विशेष सम्वाददाता
नेपालको राजनीतिक परिवर्तनले नेपालको धर्म, संस्कार र मौलिक संस्कृति माथि प्रहार गरेको साश्वत तथ्य अब गाउँ, टोल, मासिक कार्यक्रम, चिया गफ, सर्वत्र चर्चा चल्न थालेको छ ।
तनहुँमा साहित्यकारहरुले मासिक रुपमा गर्ने साहित्यिक कार्यक्रममा समेत तीजको मौलिकता मासिन लागेकोप्रति चिन्ता व्यक्त हुन थालेको छ । मौलिकता हराउँदा देशको मौलिक पहिचान नै हराउने भन्दै साहित्यकारले तीज गीतमा बिकृति ल्याउने खालका शब्द कोर्ने, अभिनय गर्ने, भिडियो बनाउन नहुने कुरामा जोड दिएका छन् । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको अध्यक्ष गौकुमारी न्यौपानेको अध्यक्षतामा भएको मासिक साहित्य रचना बाचन कार्यक्रम अन्तर्गत शनिबार गरिएको ४२ औं श्रृङ्खलामा तीजको गीतिलयमा मौलिकता जोगाउन आग्रह गरिएको थियो ।
प्रतिष्ठानका सदस्य विष्णु खड्का क्षेत्रीको शब्दमा तीजको सस्कृति जोगाउन सन्देश मुलक गीत प्रस्तुत गरिएको थियो ।
गीतको भावमा हाम्रा पुर्खाले आर्जेको नेपालका नेपालीले आफ्नो संस्कृत, भेषभुसा, भुल्न हुँदैन भन्ने सन्देश दिइएको थियो । साथै तीजको मौलिक भाका, लय, हराएकोप्रति पनि चिन्ता व्यक्त गरिएको थियो ।
अहिले तीजको सन्दर्भ भएका कारण तीज पर्वको मौलिकता हराएको चर्चा चल्यो । प्राज्ञिक जगतले पनि तीज गीतमा देखाएको दृष्य सामाग्रि र श्रवण सामाग्री हेर्न र सुन्नै नसकिने भएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
नेपाली सभ्यता, मौलिक धर्म, संस्कार, संस्कृति लोप गराइदै छ । हिन्दु धर्मकै नाउँमा नेपाली मौलिकताको धर्म भन्दा आयातित धर्मसंस्कृतिले ठाउँ लिँदै जान थालेको पाइन्छ ।
नेपाली धर्मसंस्कृतिमा माँसहारीका लागि तिलक र तुलसी कण्ठी बर्जित छ । तर तिलक साधारण टीकाकै रुपमा परिभाषित हुन लागेको छ । कानुन साहित्यमा हेर्दा मुलुकी ऐनमा प्रयोगका भएका नेपाली मौलिक शब्दहरु अन्त्य गर्दै विदेशीले बुझ्ने भाषाको संहिता कानुन निर्माण गरिदिएका छन् । कानुन हेर्दा हाम्रो नेपाली संस्कार अनुसार मिलेको समाज घरपरिवारमा सजिलै घरझगडा पार्ने खालका कानुन निर्माण गराई दिएका छन् ।
हिंसा, दमन, शोषण रहित समाज निर्माण गर्ने नाउँमा नेपाली मौलिक पहिचान नष्ट गर्नका लागि बुज्रुकहरु नै प्रयोग भैदिंदा नेपाली मौलिकता धरापमा परेको चिन्ता साहित्यकारहरुमा छाएको छ ।