अङ्ग्रेजी दास्रो महिनाको १४ गते अर्थात फेब्रुअरी १४ को अङ्ग्रेजी संस्कृतिमा एउटा छुट्टै र विशेष स्थान छ । यस दिनलाई अङ्ग्रेजी संस्कृतिमा भ्यालेन्टाइन डे को रुपमा मनाईन्छ । यसै पनि प्रेमको कुनै बन्धन र सीमा हुँदैन । प्रेमसँग सम्बन्धित दिन भएकोले भ्यालेन्टाइन डे को प्रभाव पनि संसारभर फैलदो छ । पश्चिमि संस्कृति तर्फ आकर्षित भईरहेको नेपाली समाजमा पनि यसको प्रभाव नहुने कुरै भएन । नेपालमा पनि फेब्रुअरी १४ लाई प्रेम दिवस÷ प्रणय दिवसको रुपमा मनाउने प्रचलन पछिल्लो वर्षहरुमा ह्वात्तै बढेको छ । यस वर्षको फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे नेपाली मिति अनुसार फागुन २ गते मंगलबार परेको छ । शुरुवाति समयमा फेब्रुअरी १४ लाई मात्र प्रणय दिवसको रुपमा मनाईन्थ्यो । तर पछिल्लो समयमा यो संस्कृति अलि परिष्कृत र व्यापक भएर सप्ताव्यापी रुपमा मनाउन थालिएको छ । पहिलो दिनलाई रोज डे को रुपमा मनाईन्छ । यस दिनमा आफ्नो प्रेमि वा प्रेमिकालाई प्रेमको प्रतिक मानिने रातो गुलाफको फूल उपहार दिनुपर्छ भनिन्छ । दोस्रो दिनलाई प्रपोज डे को रुपमा मनाईन्छ । यस दिनलाई आफ्नो प्रिय व्यक्तिलाई प्रेम प्रस्ताब राख्ने दिन हो भनेर बुझिन्छ । तेस्रो दिन चकलेट डे हो । यस दिन सम्बन्धको मिठो शुरुवात गर्न मिठाई उपहार दिने गरिन्छ । चौथो दिन टेडी डे अर्थात् आफ्नो प्रिय व्यक्तिलाई गुडिया उपहार स्वरुप दिने दिन । पाँचौ दिन प्रमिस डे अर्थात् आफ्नो अमरप्रेमको लागि बाचा कसम खाने दिन । पाँचौ दिन हग डे, आफ्नो प्रेमि वा प्रेमिकालाई अङ्कमाल गर्ने दिन, छैटौं दिन किस डे, आफ्नो प्रिय व्यक्तिलाई चुम्बन गर्ने दिन र सातौं दिन भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस । यसरी हेर्दा यतिबेला प्रणय सप्ताह अर्थात् भ्यालेन्टाइन्स विक चलिरहेको छ र आज भ्यालेन्टाईन्स डे को तेस्रो दिन हो यानिकि चकलेट डे ।
पश्चिमि संस्कृति प्रति झुकाव र आकर्षण बढिरहेको नेपाली समाजमा भ्यालेन्टाईन्स डे को प्रभाव बढ्दै जानु नौलो कुरा होइन । भ्यालेन्टाईन्स डे अर्थात् प्रणय दिवसलाई आत्मसाथ गर्नु आफैमा नराम्रो कुरा हुँदै होइन तर प्रेमसँग सम्बन्धित हाम्रो आफ्नै मौलिक परम्परा पनि नभएको भने होइन । साउनमा हरियो चुरा, हरियो वस्त्र लगाउनु, साउने ब्रत वस्नु, स्वस्थानी माताको ब्रत बस्नु, कृष्ण जन्माष्टमी मनाउनु यी सबै प्रेमसँग सम्बन्धित हाम्रा मौलिक परम्परा हुन् । यद्यपी हाम्रो मौलिक संस्कृति छ भन्दैमा विदेशी संस्कृतिको अवलम्बन गर्नै हुँदैन भन्ने तर्क पङ्तिकारको होइन । तर बाह्य संस्कृति अवलम्बन गर्दै गर्दा आफ्नो मौलिक परम्परालाई नभुलियोस् भन्ने कुरामा भने सतर्क हुनै पर्छ ।
प्रणय दिवस र प्रणय सप्ताहप्रति दुई चार कुरा लेख्ने प्रयास गर्दै गर्दा यो दिन प्रति आपत्ति जनाउनु वा यसको विरोध गर्नु पङ्तिकारको आशय होइन तर पछिल्लो वर्षहरुमा प्रणय दिवसको नाममा बढ्दै गएको विकृति र यो दिन प्रतिको गलत बुझाईको थोरै चिरफार गर्ने प्रयास भने पक्कै हो ।
