
दमौली/निजी विद्यालयले नगर शिक्षा नियमावली अनुसार दश प्रतिशत विद्यार्थीलाई छात्रबृत्ति वितरणमा उदासिन रहेको गुनासो बढि रहेका बेला व्यास नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रका निजी विद्यालयले कक्षा दशसम्म वितरण गरिएको छात्रबृत्तिको विवरण माग गरेको छ । तोकिएको समयभित्र छात्रवृत्ति वितरणको विवरण नबुझाउने निजी विद्यालयको कारबाही गर्ने व्यास नगरपालिकाले जनाएको छ । व्यास नगरपालिकाको शिक्षा शाखाले कक्षा १० सम्मका विद्यार्थीलाई शैक्षिक सत्र २०७९ मा भर्ना भएकालााई गरिएको छात्रवृत्ति वितरणको विवरण असार ७ गतेभित्र पेस गर्न सूचित गरेको थियो ।
हाल सम्म निजी क्षेत्रका आठ विद्यालयले मात्र छात्रबृत्ति वितरणको विवरण पेश गरेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । व्यास नगरपालिका भित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनु पर्ने अधिकारको बारेमा व्यास नगर सम्वेदनशिल रहेको नगरप्रमुख बैकुण्ठ न्यौपानेको भनाइ छ । नगरप्रमुख न्यौपानेले विवरण पेश नगर्ने विद्यालयलाई पहिलो चरणमा लिखित स्पष्टीकरण माग गरिने बताउनु भयो । छात्रवृत्ति वितरणलाई लाभग्राहीसम्म पु¥याउन तथा पारदर्शी गराउन साथै अनुगमनकारी भूमिका निर्वाह गर्न पनि विवरण माग परेको नगरपालिकाले स्पष्ट पारेको छ ।
पहिलो चरणमा हामीले पुनः पत्र पठाई विवरण माग गरेका छौं, विवरण नपठाए कारबाहीको प्रक्रिया अगाडी बढाउने सोंचमा नगरपालिका रहेको छ ।
व्यास नगरपालिका भित्र कुल ४५ वटा निजि विद्यालयहरु रहेका छन् । नगर शिक्षा नियमावली २०७६ को परिच्छेद १० मा निजी विद्यालयमा अध्ययनरत १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ । नगरपालिकाले जेठ ३२ गते छात्रवृत्ति वितरणका लागि विद्यालयहरूलाई परिपत्र गरेको थियो । कक्षा ११–१२ सहित उच्चशिक्षामा शिक्षा नियमावली अनुसार स्कुल, क्याम्पसले उक्त छात्रवृत्ति उपलब्ध गराउनुपर्छ ।
शिक्षा मन्त्रालयले समेत नियमित अनुगमन नियमन गरेर कानुनी प्रावधान कार्यान्वयनमा ल्याउन सकेको छैन । पछिल्लो समय विद्यालय शिक्षा स्थानीय तहको अधिकार भन्दै शिक्षा मन्त्रालय पन्छिने गरेको छ । विश्वविद्यालयले पनि निजी क्याम्पसमा त्यसको कार्यान्वयन गराउन सकेका छैनन् ।
नगरपालिकाले शिक्षा क्षेत्रमा मात्र नभई स्वास्थ्य क्षेत्रको सुधारको लागि प्रक्रिया अगाडी थालेको छ । नगरपालिकाले व्यास नगर भित्र रहका निजि अस्पतालहरुको अनुगमन समेत गर्ने भएको छ । निजि अस्पताल तथा स्वास्थ्य संस्थाहरुले दिने सेवा र प्रयोगशालाका प्रति गुनासो आउन थालेपछि नगरपालिकाले अनुगमन गर्ने तयारी गरेको हो । नगरप्रमुख न्यौपानेका अनुसार नविकरण,दर्ता नगरी स्वास्थ्य संस्था सञ्चालन गरिएको भन्ने गुनासो आएसी जिल्ला प्रशासन कार्यालय तनहँुको सहयोगमा बुधबार देखि शुक्रबार सम्म अनुगमन गर्ने भएको हो । त्यस्तै नगरपालिकाले नगरभित्र रहेका सहकारीहरुको अनुगमन पनि गर्न थालेको छ । नगरभित्र रहेका विभिन्न सहकारीहरुलाई पारदर्शी गराउन अनुगमन थालेको नगरप्रमुख न्यौपानेले बताए । नगरभित्र सञ्चालित रहेका ८४ वटा सहकारी अनुगमन गर्दा धेरै जसो सहकारीले प्रतिवेदन तयार नगरको, सेयर सदस्य भन्दा बाहिरका व्यक्ति सँग कारोबार गरेको फेला परेको र सुधार गर्न निर्देशन दिएको उनले बताए ।