२०७२ साल बैशाख १२ गते शनिबार, नेपाली इतिहासमा एउटा कहाली लाग्दो दिन । गोरखा र सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पले त्यो दिन नेपाललाई तहसनहस बनायो । हजारौं नेपालीले अकालमै मृत्युवरण गर्नु प¥यो, कैयौं घरवार विहिन भए, अरबौंको क्षति हुने गरेर भौतिक संरचनाहरु नष्ट भए, काठमाण्डौं उपत्यका लगाएत देशको अन्य भागमा सदियौंदेखि नेपालको इतिहास बोकेर मान, सम्मान र गौरबले उभिइरहेका पुरातात्विक संरचनाहरु क्षणभरमै गल्र्याम गुर्लुम भएर खण्डहर बने । त्यसरी पलभरमै सम्पदाबाट माटो हुने नियति भोग्नु परेका सम्पदाहरु मध्ये एक थियो धरहरा, जो सदियौं देखि नेपालको राजनीतिक इतिहासलाई आफ्नो छातीमा सजाएर गर्वका साथ उपत्यकालाई नियालिरहन्थ्यो ।
धरहरा अर्थात भीमसेन स्तम्भ जसलाई नेपालको प्रथम प्रधानमन्त्री भीमसेन थापाले बनाउन लगाएका थिए । नेपालको धेरै इतिहास र परिवर्तनको साक्षी थियो । ९० सालको भूकम्पलाई पनि जसोतसो झेलेर अडिएको धरहराले ०७२ को भूकम्पलाई थेग्न सकेन । सायद काठमाण्डौंको मुटुमा उभिएर सिंहदरबार भित्रको फोहोरी खेल हेर्दा हेर्दै धरहरा पनि थाकेको हुँदो हो, शायद नेपाली राजनीतिको प्रदुषणले धरहराको जग पनि माक्किएको हुँदो हो । र त ९० सालको भुँईचालो सहेको धरहराले ०७२ को भूकम्प थेग्न सकेन र आत्मसमर्पण ग¥यो ।
०७२ वैशाख १२ मा ढलेको धरहरालाई( जो नेपालको राष्ट्रिय सम्पदाहरुमध्ये एक थियो । ) फेरी ठडिन ठ्याक्कै ६ वर्ष लाग्यो । ६ वर्षपछि धरहरा आफ्नो नयाँ स्वरुपमा पुरानै ठाउँमा उभिएको छ, काठमाण्डौंलाई नियाल्न । प्रधानमन्त्री केपी ओलीले कोरोनाको कहरमा पनि बडो तामझामका साथ सयौं मानिसको भेला गराएर पुनः निर्मित धरहराको उद्घाटन गरिसकेका छन् । उनै केपी ओली जसको सरकारले कोरोना नियन्त्रण गर्न २५ जना भन्दा बढी जमघट नहुन फर्मान जारी गरेको छ । सायद उनी प्रधानमन्त्री भएको भएर होला २५ जना भन्दा बढी भेला गर्न, रात्री भोजको आयोजना गर्न उनलाई भने छुट रहेछ । यतिबेला प्रधानमन्त्री ओलीलाई मैले धरहरा बनाएँ भनेर धाक लगाउँदैमा फुर्सद छैन । निशन्देह धरहरा केपी ओलीको प्रधानमन्त्रीत्व कालमै ठडिएको हो । यसको जस उनले पाउनै पर्छ तर प्रधानमन्त्रीले मात्र बनाएको धरहरा होइन यो । यसमा आफ्नो गाँस काटेर राष्ट्रिय धरोहर उठाउन योगदान गर्ने नेपालीको रगत पसिना पनि मिसिएको छ । खैर धरहरा बनाउन कस–कसले योगदान गरे, क–कसले गरेनन्, धरहरा उभिनुको जस कसले लिने, धरहरा उभिन किन ६÷६ वर्ष लाग्यो, धरहरा उभिँदै गर्दा काममा आर्थिक पारदर्शिता भयो भएन यो बेग्लै पाटोको कुरा
भयो । जे होस् खुसीको कुरा चाहिँ के हो भने धरहरा
उठ्यो । फेरी एकपटक मानिसहरुले काठमाण्डौंको मुटुमा उभिएर उपत्यका नियाल्न पाउने भए । धरहरा त उठ्यो तर जिज्ञासा र पर्खाइको कुरा के बाँकी बस्यो भने धरहराको आँगनमा रहेको सिहदरबार कहिले उठ्ला, समग्र नेपाल कहिले उठ्ला ?