हुन त प्रेम गर्ने कुनै उमेर हुँदैन भनिन्छ तर प्रणय दिवसको सबैभन्दा बढि प्रभाव किशोर किशोरी र त्यसपछि युवा पुस्तामा परेको पाईन्छ । कैयौं किशोर किशोरीहरु भ्यालेन्टाइन्स डे किन मनाईन्छ ? भ्यालेन्टाइनको थिए भन्नेसम्म पनि नबुझि यो दिवसलाई मनाईरहेका हुन्छन् । अधिकांश व्यक्तिहरुमा भ्यालेन्टाईनले आफ्नो प्रेमको लागि आफ्नो बलिदान दिए भन्ने बुझाई रहेको पाईन्छ । जुन सत्य होइन । म्यालेन्टाईन तेस्रो सताब्दीमा रोमन साम्राज्यका एक सन्त थिए । त्यतिबेला रोमन साम्राज्यमा राजा क्लाउडियसको शासन थियो । उनको शासनमा प्रेम गर्न र प्रेम विवाह गर्न बर्जित थियो । तर सन्त भ्यालेनटाईन सदैव प्रेम पक्षमा थिए । त्यसैले उनले लुकी छिपी प्रेमील जोडीहरुको विवाह गराृन थाले । उनको यही अपराधको लागि उनलाई कारावासमा राखियो र मृत्यूदण्ड दिइयो । त्यसकारण सन्त भ्यालेनटाइनले आफ्नो प्रेमको लागि नभएर प्रेम गर्नेहरुको लागि आफ्नो जीवनको बलिदान दिएका थिए । बरु इतिहासमा उनि कारावासमा रहँदा जेलरको छोरीप्रति आकर्षित भएको र उनको नाममा आफ्नो हस्ताक्षर भएको पत्र लेखेको कुरा भने पाईन्छ ।
प्रणय दिवस वास्तवमा एक अर्कालाई प्रेम गर्ने जोडीहरुले मनाउने दिवस हो । तर पछिल्लो समयमा प्रणय दिवसलाई प्रेमी प्रेमीका बनाउने दिवसको रुपमा लिने गरेको पाईएको छ । प्रणय सप्ताह अन्तरगतको प्रपोज डेमा प्रेम प्रस्ताव राख्ने र उक्त दिन राखिएको प्रस्ताव अस्विकार गर्न हुँदैन भन्ने खालको गलत मान्यता स्थापित हुँदै गईरहेको छ पछिल्लो बर्षहरुमा ।
प्रेम प्रस्ताव अस्विकार गरेकै कारणले अप्रिय घटनाहरु घटिरहेको पनि हामी देखि रहेका छौं । सुनि रहेका छौै । प्रणय सप्ताहकै मौका पारेर विशेषतः प्रेमीहरुले प्रेमीकालाई शारीरिक सम्बन्धमा लागि दवाव दिने, यौन शोषण गर्नेे खालका गलत क्रियाकलाप पनि पछिल्लो समयमा बढी रहेको छ । यो नितान्त गलत र गैह्र कानुनी कुरा हो । प्रेम नितान्त स्वच्छ र पवित्र हुनु पर्दछ । स्वच्छ र पवित्र हुनुपर्दछ भन्नुको अर्थ प्रेममा शारीरिक सुखको स्थान हुनु हुँदैन भन्ने होइन तर प्रेमको नाममा शारीरिक चाहाना पुरा गर्नु भने गलत हो । दुःखको कुरा चाही के हो भने प्रेम र शारीरिक सम्बन्धलाई प्रर्यायवाची शब्दको रुपमा बुझ्ने किसोर किसोरीहरुको जमात बढ्दो छ । यसले भविष्यमा समाजलाई गम्भिर दुर्घटनातर्फ लैजान सक्दछ । त्यसकारण समय छँदै सर्तकता अपनाउनु पर्दछ ।
