
अङ्ग्रेजी महिना अगस्टको ९ तारिखलाई विश्वभर, विश्व आदिवासी दिवसको रुपमा मनाईन्छ । नेपालमा पनि यो दिनलाई विभिन्न कार्यक्रमहरु गरी बडो धुमधाम र भव्यताका साथ मनाइन्छ । यो वर्षको विश्व आदिवासी दिवस दुई दिन अगाडी अर्थात् नेपाली मिति अनुसार साउन २४ गते विभिन्न कार्यक्रमहरु गरी नेपालमा पनि मनाईयो । आदिवासी जनजातिहरुको बाहुल्यता रहेको नेपाल जस्तो देशको लागि यो दिनले विशेष महत्व राख्छ । झन् आदिवासी जनजातिहरुको हकहित र अधिकार अनि उनिहरुको संस्कृतिको संरक्षणको आवाजहरु उठिरहेको पछिल्लो समयमा यो दिनको महत्व त हुने नै भयो ।
विश्वको भूगोलमा, विभिन्न देशहरुमा हजारौं थरीका आदिवासी जनजातिहरुको बसोबास रहेको छ । उनिहरुको आ–आफ्नै भाषा, संस्कृति भेषभुषा परम्परा र मूल्य मान्यताहरु छन् । विश्वका कैयौ आदिवासी जनजातीहरुको संस्कृति र परम्पराहरुको बारेमा पढ्दा, सुन्दा हामीलाई बडो अचम्म लाग्छ । सायद कतिपय अवस्थामा हामीलाई यस्तो पनि हुन्छ होला र ? भन्ने पनि लाग्न सक्छ । हुनसक्छ– नेपाली आदिवासी जनजातिहरुको संस्कृति र परम्पराको बारेमा पढ्दा सुन्दा अरुलाई पनि अनौठो लाग्दो हो ।
जे जे भएपनि विश्वभरी रहेका आदिवासी जनजातिहरुको परम्परागत संस्कृति र मूल्य मान्यताको आफ्नै महत्व छ । ती सबै खाले जनजातीहरुको संस्कृति र परम्पराको सम्मिश्रणबाटनै सुन्दर मानव सभ्यताको विकास भएको हो । त्यसकारण आदिवासी जनजातिहरुको संस्कृतिको महत्व आजको दिनमा जति छ, भोली पनि त्यति नै हुनेछ, सायद अझ बढि होला । तसर्थ आदिवासी जनजातिहरुको संरक्षण र संवद्र्धन सम्पूर्ण मानवजातीको हितको दृष्टिकोणले पनि आवश्यक छ । यहि आवश्यकतालाई मध्यनजरगर्दै विश्वभरी छरिएर रहेका थरिथरिका आदिवासी जनजातिहरुको संरक्षण र संवद्र्धन गर्ने हेतुले विश्व आदिवासी दिवस मनाउने चलनको शुरुवात भयो । जसको २८ औं संस्करण २०२२ अगष्ट ९, नेपाली मिति अनुसार २०७९ साउन २४ गते मनाईयो ।
हरेक वर्ष विश्व आदिवासी दिवस एउटा आदर्श नाराको साथ मनाईन्छ । यस पटकको विश्व आदिवासी दिवसको नाराको नेपाली रुपान्तरण यस्तो हुन्छ,‘परम्परागत ज्ञानको संरक्षण र हस्तान्तरणमा आदिवासी जनजाति महिलाको भूमिका ।’ यो वर्षको मात्र होइन हरेक वर्षका नाराहरु यस्तै आदर्श र उत्कृष्ठ हुन्छन् । तर पङ्तिकारको बुझाई र ठम्याई के छ भने अगष्ट ९ ले वास्तवमै विश्वभरी छरिएर रहेका आदिवासी जनजातिहरुको संरक्षण र संवद्र्धनमा खासै टेवा पु¥याउन सकेको छैन । विश्व आदिवासी दिवस आदर्श नाराहरुमा मात्रै सिमित भएको छ ।
विश्वभरीका आदिवासी जनजातिहरुको बारेमा पङ्तिकारको ज्ञानको दायराले भ्याउँदैन । त्यसकारण त्यति वृहत हुन चाहिन । नेपालकै आदिवासी जनजातिहरुमा पनि, मगर समुदायको बारेमा अन्य समुदायको भन्दा केहि बढि कुरा थाहा भएकोले यहि वरिपरि नै आलेखलाई सिमिति गराउन चाहन्छु ।
