पृथ्वी राजमार्गको आंबुखैरेनी–जामुने र जामुने– कोत्रे गरी दुइ खण्डमा विभाजन गरेर विस्तार कार्य जारी छ । उता मुग्लिन–मलेखु सडक खण्ड पनि विस्तारको काम सुरु भएको छ ।
झण्डै दुइवर्ष अगाडी सुरु भएको आँबुखैरेनी–कोत्रे खण्डको कामले खासै गति लिन सकेको छैन । यो सडक खण्डमा यात्रा गर्ने यात्रुले लामो खडेरीका कारण गर्मीको सामना त गर्नु पर्छ नै मार्गमा भएको अनियन्त्रित धुलोको कारण स्वास्थ्यमा समेत समस्या आउने जोखिम मोल्नु पर्छ । राजमार्ग आसपास घर भएका मानिसको धुलोका कारण उठिबास हुने अवस्था बन्न लागेको छ । बेलाबेला धुलो मार्न पानी नहालेको भनेर राजमार्ग छेउछाउका वासिन्दाले यातायातमा अवरोध गर्ने गरेका भएपनि ठेकेदार कम्पनीले सुनुवाई नगर्दा उनीहरुको दैनिकी नारकीय बनेको छ । अझ बाटो विस्तार गर्ने क्रममा सावधानी अपनाउन चासो सडक छेउका वस्तीमा पानीको आपूर्तिमा समेत समस्या आएको छ । यो राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुको अवस्था अझ दयनिय हुने गर्दछ । सडकको धुलो खाने त छँदैछ, छिनछिन्मा हुने जामले हैरान बनाउने गर्दछ । लामो जाम छिचोलेर दुइ वा तीन किलोमिटर यात्रा गर्न पाएको छैन फेरी जाम सुरु हुन्छ । विद्यालय र कार्यालय समयमा हुने जामले आम सर्वसाधारण मात्र होइन कार्यालय र विद्यालयमा काम गर्ने कर्मचारी तथा शिक्षक र विद्यार्थी समेत मर्कामा परेका छन् ।
सडकको धुलोले जनस्वास्थ्यमा नकारात्मक असर गरेको, जामले सर्वसाधारणको जनजीवनलाई अस्तव्यस्त तुल्याएको जस्ता आवाज बेलाबेला उठने गरेको भएपनि सुनुवाई भने भएको छैन । संघीय संसद होस् या प्रदेशसभाका सदस्य अथवा स्थानीय सरकारका जनप्रतिनिधि कसैको पनि यसमा ध्यान गएको नदेखिनु दुखद रहेको छ । अझ लोक रिझ्याईका लागि र जनआक्रोश थामथुम पार्न जनप्रतिनिधिहरुबाट व्यक्त हुने ओठे चासोले आम नागरिकलाई आजित बनाएको छ ।
पृथ्वी राजमार्गको यात्रा
उपहारमा गर्मी, धुलो र जाम
previous post