स्वतन्त्रताको स्वादको कुरा गर्दा २०६१ माघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेर राज्य सत्ता हातमा लिएपछिका दिनहरुको याद शायद धेरैलाई याद आउँछ , स्वतन्त्रताको मुल्य कति रहेछ । हुन त २०१७ सालमा उनै ज्ञानेन्द्रका पिता तत्कालिन राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछिका अँध्यारा क्षणहरुको सामना गरेका हाम्रा अग्रजहरुलाई अझ बढी स्वतन्त्रताको मूल्य अनुभूत भयो होला । अझ जहानिया राणा शासनबाट देशलाई मुक्त गर्ने आन्दोलनमा लागेका र सहिद भएकाहरुलाई बढी नै स्वतन्त्रताको मूल्य अनुभूत भएको हुनुपर्छ । नभए आफ्नो ज्यान गुमाउन को पो तयार हुन्थ्यो र ?
१७ साल घटनाको डेढ दशक पछि जन्मेको मसंग ती कालरात्रीहरु भोगाई र अनुभूति त छैन तर १५ वर्षे ठिटो हुँदा सयौं सहिदको बलिदान र हजारौं अग्रजहरुको सहासिक कदमका कारण प्राप्त स्वतन्त्रताको स्वाद भने चाख्ने मौका पाएँ, २०४७ प्रारम्भ हुँदा नहुँदै । जनआन्दोलन को सफलतासंगै मैले जस्तै आम नेपालीले ३० वर्ष अगाडि खोसिएको स्वतन्त्रताको स्वाद लिन पाएका थिए । बीचको केही समयलाई छोड्ने हो भने त्यस पछिको यो तीन दशमा हामीले स्वतन्त्रताको भरपुर स्वाद लियौं । सूचना प्राप्तीको कुरा गर्दा रेडियो नेपाल मात्र भएको र उसैले दिएको सूचनामा विश्वास गर्नुपर्ने बाध्यताबाट २०५४ जेठ ९ देखि मुक्त भयौं । दक्षिण एशियामा नै पहिलो सामुदायिक रेडियो “रेडियो सगरमाथा”को औपचारिक प्रशारण यहि दिनबाट भएको थियो । जसले सूचनामा हाम्रो पहुँचलाई बढायो र नागरिकका गतिविधी पनि समाचार बन्न थाले । भुईमान्छेहरुका कुरा पनि सञ्चार माध्यममा आउन
थाले । यसले नागरिकको आत्मविश्वास बढायो । ५० को दशकको मध्य तिर मोवाईल सेवाको प्रारम्भ भयो । मोवाईल सेवाको प्रारम्भ र विकाससंगै सूचना र प्रविधिको क्षेत्रमा हामीले मारेको फड्को र यसले नागरिकको चेतना स्तरमा आएको परिवर्तत अतुलनिय छ ।
अहिले हामी आफुलाई मनमा लागेको कुरा भन्न सक्ने भएका छौं । आफुलाई चित्त नबुझको कुरामा नाईँ भन्न सक्ने भएका छौं । ओली सरकारले ल्याएको गुठी विधेयकका विरुद्ध उत्रेको जनसागर मात्र होइन निर्मला पन्त र भागरथी भट्ट तथा अन्य थुप्रै नेपाली चेलीको बलात्कारी हत्याराको खोजीमा दवाव दिने सन्दर्भम, यती र ओम्नी काण्डका नाइकेहरुलाई कारवाहीको दायरामा ल्याउन दवाव दिने अनि एमसीसीको विरोधमा दैनिक जसो हुने प्रदर्शनमा देखिने मानिसको संख्याले बताउँछ, हामी आफुलाई चित्त नबुझको कुरामा नाई भन्न सक्ने र आफ्नो मतलाई उँचो स्वरमा अभिव्यक्त गर्न सक्ने भएका छौं । आफ्नो कुरालाई निर्धक्क अभिव्यक्त गर्न सक्नु र आफुलाई चित्त नबुझेको कुरामा नाईँ भन्न सक्नु सानो उपलब्धी होईन जसको जग हालेको २००७ सालको फागुन ७ गतेले नै हो । त्यसैले फागुन ७ हाम्रा लागि विशेष महत्वको दिन रह्यो । त्यही दिन बाट त हो हामी रैतीबाट नागरिक भएको । रैतीबाट नागरिक भएको दिन अनि स्वतन्त्रताको स्वाद चाख्न थालेको दिनलाई हामीले प्रजातन्त्र प्राप्ती भएको दिन भन्यौं । र उत्सव मनाउन थाल्यौं । भलै पछिल्ला दिनहरुमा सत्तामा रहनेहरुले यसको महत्वलाई आत्मसाथ गर्न नसकेको वा नचाहेको देखिएको छ ।