यसवर्षको नारा सुन्दा राम्रो लाग्ने मात्र होइन, वास्तवमै मानव मात्रको हितको लागि आवश्यक पनि छ । विज्ञानले प्रगति गरेर नयाँ भन्दा नयाँ कुराहरुको आविष्कार गरे पनि परम्वरागत ज्ञान र सीपको महत्व कहिल्यै घट्दैन । किनभने एकातर्फ विज्ञानले गर्ने प्रगतिको आधार पनि परम्परागत ज्ञान र सीप नै हो अर्कोतर्फ यी ज्ञान र सीपहरु ती समयमा जीवनयापन गर्नको लागि विकास गरिएको हो । जतिखेर आजको जस्तो सेवा सुविधाहरु थिएन । भविष्यमा त्यस्तो त होला नहोला तर मानिसले विकास विकास भन्दै जाँदा चरम बिन्दुमा पुगेर विनाश भयो र हामी हिजोकै दिनमा फर्कनु प¥यो भने यी नै परम्परागत ज्ञान र सीपहरु नै हाम्रो जीउने आधार हुनेछन् । यिनै परम्परागत ज्ञान र सीमा पोख्त हुन्छन् आदिवासी जनजाती महिलाहरु । चाहे त्यो घरायसी कामकाजमा आवश्यक पर्ने सामाग्रीको निर्माण गर्ने कुरा होस्, चाहे वनको कुन जरामुराले के व्यथा ठीक पार्छ भन्ने ज्ञानको कुरा होस् । त्यसकारण परम्परागत ज्ञान र सीपको पुस्तान्तरणमा आदिवासी महिलाहरुको ठूलो भूमिका रहेको हुन्छ । तर विडम्बनाको कुरा चाही के हो भने वर्तमान समयमा ती ज्ञान र सीपहरुको नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन । यो एकदमै चिन्ताको विषय हो ।
परम्परागत ज्ञान र सीपहरुको नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु, संरक्षण हुन नसक्नुमा विशेषगरी दुई पक्षको दोष देखिन्छ । पहिलो राज्य, दोस्रो स्वयम आदिवासी जनजाती समुदाय । आदिवासी जनजाती समुदायसंग रहेको ज्ञान र सीपको महत्व राज्यले बुझ्न नसक्नु र त्यसको संरक्षणमा चासो नदेखाउनु, बडो दुःखद कुरा हो । एउटा सानो उदाहरण हेरौं बेलाबेला प्रहरीहरुले लोकल रक्सी बरामद गरी नष्ट गरेको खबरहरु आईरहन्छ । रक्सी साँस्कृतिक रुपले मगर, गुरुङ्ख, नेवार लगायतका अधिकाँश नेपाली जनजातीहरुको अतिआवश्यक र अनिवार्य पेय पदार्थ हो । एकै बोतलको हजारौ हजारौ हजार पर्ने केमिलकल मिसाइएको रक्सीहरु खुलेआम बेच्न पाईन्छ । तर बनको जडिबुटीहरुबाट मर्चा राखेर कोदो, गहूँ, मकैबाट बनाईने विसुद्ध प्राङ्गारिक रक्सी बेच्न पाईदैन । केमिकल मिसाईएका पेय पदार्थहरु एक से बडकर एक बजारमा किन्न बेच्न पाईन्छ । तर जडिबुटी मिसाएर बनाईने रक्सी गैरकानुनी भैदिन्छ । यदि ट्याक्सकै कुरा हो भने लोकल रक्सीलाई पनि करको दायरामा ल्याउन राज्यले सक्दछ । स्वास्थ्यको कुरा हो भने त्यसको निर्माण पक्रियामा मापदण्ड लगाउन सकिन्छ । तर राज्यले त्यो झन्झट गर्नुको साटो लोकल उत्पादनलाई निरुत्साहित गरेर आयातित सामानको प्रयोगमा उत्प्रेरित गर्दछ । बडो हाँसो लाग्दो कुरा चाही के भने नेपाली मगर समुदायको घरघरमा बन्ने जाँडलाई कोरियन कम्पनीले छ्याङ्ग नाम दिएर ब्राण्ड बनाएर नेपाली बजारमा पठाउँछन् । हाम्रै यहाँको स्थानीय उत्पादनलाई एउटा विदेशी कम्पनीले ब्राण्ड बनाएर हामीलाई नै बेच्छ, जाँड रक्सी मादक पेय पदार्थ अन्तरगत पर्ने भएर यसको वकालत गर्दा अनौठो लाग्ला तर परम्परागत ज्ञान माथि राज्यको हस्तक्षेप र संरक्षणमा चासो नदेखाउनुको यो एउटा राम्रो उदाहरण हो ।
