मृत्यु हुनेहरुको संख्या दशहजार पुग्न लाग्यो
दमौली/दैनिक संक्रमण दैनिक झण्डै दुइहजार आसपास झरेको कोरोना संक्रमण फेरी उकालोलाग्दै दैनिक चारहजार पुगेको छ ।
बुधबार एकैदिन ४ हजार १०७ जना नयाँ सक्रमित थपिएसंगै नियन्त्रणमा आउन लागेको ठनिएको संक्रमणको दास्रो लहर अझै नियन्त्रणमा आउन समय लाग्ने देखिएको छ । बुधबार ४ हजार ९४४ जनामा गरिएको एन्टिजेन तथा ११ हजार ३५४ जनामा गरिएको पिसिआर परिक्षणमा ४ हजार १०७ जनामा संक्रमण देखिएको हो । बुधबार संक्रमण मुक्त हुनेको संख्या १ हजार ५३५ रहेको छ भने मृतकको संख्या ३५ रहेको छ । यो संगै कोरोना संक्रमणका कारण हालसम्म मृत्युवरण गर्ने हरुको संख्या झण्डै १० हजार अर्थात ९ हजार ९५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३६ लाख ४४ हजार ४७२ जनाको पिसिआर परिक्षण रिएकोमा ७ लाख ५ हजार ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ लाख ३६ हजार ८२३ एन्टीजेन परिक्षण मध्ये ६४ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमणको समग्र अवस्थालाई हेर्दा महिलाको तुलनामा पुरुषको संख्या निकै बढी छ । कुल संक्रमित मध्ये ३९.९२ प्रतिशत महिला रहेका छन् भने ६०.०८ प्रतिशत पुरुष रहेका छन् । कुल संक्रमित मध्ये हालसम्म ९३.८४ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ४.७५ प्रतिशत सक्रिय संक्रमित छन् । संक्रमित मध्ये १.५ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
संक्रमणको दर बढ्नाले चिन्ता बढाएको भएपनि कोरोना विरुद्धको खोप पाउने संख्या पनि बढ्दै जानु भने सुखद रहेको छ । बुधबारसम्म देशभरका २० लाख ७४ हजार ७८६ जनाले पूर्ण खोप पाइसकेका छन् भने पहिलो मात्र खोप पाउनेको संख्या ४२ लाख ९७ हजार ६१२ पुगेको छ । सरकारले पनि आफ्नै स्रोत तथा दातृ निकायको सहयोगमा आगामी माघसम्ममा सबै नागरिकलाई पूर्ण मात्रामा खोप दिने बताएको छ ।
खोप पाउनेहरुको संख्या बढ्दै जाँदा आम नागरिक तहबाट स्वास्थ्य सावधानीका उपायहरु कडाइका साथ अपनाउने तथा अन्य आवश्यक स्वास्थ्य सावधानी अपनाउने हो भने कोरोनालाई परास्त गर्न गाह्रो हुने छैन ।