पृष्ठभूमिः
न्याय सम्पादनको अभिन्न अंग हो वकालत । स्वतन्त्र, निष्पक्ष र सक्षम न्याय पालिका, विधिको शासन, मानव अधिकारको पूर्ण प्रत्याभूतिको वातावरण निर्माण गर्न अभियुक्तले पनि निर्भिकताका साथ आफ्नो कानुन व्यवसायी मार्फत प्रतिरक्षा गर्न सक्ने हुनुपर्दछ । त्यतिबेलामा मात्रै निष्पक्ष न्याय सम्पादनको आधार तयार हुन्छ ।
निर्भिक प्रतिरक्षाको प्रसंगः
सुरज श्रेष्ठको जाहेरीले नेपाल सरकार वादी विरुद्ध दिपेश लामिछाने समेत प्रतिवादी भएको मुद्धा तनहुँ जिल्ला अदालतमा विचाराधिन छ । तनहूँ जिल्ला अदालतको आदेशले प्रतिवादीहरु थुनामा बसी पुर्पक्ष गरिहेका छन् । थुनामा नवसी धरौटमा रही पुर्पक्ष गर्न पाउँ भनि प्रतिवादीले पोखरा उच्च अदालतमा दायर गरेको 080-RE-0351 को निवेदन माथि उच्च अदालत पोखरामा २०८१। ३।१३ मा सुनवाइ हुने क्रममा जाहेरवाला पक्ष उच्च अदालत भित्रै पसेर इजलाश बाहिर प्रतिवादीका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले विरुद्ध अभद्र व्यवहार गरे । देखाए । बोले । सो घटना थाहा पाएपछि वाग्ले आवद्ध बार तनहूँ जिल्ला बारले २०८१।०३।१७ गते विज्ञप्ति निकालेर सो घटनाको भ्रत्सना गर्दै कानुन व्यवसायीप्रतिको मर्यादा स्थापित गर्न गराउन सम्बद्ध सबैप्रति अपिल गरेको छ । त्यसैगरी उच्च अदालत बार एशोसिशन पोखराले पनि २०८१।३।१९ गते एक विज्ञप्ति प्रकाशित गरेर घटनाको भ्रत्सना गर्दै सुरक्षा र सम्मानको प्रत्याभूति दिलाउन सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा संविधानको धारा २०(२) ले कानुन व्यवसायीसंग परामर्श गर्न पाउने, प्रतिरक्षा गराउन पाउने अधिकारको प्रत्याभूति दिलाएको पनि स्मरण गराइएको छ ।
मौन रहन नमिल्ने पक्षः
निर्भिक प्रतिरक्षाको वातारण निर्माणका लागि सम्बद्ध सबै पक्षको आवाज उठ्न पर्दछ । मौन रहन मिल्दैन । अदालत घेराउ गर्ने, कानुन व्यवसायीलाई धम्की दिने, अदालतमा बहस गरेको कानुन व्यवसायी गोप्य मार्गबाट बाहिरनु पर्ने अवस्थाप्रति नेपाल बार एशोसिएशनको ध्यानाकर्षण हुन जरुरी छ ।
एउटा बरिष्ठ अधिवक्ताले जिल्ला अदालतबाट बाहिरिँदा सुरक्षाको रणनीति अपनाउनु पर्ने, उच्च अदालतको इजलाशबाट बाहिरिदा असुरिक्षित महसुस गर्नु पर्ने आउँछ भने नवोदित कानुन व्यसवायीले कसरी निर्भिकतापूर्वक पक्षको हितमा वकालत गर्ने ?
कानुन व्यवसायीले असुरक्षित महसुस गरेको वातावरणमा न्यायाधीशले विवेकसम्मत न्यायीक विवेचना गरेर कसरी न्याय सम्पादन गर्ने ? मानव अधिकारसंग सम्बद्ध पक्षहरु मौन बस्न मिल्दैन ।
सम्वेदनशिल पाटोः
अपमानित कानुन व्यवसायीलाई जाहेरवालाको कानुन व्यवसायीबाट र न्यायाधिवक्ताबाट समेत आक्रोसित भिडलाई संयमित तुल्याउन सम्भव सबै भूमिका निर्वाह गरेको अनुभूति दिलाउन सक्नु पर्दथ्यो । त्यो पाइएन ।
निष्कर्षः
हुलहुज्जतले न्याय जीवन्त रहन सक्दैन । भिडले न्यायमा प्रभाव पार्ने अवस्था अदालतको अवहेलना हो । अदालत भित्रै वकिलहरुले सुरक्षाको अनुभूति नगर्नु न्याय क्षेत्रको लज्जानक अवस्था हो ।
न्याय सम्पादन, वकालत र अवहेलना
previous post