नयाँ वर्ष २०८० हाम्रो संघारमा आइपुगेको छ । भोलिबाट हाम्रो भित्तामा रहेका क्यालेण्डरहरु फेरिने छन् र विसं २०८० लेखिएका क्यालेण्डर झुण्डिने छन् । बालबालिकाहरु दशैं, तिहार जस्ता चाड पर्व कहिले परेछ भनेर हेर्ने गर्दछन् । राशीमा विश्वास गर्नेहरु यो वर्ष मेरा लागि कस्तो रहेछ भनेर क्यालेण्डरका पाना पल्टाउने गर्दछन् । यसो भनौं आफ्नो रुचि अनुसारका विषयको खोजी क्यालेण्डरमा सुरु हुन्छ ।
हरेक वर्ष नयाँ वर्ष प्रवेश गर्दैगर्दा हामी मध्ये धेरैले नयाँ प्रतिवद्धता जनाएका हुन्छौं । हाम्रो राजनैतिक नेतृत्वले यो वर्ष उपलब्धी पूर्ण हुने आश्वासन नागरिकलाई बाँड्छ । चमत्कारपूर्ण ढंगले गरिबी, अशिक्षा, असमानता घटेर जाने भाषण नयाँ वर्षको अवसर पारेर नेताहरुले गर्ने गर्दछन् । हामी आ–आफ्नो राजनैतिक आस्थाका आधारमा नेताहरुको हो मा हो मिलाउँछौं, ताली पिट्छौं, उत्साही हुन्छौं । हामीलाई लाग्छ, अब त हाम्रो नेतृत्व साँच्चै हाम्रा दुःख सुखका बारेमा सोच्ने भएछ ।
तर दुर्भाग्य जनआकांक्षाको सम्बोधन, देशबाट गरिबी, अशिक्षा, भोक, असमानता हटाउने भन्दा सत्तालिप्सा र व्यक्तिगत स्वार्थमा हाम्रा नेताहरु रमाईरहेका छन्, रमाईरहेका छन् । पञ्चायतले जनताको जीवनस्तर उकास्न सकेन भनेर व्यवस्थासंगै अवस्था फेर्न आन्दोलन गर्नेहरु मध्ये धेरैको उमेर ढल्कन लागिसक्यो । व्यवस्था फेरीयो । प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्र आयो तर आमनागरिकको जीवनस्तरमा खासै सुधार आएको छैन । बरु धनी र गरिब बीचको खाडल दिनानुदिन गहिरो हुँदै गएको छ । हुनेखानेहरुका लागि शिक्षा, स्वास्थ्य लगाएत सबै क्षेत्रमा पहुँच छ तर हुँदा खानेहरु जहाँको त्यही छन् । उनीहरुको जीवनमा कुनैपनि तन्त्रले भिन्नता ल्याएको छैन ।
नयाँ वर्ष २०८० ले हाम्रा नेताहरुलाई जनअपेक्षा अनुकुल काम गर्ने प्रेरणा प्रदान गरोस् । व्यवस्था फेरीयो अब हाम्रो अवस्था फेरीयोस् । हामी हाम्रा प्रतिवद्धता पूरा गर्न सकौं । सम्पूर्ण लेखक, पाठक, विज्ञापनदाता, शुभचिन्तकमा नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभ कामना ।
नयाँ वर्षको शुभकामना- सम्पादकीय
previous post