कार्यकालभरि काम नलिने, काम गरेको अनुभूति दिन नसके राजीनामा दिने
दमौली/निर्माण व्यवसायी संघ तनहुँले आफ्नो स्थापनाको रजत जयन्ती मनाउँदै गर्दा नयाँ नेतृत्वलाई संघको नेतृत्व विधिवत चयन गरेको छ । निर्वाचन परिणाम घोषणापछि आफ्नो धारणा राख्ने क्रममा विजयी रत्नकुमार श्रेष्ठले आफू अभिभावक भएर सम्पूर्ण व्यवसायीको हकहितमा बोल्ने जिम्मेवारी पाएको हुँदा आफ्नो अध्यक्षताको कार्यकाल भरी निर्माण व्यवसाय सम्बन्धी कुनै पनि कामको जिम्मेवारी नलिने घोषणा गर्नुभएको छ । साथसाथै उहाँले आफ्नो कार्यकालको साधारणसम्ममा आफूले काम गरेको अनूभूति दिलाउन नसके पदबाटै राजीनामा दिने प्रतिबद्धता जाहेर गरेर संस्थापक, अग्रज तथा सभासदहरुको विश्वास आर्जन गर्नुभएको थियो ।
मतदान चल्दै गरेका बखत दुई उम्मेदवार साथै बसेर आफूहरु बीच उचित समन्वय गर्न अग्रज, अभिभावकहरुले चासो नदिएका कारण निर्वाचनमा उत्रन परेको विचारमा मतैक्यता प्रकट गरेका अध्यक्षका उम्मेदवारहरुले निर्वाचनको परिणामलाई सहजताका साथ स्वीकार गर्ने आपसी सहमति गरेका थिए । विजयी नेतृत्वको शपथ ग्रहण कार्यक्रमसम्म हार्दिकताका साथ सहभागि भएका प्रतिस्प्रर्धामा पछाडि परेका अध्यक्षका उम्मेदवार टीकाराम सापकोटा विजयी नेतृत्वलाई बधाइ तथा शुभकामना सहित आफ्नो विचार राख्ने अवसरमा भने बाहिरिइ सक्नु भएको थियो ।
११औ अधिवेशनले रत्नकुमार श्रेष्ठको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद खनाल, उपाध्यक्ष क्षेत्र नं. १ इश्वरीप्रसाद देवकोटा, उपाध्यक्ष क्षेत्र नं. २ विष्णुराम थापा, महासचिव रामचन्द्र पौडेल (आरसी), सचिव (नीतिगत) टीकाराम पनेरु, सचिव (वस्तुगत) शुरेश घिमिरे, कोषाध्यक्ष सोम थापा मगर, सहकोषाध्यक्षमा राजेश पण्डित निर्वाचन हुनुभएको छ । सदस्यहरुमा खुल्ला, समावेशी, महिला गरी तीन समूह थियो । खुल्लामा रविन पौडेल, कृष्णमुरारी मिश्र, केदार अधिकारी निर्वाचित हुनुभएको छ । समावेशी सदस्यमा सुकबहादुर गुरुङ, महिला सदस्यमा लक्ष्मी बगाले, निर्वाचित हुनुभएको छ । अधिवेशनबाट लेखा समितिको संयोजकमा गिरीराज लामिछाने, दीपककुमार श्रेष्ठ, खोजबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । अधिवेशले एक जना महिला सहित पाँच जना केन्द्रिय प्रतिनिधि पनि निर्वाचित गरेको छ । सो अनुसार कृष्णबहादुर थापा, आशबहादुर लामा, ऋषिराम अधिकारी, शेरबहादुर गुरुङ, ओमकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
रवि सिंको सम्बोधन
नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष रवि सिंले व्यवसायीक हक, हित र सुरक्षाको लागि देशभरका व्यवसायीहरु एकताबद्ध हुनु आव्हान गर्नुभएको थियो । उद्घाटन समारोहका प्रमुख अतिथि सिंले केही उच्च पदस्थ कर्मचारी र केही निर्माण व्यवसायीको योजनामा राज्यले अब दुई अर्बको बजेटमा विदेशी लगानिकर्ता नभित्र्याउने नीति अख्तियार गरी संस्थागत भ्रष्टाचार गर्न खोजेको धारणा राख्नुभयो । उहाँले उपभोक्ता समितिलाई पनि संस्थागत भ्रष्टाचार भन्नु भयो । काम उपभोक्ता समितिको गरेको देखाउने अनि निर्माण व्यवसायीबाट काम गराएर कमिशन खाने गरेको संकेत गर्दै संस्थागत भ्रष्टाचार भएको पुष्टि गर्नुभएको थियो । त्यसैगरी स्थानीय तहको नेतृत्व पनि प्रत्यक्ष अप्रत्यक्ष निर्माण व्यवसायीको काम गरेर संस्थागत भ्रष्टाचार गरेको आरोप लगाउनु भएको थियो ।