प्रणय दिवसको प्रभाव पछिल्लो समयमा यसरी बढी रहेको छ कि एउटा प्रेमी वा प्रेमीका नहुनु लज्जाको विषय जस्तै बनेको छ । प्रेमी नहुने केटीलाई कसैले पनि नपत्याएको र प्रेमीका नहुने केटालाई एउटा पट्याउन पनि नसक्ने भनेर जिस्क्याउने, हेप्ने प्रचलन समाजमा बढ्दो छ । त्यसकारणले किसो किसोरी र युवा पुस्ता जसरी भएपनि प्रेमी प्रेमीका बनाउनु पर्दछ भन्ने मान्यता राख्न थालेका छन् । जुन गलत हो । किनभने प्रेम कसैलाई प्रेम गर्छु भनेर हुने कुरा होइन । प्रेम भित्री हृदयबाट मनबाट आफै हुने कुरा हो र प्रेमी प्रेमीका नहुनु, किसोर अवस्थामा कसैको प्रेममा नपुर्न कुनै पनि दृष्टिकोणबाट लज्जाको विषय होइन । यो कुरा अहिलेको युवा पुस्ताले बुझ्नु र बुझाउनु अति आवश्यक छ । अहिलेको प्रेमि प्रेमिकाहरुमा, प्रेम सम्बन्धमा रहे पछि मैले जे भन्यो त्यहि हुनुपर्छ, मैले भनेको सबैकुरा मान्नुपर्छ भन्ने गलत धारणा पनि विकसित भईरहेको छ । प्रेममा एक अर्काको भावनाको कदर गर्नुपर्छ । आफ्नो भन्दा पनि आफ्नो प्रिय व्यक्तिको भावनाको कदर गर्नुपर्छ, सम्मान गर्नुपर्छ । प्रेममा प्राप्ति भन्दा त्यागको भावना बलियो हुनु पर्दछ । यस्ता कुराहरु अहिलेको युवा पुस्ताले बुझ्न चाहि रहेको पाईदैन । यी कुराहरु बुझ्नु आवश्यक छ । साना साना कुराहरुमा मनमुटाव भएर, अनावश्यक शंका गरेर, जासुसी गरेर सम्बन्ध विग्रिएको घटनाहरु बग्रेल्ती छन समाजमा । कतिपय अवस्थामा त आत्महत्या जस्तो गम्भिर कदम उदाहरणहरु पनि छन् भने सबक सिकाउनको लागि बलात्कार जस्तो जघन्य अपराध भएको, उदाहरणहरु पनि छन् । प्रेमको जग विश्वासमा अडिएको हुन्छ भनेर सम्झाउन र बुझाउन अति आवश्यक छ अहिलको पुस्ताहरुलाई
यो दुःखद कुरा हो । तर सत्य हो कि प्रेम अहिलको समयमा फेसन जस्तो भएको छ । प्रेमी प्रेमीका बनाउनु, छोड्नु सामान्य कुरा भएको छ । प्रेममा त्याग, निष्ठा र समर्पण पाउन गाह्रो भैसकेको छ । प्रेमको सम्बन्ध आत्मसंग हुनु पर्दथ्यो, एक अर्काको सम्मान र भावनाको कदरसंग हुनुपर्दथ्यो । तर अहिले प्रेम देखावटी सम्बन्ध भएको छ । युवा पुस्तामा मेरो पनि प्रेमी, प्रेमीका छ है भन्नु नै सबै उपलब्धि हो भने जस्तो भएको छ । अझ कतिपय अवस्थामा कस्को धेरै प्रेमी प्रेमीका भन्ने होडवाजी पनि चल्ने गरेको पाईन्छ । अहिले मानिसहरुलाई म आफ्नो प्रेमी प्रेमीका श्रीमान श्रीमतिलाइ मायाँ गर्छु भनेर दुनियालाई देखाउन हतार र होडवाजी चल्छ । तर प्रेम देखाउने कुरा होइन र देखाई रहनु आवश्यक पनि छैन । बस्, आफूले प्रेम गर्ने मानिसले त्यो कुराको महसुस गरे पुग्छ ।
यो संसार प्रेममै अडेको छ । प्रेम विनाको संसार कल्पना पनि गर्न सकिदैन । तर वर्तमान समयमा प्रेमप्रति मानिसहरुको जुन गलत बुझाई बढ्दै गैरहेको छ, त्यो सच्चिनु जरुरी छ । प्रेम प्रेम नै नहुनु पर्दछ । त्यहाँ पवित्रता र स्वच्छताको आभाष हुनु पर्दछ । एक अर्काको सम्मान र कदर हुनु पर्दछ । प्रेमील जोडीहरु त्यागको लागि हरदम तयार रहन सक्नु पर्दछ । तब मात्र प्रेम साँचो अर्थमा प्रेम हुन्छ । तब मात्र प्रेमको लागि सन्त भ्यालेनटाईनले आफ्नो जीवनको आहुती दिएको काम लाग्छ । अन्ततः सन्त म्यालेनटाईनले सम्पूर्ण प्रेम जोडीहरुलाई आशिष प्रदान गरुन् । संसार प्रेममय होस् । आउँदै गरेको प्रणय दिवसको सबैलाई शुभकामना ।
प्रणय दिवस
previous post