पृष्ठभूमिः
पतिपत्नीको सम्बन्ध अर्थात दाम्पत्य जीवन आपसी विश्वासमा टिकेको हुन्छ । अझ भन्दा सत्य, निष्ठा र धर्मको भरमा टिकेको हुन्छ । विश्वसमुदायले स्थापित गरेको स्वतन्त्र जीवन जीउन पाउने अधिकार र नेपाली हिन्दुसंस्कार अनुसारको परम्परागत प्रचलनको मिश्रणले नेपाली दाम्पत्य सुखद बनाउन कठिन बन्दै जान थालेको छ । विश्वास गर्ने आधारहरु मेटिदै गएका छन् ।
मेटिदै गएको विश्वासः
नेपाली समाज र वैदेशिक रोजगारी पर्यायावाची जस्तो हुन थाल्यो । नेपाली युवा युवतीको आकर्षण विश्वास र चर्चा भनेको प्लस टु सक्ने अनि स्टुडेण्ट भिसामा विदेश जाने । त्यो भन्दा पछि अनेक तरहले बीसौं लाख खर्च गरेर विदेश प्रवेश गर्ने । सन्तान विदेशमा जन्माउने । पहिला पतिलाइ मिले पति जाने । पत्नीलाई मिले पत्नी जाने । पति पत्नी जो गएपनि खर्च त पतिले नै गर्ने यहाँसम्म त ठीक छ । पति गए पछि पत्नी पनि जाने अर्थात पत्नी गएपछि पति पनि जाने । यहाँसम्म पनि त ठीक छ । अब समस्या भनेको पति गएर पत्नी लगेन भने सम्बन्ध विग्रन पुग्यो भने पत्नीको अधिकार सिर्जना हुने । तर पत्नी पहिला विदेश गएपछि सम्बन्ध विग्रियो भने पतिले लगानी गरेको बीसौं लाख डुब्ने खतरा नेपाली समाजले भोग्दै आएको छ ।
विश्वास मेटिने अर्को अवस्थाः
पति विदेशमा बसेर पैसा कमाएर घरपरिवारलाई वास्ता नगरी पत्नीको नाउँमा लाखौं लाख पठाएको छ । पति मनमनै हिसाब गर्छ, मैले १८ लाख पठाइ सकें । छोरा पनि भयो । छोरी पनि भयो । अब बुढाबुढी संगै बसेर नेपालमै केही गर्नु पर्दछ भनेर नेपाल आउँछ । नेपाल आएर पठाएको पैसाको हिसाब गरी अब के गर्ने भन्दा पतिपत्नी बीच खटपट हुन्छ । पैसा घरखर्चमा सकियो । म संगै पनि बस्दिन । सम्बन्ध विच्छेद पनि दिन्न भनिन् । अझै अर्को समस्या पैसा कमाएर विदेशबाट पठायो । घरमा आउँदा पैसा र पत्नी घरमा हुँदैनन् । नावालक लालावाला कसैले पालिदिएको हुन्छ । अर्को समस्या, विदेशमा बसेर कमाएर पत्नीको नाउँमा घरघडेरी जोड्यो । विदेशबाट फर्केर घरमा आउँदा घरघडेरीको लिलामी निस्केको हुन्छ । पत्नीले अदालतमा सम्बन्ध विच्छेद मागेर सम्बन्ध विच्छेद हुने गरी फैसला भैसकेको हुन्छ ।
सामाजिक यथार्थ विवेचनाः
नेपाली समाजलाई व्यवस्थित र सुरक्षित गर्नका लागि विवाहलाई पवित्र बन्धन भनिनु र मानिनु अब हुँदैन । कानुनले पवित्र बन्धन मानेन । अबको दाम्पत्य जीवनमा पतिको प्रतिनिधि पत्नी र पत्नीको प्रतिनिधि पति बनाईनु
हुँदैन । साथै पति पत्नीको सम्पत्ति एकिकृत पनि गरिनु हुँदैन । पृथक पृथक नै राखिनु पर्दछ । अब विवाहलाई करार र सम्झौताको रुपमा विकसित गर्नुपर्दछ । करार अवधिमा बालबच्चा जन्मेमा ती बालबच्चाले पितामाताबाट समान अधिकार पाउनु पर्दछ । अर्थात १८ बर्ष नपुन्जेल पति पत्नीले बराबर खर्च र संरक्षकत्व बहन पर्दछ । यो कानुन समाजलाई अब आवश्यक भैसकेको छ ।
निष्कर्षः
कानुनले मुद्धामा पक्षको हैसियत समान हुने बताएको छ । सम्बन्ध विच्छेद र मानाचामलमा भएको अदालती अभ्यासबाट पक्षको हैसियतलाई समान मानेर न्याय निरुपण हुनुपर्दछ । न्यायीक विवेचनामा भावना र करुणा प्रकट
हुनुसक्दैन । न्याय विवेचनायुक्त हुनुपर्दछ ।