मधेशमा सबैभन्दा धेरै र सुदुर पश्चिममा सबैभन्दा थोरै
रमेश विकल
प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत आज देशभर एकैसाथ मतदान सम्पन्न हुँदैछ ।
मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले सम्बन्धित मतदान केन्द्रमा गएर आज विहान ७ बजेदेखि साँझ ५ बजेभित्र मतदान गर्न सक्नेछन् ।
आज हुने मतदानमा देशभरबाट ९२ लाख ४० हजार १ सय ३१ महिला, ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष र २ सय अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुनेछन् । १ सय ६५ निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी तीनहजार ४ सय ६ उम्मेदवार चुनावी मैदानमा छन् ।
नामाकरणका हिसाबले सबैभन्दा कान्छो कोशी प्रदेशमा १४ जिल्ला र २८ निर्वाचन क्षेत्र रहेका छन् । ४ सय ९५ उम्मेवार निर्वाचन मैदानमा रहेको यो प्रदेशमा कांग्रेसका शेखर कोइराला, कांग्रेसकै सुनिलकुमार शर्मा, रास्वपाका बालेन्द्र शाह, एमालेका केपी शर्मा ओली, श्रमसंस्कृतिका हर्कराज राई तथा नेकपाका हरि रोका चर्चाका उम्मेदबार हुन् ।
८ जिल्ला र ३२ निर्वाचन क्षेत्र रहेको मधेश प्रदेशमा सबैभन्दा धेरै १ हजार ३६ जना उम्मेदबार निर्वाचन मैदानमा छन् । कांग्रेसका गगनकुमार थापा, रास्वपाका मनिष झा, नेकपाका माधवकुमार नेपाल, जनमतका सिके राउत तथा जसपा नेपालका उपेन्द्र यादव यो प्रदेशका चर्चामा रहेका उम्मेदवार हुन् ।
राजधानी काठमाण्डौ रहेको बागमती प्रदेशमा १३ जिल्ला र ३३ निर्वाचन क्षेत्र रहेका छन् । ७ सय २२ उम्मेदवार चुनावी मैदानमा रहेको यो प्रदेशमा कांग्रेसका प्रदीप पौडेल, सचिन तिमल्सिना, सबुज वानिया र मिना खरेल चर्चामा छन् भने एमालेका इश्वर पोखरेल, उज्यालो नेपालका कुलामान घिसिङ, नेकपाकी रेणु दाहाल, रास्वपाका रवि लामिछाने, सोविता गौतम तथा रञ्जु दर्शना चर्चामा छन् ।
२ सय ३४ उम्मेवार रहेको गण्डकी प्रदेशमा ११ जिल्ला र १८ निर्वाचन क्षेत्र रहेका छन् । एमालेका पृथ्वी सुब्बा गुरुङ तथा पदम गिरी, कांग्रेसका गोविन्द भट्टराई, बालकृष्ण घिमिरे तथा शंकर भण्डारी, नेकपाका लेखनाथ न्यौपाने, रास्वपाका सुधन गुरुङ तथा स्वर्णिम वाग्ले, राप्रपाका अभिषेक जोशी यो प्रदेशका चर्चामा रहेका उम्मेदवार हुन् ।
लुम्बिनी प्रदशेमा १२ जिल्ला समेटिएको छ भने यहाँ २६ निर्वाचन क्षेत्र रहेका छन् । ४ सय ९० उम्मेदवार रहेको यो प्रदेशमा कांग्रेसका गोविन्दराज पोखरेल तथा चन्द्रकान्त भण्डारी, एमालेका प्रदीप ज्ञवाली र रास्वपाको सागर ढकाल चर्चामा रहेका उम्मेदवार हुन् ।
२ सय २३ उम्मेवार निर्वाचन मैदानमा भएको कर्णाली प्रदेशमा १० जिल्ला र १२ निर्वाचन क्षेत्र रहेका छन् । कांग्रेसका हर्कबहादुर बम र केशबहादुर विष्ट, नेकपाका महेन्द्रबहादुर शाही र शक्तिबहादुर वस्नेत, रास्वपाकी विनिता कठायत र राप्रपाका ज्ञान बहादुर शाही यो प्रदेशमा चर्चामा रहेका उम्मेवार हुन् ।
सुदुर पश्चिम प्रदेशमा ९ जिल्ला रहेका छन् । यो प्रदेशमा जम्मा १६ वटा निर्वाचन क्षेत्र रहका छन् भने सबैभन्दा थोरै २ सय ६ जना उम्मेवार निर्वाचन मैदानमा छन् । कांग्रेसका नैनसिंह महर, चतुरबहादुर चन्द तथा हरिप्रसाद बोहोरा, रास्वपाका केपी खनाल, एमालेका लेखराज भट्ट र नेकपाका प्रेमबहादुर आले, विना मगर तथा भिमबहादुर रावल चर्चित उम्मेदवार हुन् ।
