बेलचौतारा/नेपाली काँग्रेस डिल्लीराम अधिकारी नेतृत्वको जिल्ला कार्य समिति तनहुँले शनिबार शुक्लागण्डकीको बेलचौतारामा क्षेत्र नंं. २ को क्षेत्रीय कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले हामीलाई विशेष अधिवेशनबाट नेपाली काँग्रेस तनहुँको नेतृत्वमा पुगेका सभापति डिल्लीराम अधिकारीले सिफारिस गरेको क्रियाशिल सदस्यता चाहिन्छ भन्नुभएको छ । जोशीले राजनीतिक समस्या छलफलबाट समाधान नगरी छलकपटपूर्ण वेइमानी नियतको कानूनी कुरा गरेर नेपाली काँग्रेस तनहुँको संगठन बलियो हुँदैन भन्ने ठोकुवा गर्नुभयो । आफ्नो जिल्लाबाट ६÷६ सिटमा काँग्रेसलाई चुनाव हराएर नैतिक जिम्मेवारी देखाउन नसक्ने नैतिकता गुमाएको रामचन्द्र पौडैलले कसैलाई कारवाही गर्न नसक्ने जोशिको निष्कर्ष थियो ।
गएको आमनिर्वाचनमा गोविन्दराज जोशीले पाउने टिकटमा नाम भर्न नदिई खाली टिकट कब्जा गरेर साठी लाखमा बेच्ने रामचन्द्र पौडेल नेपाली काँग्रेसलाई तनहुँबाट मात्रै होइन देशैभरीबाट हराउन प्रयोग भएको आरोप जोशीको थियो । पौडेलप्रति आक्रोसित जोशीले रामचन्द्र पौडेल आफ्नो छोराको राजनीति बचाउन लागेको तर आफू नेपाली काँग्रेस तनहुँका आमकार्यकर्ताको राजनीति बचाउन लागेको बताउनु भयो । नेपाली काँग्रेस तनहुँले निर्वाचनमा पराजय भोग्न पर्नाको धेरै कारण उल्लेख गर्ने क्रममा नेता पौडेलले आफ्नो छोरालाई नेता बनाउन देखाएको दम्भ, घमण्ड र स्वार्थले काँग्रेसका स्वाभिमानी नेता कार्यकर्ताको भावनामा चोट पुगेका कारण छाएको नैराश्यताले नेपाली काँग्रेस तनहुँले आमनिर्वाचनमा हारको परिणाम भोग्नु परेको कारणलाई नेता जोशीले विशेष जोड दिनुभएको थियो । १३औं महाधिवेशनमा आफ्नो नाम क्रियाशिल सदस्यताबाटै हटाएको स्मरण गर्दै १४औं महाधिवेशनमा त्यो नियती धेरै कार्यकर्ताले भोग्नु पर्ने अवस्थाको अन्त्य गर्न आफूले नेपाली काँग्रेस र कार्यकर्ता बचाउने अभियान थालेको नेता जोशीको भनाई रहेको थियो । नेपाली काँग्रेस तनहुँका सभापति डिल्लीराम अधिकारी, सचिव चिनु पोख्रेल, परमेश्वर भट्टराई, उपसभापति शुकुमलाल गुरुङ्ग, कोषाध्यक्ष बालकृष्ण पौडेल, क्षेत्र नं. २ का क्षेत्रीय सभापति ध्रुबकुमार श्रेष्ठ, क्षेत्र नं. १ का सभापति भिमबहादुर अधिकारी, जिल्ला सदस्यहरु परशुराम गिरी, गोपाल प्रसाद भण्डारी, खुदाबक्स मिया, कूलबहादुर थापा, नेपाल ट्रेड युनियन काँग्रेसका उपसभापति विष्णु श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव निलकण्ठ सिग्देलले गर्नुभएको थियो ।