनु पर्ने बताए ।
एडिबीका वरिष्ठ निर्देशक (ऊर्जा) विजयतुङ्गाले विगत वर्षदेखि नेपालको ऊर्जा क्षेत्रमा गर्व गर्न लायक कामहरु भएको बताउँदै दूधकोशी जलविद्युतजस्ता ठूलो आयोजनाहरुमा एडिबीले लगानी गर्न लागिरहेको उल्लेख गरे ।
तनहुँ हाइड्रोपावर लि.का प्रवन्ध– निर्देशक किरण कुमार श्रेष्ठले कुलेखानीपछि बन्न लागेको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रीत गरिएको बताए ।
४६ प्रतिशत निर्माण प्रगति रहेको आयोजनाको निर्माण २०८३ असार भित्र सक्ने लक्ष्य राखिएको छ ।
बाँध निर्माण गर्न सेती नदीको पथान्तर
previous post