हामीले स्वतन्त्रताको स्वाद पहिलो पटक लिएको पर्सी ७१ वर्ष पुरा हुँदैछ । यो अवसरमा म सम्पूर्ण नेपाली आमा–बुबा, दिदी बहिनी, दाजुभाईहरुमा शुभकामना व्यक्त गर्न चाहन्छु । यो अवसरमा हामीलाई स्वतन्त्रताको स्वाद चखाउन अनि रैतीबाट नागरिक बनाउन आफ्नो ज्यानको बली दिने धर्मभक्त, गंगालाल, शुक्रराज तथा दशरथ लगाएत सबै सहिदहरु प्रति शब्द श्रद्धा व्यक्त गर्न चाहन्छु । उहाँहरुको बलिदानले नै हामी अहिलेको अवस्थामा आएको हौं । उहाँहरुलाई भुल्नु भनेको आफुलाई जन्मदिने आमाको अस्तित्व स्वीकार नगर्नु जस्तै हो । जुन कुराको हामी परिकल्पनासम्म पनि गर्न सक्दैनौं ।
फागुन ७ र स्वतन्त्रताको कुरा गर्दै गर्दा मलाई स्वतन्त्रताको मूल्य बताउने २०६१ माघ १९ पछिका दिनहरुको सम्झना हुन्छ । तत्कालिन राजा ज्ञानेन्द्रले एउटा वक्तव्य मार्फत जनताको सरकारलाई असक्षमभन्दै अपदस्त गरेर सत्ता हातमा लिएको केही क्षणमै नेपालका सञ्चार गृहहरुमा सेनाले घेरा हाल्न थाले । समाचारको सम्पादन सम्पादकले होइन, सेनाका जर्नेलहरुले गर्न थाले । रेडियो सगरमाथाले देखाएको बाटो पछ्याउँदै देशैभर खुलेका एफएमहरुमा समाचार बज्न छोडे । फेरी एक पटक नागरिकको आवाज बन्द गर्ने काम भयो । टंक ढकाल, दानबहादुर शाही, निरँजन थापाका कर्कश स्वरहरुमात्र रेडियो नेपालमा सुनिन्थे र त्यही आवाजलाई एफएमहरुले सुनाउनु पथ्र्याै ।
तर स्वतन्त्रताको भरपुर उपभोग गर्दै हुर्केको एक्काइसौं शताब्दीको नेपाली पुस्ताले आफ्नो स्वतन्त्रता खोसिएको सहन गर्न सकेन । वर्तमान नेपाली पुस्ता राणा विरुद्धको सात सालको र त्यस अघिको आन्दोलनको इतिहास पढेर अनि गंगालाल, धर्मभक्त, दशरथ र शुक्रराजको बलिदानी पूर्ण इतिहासको अध्ययन गरेर अनि त्यसबाट प्राप्त उर्जाले सिँचित भएर हुर्केको पुस्ता हो । हामीसंग ३० वर्षे कालरात्री भोगको र त्यस विरुद्ध लडेको साथै जनआन्दोलन भाग २ मा ज्यानको बाजी राखेर स्वतन्त्रताका लागि लडेको पुस्ता पनि छ । त्यसैले त प्रत्येक नेपालीलाई स्वतन्त्रताको मूल्य थाहा छ अनि त्यसको स्वादमा बानी परेको छ र अब त्यसको परित्याग गर्ने कल्पना गर्न सकिँदैन ।
लोकतन्त्र प्राप्ती पछिका सरकारहरु पनि नेपाली जनताको स्वतन्त्रता खोस्ने प्रयत्नमा लागेका देखिए÷भोगिए । ज्ञानेन्द्रले गरेको दुस्साहसको पुनरावृत्ति गर्न लोकतान्त्रिक भनिएका सरकारहरु नै कस्सिनु स्वतन्त्रतको मूल्य नबुझ्नु नै थियो । तर तिनीहरुले नारायणहिटीबाट नागार्जुन पुगेका ज्ञानेन्द्रको वर्तमानबाट पाठ सिक्नु जरुरी छ । बालुवाटारबाट बालकोट पुगेकाका अुनयायीहरुले त झन बढी नै आत्मसाथ गर्नु जरुरी छ कि स्वतन्त्रताको हरण गर्न खोज्दा चुकाउनु पर्ने मूल्य निकै महंगो पर्न जान्छ ।
७२ औं प्रजातन्त्र दिवसको अग्रिम शुभकामना ।
फागुन–७ ले चखाएको स्वतन्त्रताको स्वाद
previous post