आफ्नो छुट्टै अस्पताल बनाउने शिक्षकको सपना अब पूरा हुने भएको छ । शिक्षकका पेशागत संघ, संगठन तथा उनीहरुको छातासंस्था शिक्षक महासंघले निजामती कर्मचारी तथा नेपाल प्रहरी र नेपाली सेनाको उपचारका लागि छुट्टै अस्पताल भएझै आफुहरुको पनि छुट्टै अस्पताल हुनुपर्ने माग राख्दै आएको थिए । छुट्टै अस्पताल हुनुपर्ने लगाएत अन्य थुप्रै माग राखेर महासंघले विभिन्न समयमा आन्दोलन समेत गर्दै आएको थियो । यसै सन्दर्भमा २०७५ फागुन ९ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघकाबीच भएको १० बुँदे सहमतिको ९ नम्बरमा केन्द्रीय तहमा सुविधा सम्पन्न शिक्षक अस्पताल खोल्नका लागि प्रवन्ध गर्ने र ७ वटै प्रदेशमा शिक्षक तथा विद्यालय कर्मचारीको सहुलियतपूर्ण उपचारको प्रवन्धका लागि आवश्यक व्यवस्था मिलाउने उल्लेख छ ।
सहमति भएपनि लामो समय काम अघिबढ्न सकेको थिएन । तर केही महिना अगाडि मन्त्रालयले शिक्षक अस्पताल निर्माण गर्न डा. विमल शर्मा चालिसेको संयोजकत्वमा सात सदस्यीय कमिटी गठन गरेको थियो । सो कमिटीले भरतपुर महानगरपालिकाको भगवानपुर, मकवानपुरको चित्लाङ र भक्तपुरको सूर्यविनायक नगरपालिकामा निर्माण गर्न सिफारिस गरेको थियो । सिफारिसलाई आधार मान्दै देउवा नेतृत्वको मन्त्रीपरिषद्ले भरतपुर महानगर पालिका वडा नं १५ भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्ने निर्णय गरेको समाचार आएको छ । यो समाचारले देशभरका शिक्षकमा खुसी छाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका प्रेस संयोजक विमल खड्काका अुनसार अस्पतालले भगवानपुरको कित्ता नम्बर ५०, ५१, ५२, ६०, ६१, ६२ र ६३ मा रहेको २१ बिघा जग्गा चर्चिनेछ । यो संगै अर्थ मन्त्रालयले बजेट छुट्टयाउने तथा टेण्डर आह्वान हुने प्रक्रिया प्रारम्भ हुनेछ ।
यो खवरले शिक्षकमा आशा मात्रै पलाएको छैन, आत्मविश्वास समेत जगाएको छ । अझ चालु आबको बजेटमा भएको विभेदकारी व्यवस्था निजामति कर्मचारीलाई दश दिनको तलब सुविधा सहित भ्रमण काज दिने तर शिक्षकलाई नदिने अवस्था हटाएर शिक्षकलाई समेत उक्त सुविधा दिने व्यवस्था हुनसके देउवा सरकारको सकारात्मक कदम मानिने थियो ।
पूरा हुँदै शिक्षक सपना-सम्पादकीय
previous post