पहिलो पटक मानव सभ्यता माथि नै संकट ल्याउँदै विश्व मानव समुदायलाई आक्रान्त बनाएपछि फेरी अर्काे पटक कोरोनाले विश्वलाई त्राही त्राही बनाउँदै छ । हाम्रो छिमेकी मुलुक भारतकै कुरा गर्ने हो भने अवस्था सोचेभन्दा धेरै भयावह छ । नेपालमै पनि राजधानी लगाएतका ठूला सहरहरुमा कोरोनाको कहर छाएको छ । ठूला भनिएका अस्पतालहरुमा समेत बेड खाली नभएका खबरहरु सञ्चार माध्यमहरुमा आइरहेका छन् । तर यसको नियन्त्रणको लागि सरकारले कुनै ठोस कदम चाल्न सकेको छैन । कोरोनाको कहर नियन्त्रणको लागि सरकारले अहिलेको अवस्थामा गरेको भनेको शैक्षिक संस्थाहरु बन्द मात्र हो । के यति प्रयास काफी छ यो महामारी नियन्त्रणका लागि ? सरकारका मन्त्रीहरु जनस्वास्थ्य भन्दा अर्थतन्त्र ठूलो कुरा हो भन्दै भाषण छाँटिरहेका छन् । जनस्वास्थ्य प्रतिको यो भन्दा असंवेदनहिनता अन्त खोजेर पाईँदैन शायद । स्वास्थ्य सेवाको आपतकालिन व्यवस्था गर्नुको साटो सरकार प्रमुखहरु अझैपनि कुनै समय सहयात्री बनिटोपलिएकाहरुसंग बाझाबाझ र दोषादोष गर्दैमा ठिक्क छन् । सरकार त निकम्मा भइनै हाल्यो । हामी नागरिक पनि कम बेबकुफ भने छैनौं । अस्ति धरहराको उद्घाटन भएकै दिनको कुरा गरौं, यो महामारीको अवस्थामा पनि मानिसको कति भिड ? के ति मानिसहरुले धरहरा देखेकै थिएनन् ? के भोलिको दिनमा धरहरा चढ्न पाईँदैनथ्यो र ? बिना मास्क, विना सुरक्षा सामग्रि त्यत्रो भिड गरेर रोइलो चाहिँ किन गर्नुपर्ने हामीलाई ? हामी खाली सरकारले केही गरेन भनेर दोष मात्र दिइरहन्छौं । कतिपय अवस्थामा त हामी नागरिकले पनि आफ्नो जिम्मेबारी महसुस गर्नुपर्छ होला, होइन र ?
कुनै व्यक्ति विशेषलाई तारिफ गरेर ठूलो बनाउने चाहना होइन तर पनि यथार्थ के हो भने हिजो कुलमान घिसिङको कार्यकालमा नेपालबाट लोडसेडिङ एकादेशको कथा जस्तै भैसकेको थियो । घाटामा चलिरहेको नेपाल विद्युत प्राधिकरण नाफामा गएको
थियो । त्यही कुरामा पनि लोडसेडिङ कुलमानले हटाएको होइन, प्रधानमन्त्री ओलीले हटाएका हुन् भनेर ओलीलाई जसको पगरी गुथाउन चाहनेहरुको पनि राम्रै भिड देखियो । आज फेरी लोडसेडिङको समस्या बल्झिएको छ । कुलमानलाई फेरी अर्काे कार्यकाल काम गर्न देऊ भन्दा सरकारले कानमा तेल हालेर बस्यो । अहिले नदीमा पानी नभएकाले लोडसेडिङ भएको हो भन्दैछन्, प्राधिकरणका प्रमुख भनाउँदाहरु । हिजोसम्म त्यही पानीले २४सै घण्टा बिजुली पुग्ने आज घिसिङको ठाउँमा शाक्य आउनसाथ नदीमा पानी छैन
रे ? कस्तो हाँसो उठ्दो कुरा । हिजो लोडसेडिङ कुलमानले होइन, केपीले गर्दा हटेको हो भन्ने हनुमानहरुलाई आज सोध्न मन लागेको छ, खोई आज दिनहुँ लोडसेडिङ भईराख्दा कहाँ छन् तिम्रा केपी बा ?
हिजो सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा जजसको नाम भ्रष्टाचारमा मुछिएको थियो तिनै हनुमानहरु आज प्रधानमन्त्रीको आर्शिवाद पाएर सार्वजनिक लेखा समिति (जसले भ्रष्टाचारको छानविन गर्ने अधिकार राख्छ । ) को सदस्यमा नियुक्त भएका छन् । कति निच र तल्लो स्तरमा पुगिसकेको छ हाम्रो राजनीति । कठै ।
यतिबेला नेपालमा पुनः चर्किरहेको कुरा हो एमसिसीको । हिजो जसले सम्झौता गरेको भएपनि आज एमसिसी नेपालको हितमा छैन भनेर यतिका सामाजिक अभियन्ता लगाएतले आवाज उठाउँदा उठाउँदै पनि सरकार प्रमुखहरु बरु व्यक्तिको विकल्प खोजिन्छ तर एमसिसी पास गराएरै छाडिन्छ भन्दै भाषण गर्छन् । यो दुइतिहाईको दम्भ हो या मैले जे गर्दापनि हुन्छ भन्ने घमण्ड । धर्मलाई अफिम मान्ने कम्युनिष्टहरु कोही पशुपतिमा सुनको जलहरी राख्छन् कोही धरहरामा शिवलिङ्ग स्थापना गर्छन् । कम्युनिष्टको आधारभूत सिद्धान्तबाटै विचलित हुने कस्तो कम्युनिज्म हो यो ? फरक खालको कम्युनिज्म हो कि एक वर्षपछि हुने चुनावको लागि मत आकर्षण गर्ने दाउपेच ? कुरा बुझ्नै गाह्रो ।
ठूला नेता भनाउँदाहरुको त जति कुरा गरेपनि कुरा गरी साध्य छैन, अर्काे तर्फ छोटे नेता भनाउँदाहरुको उस्तै ताण्डब । बीचमा जातभात, धर्म सम्प्रदायका कुरा निकालेर सानो समूहको ठूलो नेता हुन खोज्ने पलुवा नेताहरुपनि छ्यापछ्याप्ती देखिन थालेको छ । यस्ता विकृति र विसंगति देख्दा वैराग्य चलेर आउँछ । अनि सोध्न मन लाग्छ, आखिर कहिले उठ्छ नेपाल ? कहिले उठ्छौं हामी नेपाली ? कहिले सुन्छौं हामीले नेपाल आमाको चित्कार ?