पन्ध्र असार, गाउँ घरको भाषामा असार महिना भनेको मानो खाएर मुरी उब्जाउने बेला । नेपालमा विगत १८ वर्ष देखि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ । दिवसको अवसर पारेर प्रकाशित तथ्याङ्क अनुसार नेपालले यस आर्थिक वर्र्षको ११ महिनामा झण्डै ४८ अर्ब रुपैयाँको चामल आयात गरेको छ । ६० प्रतिशत भन्दा बढी जनसंख्या कृषि पेसामा रहेको सानो भूगोल भएको हाम्रो देशले मासिक झण्डै ४ अर्बको चामल आयात गर्नपर्नु पक्कै सुखद कुरा होइन् ।
हरेक जसो सरकारले वर्षेनी किसानलाई अनुदान दिने गरेका त छन् तर त्यो अनुदान वास्तविक किसानसम्म नपुगेको कारण पनि यस्तो अवस्था आएको हो । यसका साथै समयमा मल, बीउ उपलब्ध नहुने रोगका कारण पनि कृषिप्रधान हाम्रो देशको आयातको अधिक अंश चामल हुने गरेको हो । उत्पादनमा बृद्धि, आउँछ समृद्धि भन्ने नारा बनाएर मात्र हुँदैन किसानलाई समयमा मल तथा बीउ उपलब्ध गराउने र उत्पादित वस्तुको सहज बजारको व्यवस्था गर्ने काम राज्यले गर्न नसक्दासम्म चामल आयातको नियती हामीले भोगी रहनु पर्छ ।
गत वर्ष १५ असारको अवसरमा सामाजिक सञ्जालमा घाँटीमा धानको बीउको माला लगाएर मपाईँ भावमा उभिएका अनि भव्य महलभित्र गमलामा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका दलका नेतााहरुका तस्विरहरु सार्वजनिक भए । २०६१ मंसिर २९ मा असार १५ लाई राष्ट्रिय धान दिवस मनाउने निर्णय गर्दैगर्दा शायद यस्ता निर्लज्ज तस्विर पोष्ट्याउने उद्देश्य राखिएको थिएन् । तर १५ असारको महत्व आत्मसाथ गर्न नसकेका र मन्त्री बनेपछि आफुलाई आमनागरिक भन्दा अलग र माथिल्लो दर्जाको नागरिक सम्झने हाम्रा नेतााहरुको सोचका कारण त्यस्ता दृश्यहरु नेपालीले देख्न अभिषप्त
भए । के त्यस्तै कृयाकलापले धान उत्पादनमा बृद्धि भएर आत्म निर्भरता र समृद्धि प्राप्त हुन्छ ?
‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ १८औ राष्ट्रिय धान दिवस यस वर्ष मनाइयो । दिवसको यो नारालाई आकार दिन सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नु जरुरी छ । धान दिवसको शुभकामना ।
धान दिवसको अर्थ
previous post