दमौली/नेपाली काँग्रेस तनहुँले बुधबार एक विज्ञप्ति प्रकाशित गरी आफ्नो कार्यालयमा तोडफोड भएको जनाएको छ । नेपाली काँग्रेस तनहुँका प्रबक्ता हरिशरण पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अन्तराष्ट्रिय मजदुर दिवस कार्यक्रममा घुसपैठ समूहले नेपाली काँग्रेसका श्रद्धेय नेता, चार तारे झण्डा र चुनाव चिन्हप्रति अपमान गर्दै अराजक प्रबृत्ति देखाएकोमा घोर निन्दा गर्दछौं ।’
नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँको कार्यालयमा तोडफोड भएको थाहा पाउना साथ तत्काल जिल्ला कार्य समितिको बैठक सभापति डिल्लीराम अधिकारीको अध्यक्षतामा बसी अराजक कार्यको निन्दा गर्दै जिल्लाको शान्ति सुरक्षाको व्यवस्था मिलाउन जोडदार माग गरेको प्रबक्ता हरिशरण पण्डितले बताउनु भयो ।
अराजक समूहले नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँको व्यास नगरपालिका वडा नं. २ मालपोत लाईनमा रहेको कार्यालयमा बुधबार दिउसो करिब एक बजेको समयमा त्यस्तो अभद्र व्यवहार गरेको बताइएको छ ।
अराजक समूहले नेपाली काँग्रेसका नेताहरु जननायक वी.पी. कोईराला, सूवर्णशम्सेर, गणेशमान सिंह, गिरिजाप्रसाद कोईराला र शुशिल कोइरालाको फोटो सहितको व्यानर च्यातचुत पारेर भूईमा फाली छिछिदुरदुर गरेका थिएँ । साथै पार्टी कार्यालयको बोर्ड झिकेर क्षतविक्षत तुल्याउनुका साथै इनामेल पोतेर हदैसम्मको अभद्र व्यवहार देखाएको नेपाली काँग्रेस तनहुँले जनाएको छ । सो कार्यका विरुद्धमा जिल्ला प्रहरी कार्यालय तनहुँ जाहेरी समेत परेको छ ।