काठमाण्डौं/सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को एकता प्रक्रिया टुंङ्गोमा पुगेको छ । पार्टी एकताको १५ महिना हुनै लाग्दा शुक्रबार नेकपाले एकता प्रक्रियाको बाँकी काम सम्पन्न गरेको हो ।
गत वर्ष तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकिकरण हुँदाको सहमति बमोजिम भागवण्डा मै नेकपाले विभिन्न ३२ विभागको जिम्मेबारी तोकेको छ । तर विभिन्न गुटमा विभिजित नेकपामा नेताहरुले आ आफ्नो गुटलाई बलियो बनाउने गरी कार्य विभाजन प्रयास गर्दा एकता प्रक्रिया त लम्वियो नै कार्य विभाजन सकिँदा पनि नेताहरु सन्तुष्ट हुन सकेको देखिएको छैन ।
बामदेव गौतम तथा झलनाथ खनाललाई सन्तुष्ट गराउने खालको कार्यविभाजन तथा वरियता निर्धारण भएको भए पनि माधव नेपाललाई पाखा लगाउने खालको निर्णय भएसंगै नेकपाका विवाद देखिने भएको छ । निर्णय प्रक्रिया, वरियता निर्धारण लगाएत विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालले मंगलबार सात बुँदे असहमतीको नोट नै सचिवालयमा वुझाए पछि नेकपा भित्रको असन्तुष्टी सडकमै पोखिएको छ ।
गठित विभिन्न ३२ विभागका प्रमुख र उपप्रमुखको जिम्मेवारी पाउनेमा महिला एकदम कम छन् । संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको भए पनि सत्ताधारी दल नेकपाले त्यसलाई कार्यान्वयनमा ल्याएको छैन । मन्त्री परिषदमा समेत उपयुक्त संख्यमा महिला नराखेको उसले विभिगिय जिम्मेवारी महिलालाई दिने कुरामा पनि कन्जुस्याईं गरेको छ ।
३२ मध्ये दुइ विभागको मात्र प्रमुखको जिम्मेवारी महिलाले पाएका छन् भने उपप्रमुखको जिम्मेवारी पाउने चार महिलामात्र छन् । प्रमुखको जिम्मेवारी पाउनेहरुमा उद्योग तथा वाणिज्य विभागमा राधा ज्ञवाली र खानेपानी तथा सरसफाइमा विना मगर रहेका छन् । यसैगरी उपप्रमुखको जिम्मेवारी पाउनेहरुमा खानेपानी तथा सरसफाइमा ममता गिरी, सामान्य प्रशासनमा रेखा शर्मा, स्थानीय तहमा उर्मिला अर्याल र स्वास्थ्य तथा जनसंख्यामा अञ्जना विसंखे रहेका छन् ।
पार्टी विधानमै नभएको पद र्सजना गरी वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेर ओली तथा प्रचण्डले गौतमलाई रिझाउन खोजेका छन्, भने एकता पछिको नेकपाले लिएको जनताको जनवादका आलोचकका रुपमा रहेका सचिवालय सदस्स इश्वर पोख्रेलले पार्टी स्कुल विभागको जिम्मेवारी पाएका छन् । कृषिमन्त्री हुँदा महिलालाई अपमान गरेको भनेर आलोचित भएका हरिप्रसाद पराजुलीको भागमा कृषि तथा भूमिसुधार विभागको उपप्रमुखको जिम्मेवारी परेको छ ।
उता आइतबार बसेको सचिवालय वैठकले आफ्नो तेस्रो वरियता खोसेर चौथोमा झारेपछि वरिष्ठ नेता माधवकुमार नेपाल विच्किएका छन् । पार्टी एकिकरण यता अध्यक्षद्वय पछिको वरियतमा रहेका नेपाललाई हटाएर झलनाथ खनाललाई ल्याउने निर्णय भएसंगै नेपाल विच्किएका हुन् । नेपालले मंगलबार सचिवालयमा आफ्नो सात बुँदे असहमती दर्ता गराएर एक व्यक्ति एक पदको कुरा उठाउँदै आफुलाई घटुवा गर्ने निर्णय गर्नेहरुलाई चुनौति दिएका छन् । सचिवालयमा अल्पमतमा परेर आफु अनुकुल निर्णय गराउन असहज भइरहेका बेला अध्यक्ष ओलीले बामदेव र झलनाथलाई खुसी तुल्याउँदै आफुतिर तानेर आफुलाई बलियो बनाएका छन् । कहिले ओलीको नजिक अनि कहिले माधवको नजिक भएर आफुलाई बलियो बनाइरहेका प्रचण्ड यसपटक फेरी ओलीको बोलीमा लोली मिलाएर नेपाललाई एक्लो बनाएका छन् । विचार र सिद्धान्तका आधारमा नभई स्वार्थका आधारमा हुने निकटता र दुरी दीर्घजीवि त हुँदैन तर अहिले देखिएको नेकपा भित्रको गठबन्धनले पार्टी जीवनलाई भने अवश्य प्रभावित तुल्याउने छ ।