दमौली/युवाहरुको पेशागत तथा व्यवसायीक दक्षता अभिबृद्धि गर्न व्यास नगरपालिका र सिटिइभिटी गण्डकी प्रदेश बीच द्विपक्षीय समझादारी कायम भएको छ । सोमबार व्यासनगरपालिकामा सम्पन्न सझदारीमा व्यास नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल र सिटिइभिटीको तर्फबाट निर्देशक प्रमोदभक्त आचार्यले हस्ताक्षर गरेका छन् ।
छोटो अवधिको सीपमूलक तालिम मार्फत युवाहरूको पेशागत तथा ब्यवसायिक दक्षता अभिवृद्धि गरी रोजगारी वा स्वरोजगारीमा आवद्ध गराउने सम्बन्धमा नगरपालिका र सिटिइभिटीबीच द्विपक्षीय समझदारी भएको हो । यो समझदारी २०८० साल असार मसान्तसम्म कायम रहने व्यास नगरपालिकाले जनाएको छ ।
समझदारीको मुख्यतः ६/७ वटा उद्देश्यहरु रहेका छन् । नगरपालिका स्रोतका अनुसार मागमा आधारित छोटो अवधिको सीपमूलक तालिम प्रदान गरी सीपयुक्त जनशक्ति उत्पादन गर्ने, उद्यमशीलता विकास तथा उद्यम स्थापना र स्तरोन्नतिमा सहकार्य गर्ने, सीप सिकेका युवाहरूलाई व्यावसायिक उद्यम स्थापना र स्तरोन्नतिमा सहयोग गरी विदेश पलायनलाई न्यूनीकरण गर्न, स्वरोजगारको अवसर बृद्धि गर्न, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतासँग जोडेर विदेशमा सिकेको सीप, अनुभव र पुँजीको स्वदेशमा नै सदुपयोग गरी स्वरोजगार बन्न सघाउन तथा युवालाई स्वरोजगार तथा रोजगारीका लागि आवश्यक समन्वय, संयोजन एवं सहजीकरण गर्ने उद्देश्य रहेका छन् ।
व्यास नगरपालिकाले पहिलो चरणमा कुक, पञ्चेबाजा, मोवाइल मर्मत, सिलाइ कटाइ लगायतका तालिम सञ्चालन गर्न कार्यपालिकाको बैठकबाट निर्णय समेत गरिसकेको छ ।