आदिवासी जनजाती समुदायको परम्पारगत ज्ञान र सीपको संरक्षण हुन नसक्नुमा राज्य जति जिम्मेवार छ, त्यति नै जिम्मेवार स्वयम आदिवासी जनजाती समुदाय पनि छ । आधुनिक बन्ने नाउँमा स्वयम आदिवासी जनजाती समुदायले नै आफ्नो भाषा संस्कृति र परम्पराहरु विर्सिदै र छोड्दै गईरहेका छन् । सुन्दा नमिठो लाग्छ, तर यो यथार्थ हो । हामी छ सात बर्षको बच्चा हुँदासम्म खोकी लाग्दा कुन जरामुरा खाने, चिसो लाग्दा के गर्ने, घाम गडे, आगो गडे के गर्ने, हाम्रो आमाहरुलाई कण्ठ हुन्थ्यो तर अहिलेका पछिल्लो पुस्तालाई यो कुराहरु थाहै छैन भन्दा पनि हुन्छ ।
बच्चालाई चिल्लो गडे, खोकी लागे चिल्लो बादलपाते लहराको रस पिलाउँदा च्वाट्टै हुन्छ भन्ने कुरा अहिले धेरैलाई थाहा छैन । बच्चा या बयस्क दुवैलाई घाम गड्दा, आगो गड्दा, घाम पानी खेलेर झ्वालो हुँदा जिम्मू वावरीको पानीमा घैयाको खट्टे मिसाएर, अगरासको कोईला झ्वाई पारी खानु पर्दछ भनेर सुनाउँदा अहिले कथा भने जस्तो हुन्छ ।
मकैको खोस्टाबाट बन्ने चकटी, परालबाट बनाईने ठेउका, गुन्द्री दैनिक उपभोगको सामानबाट सजावटको सामाग्रीमा रुपान्तरित भै सके । छालालाई राम्रो बनाउँछ भनेर बजारमा एलोभेरा जुस खोज्दै हिड्ने युवा जमातलाई एलोभेरा भनेको हाम्रै घरआँगनमा हुने घ्यूकुमारी हो भन्नेसम्म थाहा छैन । रायोको साग र मूलाको पातबाट गुन्द्रुक बन्दछ, कर्कलाको पातको छिकुनी बन्छ भनेर कमैलाई थाहा होला । बनाउने तरिका त झन एकादेशको कथै भै हाल्यो । त्यसैले त हामी गुन्द्रुक पनि चिनबाट आयात गर्दछौं । मास र कर्कलाको मस्यौरा बनाउन मानिसले भुलिसके र त हामी फ्याक्ट्रीमा बनेको स्वायविन खान्छौं । तीलको पिनाको अचार पनि बन्छ र कपालको लागि तोरीको पिनाले नुहाउनु भन्दा उत्तम केही हुँदैन भनेर न पहिलो पुस्ताले सिकाए । न पछिल्लो पुस्ताले सिक्न चाहे । त्यसैले त बजारमा थरिथरीका ब्राण्डवाला स्याम्फूहरुको विगविगी छ । डोको डालोको ठाउँमा अब प्लाष्टिक र टिनका डब्बाहरुले लिई सके । अहिलेको पुस्ताले दुवाली थुनेर माछा मार्न जान्दैनन् र त हप्तौं बरफमा सडाएर राखेको माछा किनेर खान्छन् ।
यि त केही उदाहरणहरु मात्र भए । हाम्रो दैनिक जीवनमा आवश्यक पर्ने, स्वस्थ्य जीवन यापनमा मद्दत गर्ने यस्ता धेरै परम्परागत ज्ञानहरु पछिल्लो समय लोप हुँदै गईरहेका छन् । जस्ले गर्दा एकातर्फ हाम्रो जीवन अस्वस्थकर बन्दै गईरहेको छ भने अर्को तर्फ हामी दिनप्रति परनिर्भर हुँदै गैरहेका छौं । त्यसकारण परम्पारगत ज्ञान र सीपको महत्व छ भनेर नारा लगाएर भाषण गरेर मात्र हुँदैन । त्यसको दैनिक प्रयोग र संरक्षणमा जोड दिनु पनि उत्तिकै आवश्यक छ ।
पछिल्लो पुस्ताहरुलाई ती कुराहरुको महत्व बुझाएर सिक्न उत्प्रेरित गराउनु पर्दछ भने अघिल्लो पुस्ता पनि सिकाउन अग्रसर हुनु पर्दछ । तबमात्र बर्षैपिच्छे रचिने यी आर्दश नाराहरुले सार्थकता प्राप्त गर्दछन् ।
अन्तमा २८ औं विश्व आदिवासी दिवसको सबैमा शुभकामना ।