दमौली/व्यास नगरपालिकाले दोस्रो महिला हाफ म्याराथन तथा पाँचौ खुल्ला अल्ट्रा म्याराथन गर्ने भएको छ । फागुन १६ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते महिला हाफ म्याराथन गर्न लागिएको हो । महिला हाफ म्याराथनका लागि व्यास गुफादेखि तनहुँसुरसम्मको २१ किलोमिटरको दुरी निर्धारण गरिएको छ ।
त्यसैगरी फागुन २८ गते खुल्ला अल्ट्रा म्याराथन गर्न लागिएको छ । मानुङकोटदेखि शहीदभूमि पुलिमराङ्गसम्मको ४४ किलोमिटरको दुरी खुल्ला अल्ट्रा म्याराथनका लागि निर्धारण गरिएको छ ।
अघिल्ला बर्षहरुमा शहिद दिवसको अवसरमा यस खालको म्याराथन दौड प्रतियोगिता सञ्चालन गर्दै आईएको थियो । प्रतियोगिताका लागि अनुमानित खर्च २२ लाख लाग्ने प्रक्षेपण गरिएको छ ।
पुरस्कारमा मात्रै चार लाख ३४ हजार खर्च हुनेछ । टि सर्टका लागि पाँच लाख ७२ हजार खर्च लाग्ने अनुमान गरिएको छ । प्रमाण पत्र र ट्रफीमा दुई लाख, मञ्च व्यवस्थापनमा एक लाख, मानुङकोटको नास्ताका लागि ४० हजार, पुलिमराङ्गको खाना व्यवस्थापनका लागि तीन लाख खर्च विनियोजन गरिएको छ । यातायात व्यवस्थापनका लागि दुई लाख खर्च छुट्याइएको छ । अन्य विविधि खर्चमा तीन लाख ३४ हजार खर्च हुने अनुमान गरिएको छ ।