दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिले पदवहाली समेत गरिसकेका छन् । यो निर्वाचनले कतिपय पुराना तथा कतिपय नयाँ व्यक्तिलाई जनप्रतिनिधिका रुपमा निर्वाचित गरेको छ । सबैभन्दा पहिले तनहुँ जिल्लाका र देशभरका निर्वाचित जनप्रतिनिधिहरुलाई शुभ कामना साथै जनअपेक्षा अनुकूल काम गर्न सक्नुहोस् भन्ने कामना ।
तनहुँका निर्वाचनको कुरा गर्दा कतिपय अघिल्लो कार्यकालका प्रतिनिधि दोहोरिन खोज्दा निकै सकस व्यहोर्नु परेको देखियो । यसको अर्थ जनअपेक्षा अुनकुल काम गर्नबाट प्रतिनिधिहरु चुकेका हुन कि भन्ने भान परेको छ । हुनपनि कतिपयलाई मतदाताले पुन निर्वाचित हुने उनीहरुको प्रयत्नलाई अस्विकार गरे भने जति पुनः स्वीकृत भए तिनले पनि ठूलै चुनौतिको सामना गरे । घटनाक्रमहरुलाई देख्दा लाग्छ, जनप्रतिनिधिमा दोहोरिन चाहने जो कोहिले हजार पटक सोचेर मात्र अबका दिनमा निर्णय गर्नुपर्छ ।
गणतन्त्र स्थापनासंगै नागरिकमा राजनीतिक चेतनास्तर बढेको छ । जनआकांक्षा बदलिएका छन् । नागरिकका आकांक्षा चुल्याउने पनि दलका नेताहरु नै हुन् । ति आकांक्षाको पूर्ति सहज छैन । यो यथार्थ बुझ्दा बुझदै पनि दलहरु निर्वाचन जित्नकै लागि आकाश पातालका कुरा गर्छन् र जनआकांक्षालाई चुल्याईदिन्छन् । निर्वाचन त जित्छन् तर जनआकांक्षाको पूर्ती गर्न नसक्दा असक्षमको विल्ला भिराईन्छन् र तारो बन्न पुग्छन् । अहिलेको अवस्था पनि त्यही हो ।
धेरैलाई यो निर्वाचनले उडन्ते गफ लगाएर निर्वाचन जित्नु घातक हुने रहेछ भन्ने पाठ सिकाएको हुनुपर्छ । र त्यसैबाट सिक्दै नागरिकको सेवक बनेर आगामि दिनहरुमा जनअपेक्षा अनुकूल काम ति प्रतिनिधिले गर्ने अपेक्षा गर्न सकिन्छ ।
नागरिकले ठूला कुरा खोजेका छैनन् । उनीहरुको सरोकारको विषय भनेको जीवन सहज होस् भन्ने हो । सांझ विहान हात मुख जोर्न समस्या नहोस् भन्ने हो । यदि समस्या भइहाले स्थानीय सरकारले त्यसमा सकेको सहायता गरोस् भन्ने हो । जनताले तिरेको करको सही सदुपयोग होस, आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा आर्जन गर्ने वातावरण पाउन्, विरामी पर्दा सहजै उपचार पाइयोस, कोही कसैले आफुलाई असुरक्षित महसुस गर्नु नपरोस्, यस्तै त हुन नागरिक अपेक्षा । र यी अपेक्षा पूरा गर्न सक्दो प्रयत्न गर्नु जनप्रतिनिधिको दायित्व । त्यो दायित्वबाट कुनै पनि जनप्रतिनिधि विमुख नहोउन् । नागरिकका दुःखका घाउमा मलम लगाउने काममा प्रतिनिधिको मन जाओस् ।
प्रतिनिधिसंगका जनअपेक्षा-सम्पादकीय
previous post