सम्भवत भारतकै प्रमुख पर्यटकिय नगरी दार्जीलिङको जुलोजिकल पार्क खास व्यवस्थित लागेन, त्यहाँ रहेका जीवजनावरको बसाई व्यवस्थापन हेर्दा । हिमालयन माउन्टनियरिङ इन्स्टिच्यूट हाम्रो आकर्षणको केन्द्र थियो र हतारहतार सहकर्मी छविदीप र म त्यहाँ प्रवेश ग¥यौं । इस्टिच्युट भित्रका अधिकांश दृष्यहरु हाम्रालागि अखबारका विज्ञापन बने, जो हेरिए तर पढिएनन् । त्यहाँ संकलन गरिएका हिमाल आरोहणसंग सम्बन्धित वस्तुहरुलाई नजिकबाट नियाल्ने अझ भनौं मनपरेको कृतिलाई झै हेर्ने मन थियो, तर समय हाम्रो वशमा थिएन ।
सगरमाथाका प्रथम आरोही तेन्जिङनोर्गे शेर्पाले सगरमाथा आरोहणका क्रममा प्रयोग गरेका भनिएका ज्याकेट, पञ्जा, आइसएक्स जस्ता बस्तुहरु रुचि पूर्वक हे¥यौं । केही वस्तु आजभन्दा सात दशक अगाडि ( सन् १९५३) हिमाल आरोहणको क्रममा प्रयोग भएका भनेर विश्वास गर्न सकिने खालका देखिन्थे तर कति वस्तु भने पत्याईहाल्ने खालका थिएनन् । त्यही एक कुनामा तेन्जिङनोर्गे शेर्पा नेपाली सुपुत्र भएको प्रमाण सुरक्षित रहेछ । तर कुनामा राखिएको त्यो ताम्रपत्र देख्दा चुरोटको खोलको कुनामा मुस्किलले पढ्न सकिने अक्षरमा “धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ” भनेर लेखेको चेतनामूलक सन्देश जस्तो लाग्यो हामीलाई । भलै त्यो ताम्रपत्र पढेर हामी दुबैले गर्वले छाती फुलायौँ, “तेन्जिङ हाम्रा हुन्” । तर हाम्रो त्यो गर्वानुभूति धेरैबेर टिक्न पाएन,जब हामी बाहिर निस्कियौं र इन्स्टिच्युट भवनको सामुन्ने नोर्गेको समाधी भएठाउँ
पुग्यौं । क्रस खुकुरी माथि नेपालको झण्डा अंकित भादगाउँले टोपी लगाएर छाती चौडा बनाएर हिँडेका मेरा सहकर्मी छविको मन अझै अमिलियो शायद, समाधी
देखेर । संगै सर्वाेच्च शिखरको टुप्पोमा पुग्दासम्मको नेपाल आमाको सन्तान नोर्गेलाई भारतीय नागरिक हुनु पर्दाको पिडा सम्झेर अनि त्यो बहादुर नेपाल आमाको सन्तानलाई नेपाली भनेर पुकार्न नपाएको वर्तमान भोगेर । मैले मन बुझाएँ, भीमसेन थापा सेरिएर मर्नुपर्ने यो देशको एक नागरिक तेन्जिङले नागरिकता त्याग्नु के ठूलो कुरा भयो र ? नाम, दाम र सुखसयलका लागि नेपाली नागरिकता त्यागेर आफुलाई भारतीय नागरिक भन्न रुचाउने उदितनारायणहरु पनि त हाम्रो मै छन्, अर्काे मनले भन्यो । नोर्गे, इतिहासका भीमसेन थिए वा वर्तमानका उदित त्यो खुट्याउन सकेको छैन मैले ।
भारतीय सेनाका कार्यरत रहँदा जीवन गुमाएका नेपालीको सम्झनामा निर्मित पार्क, बतासे लुप अबको हाम्रो गन्तव्य थियो । सगरमाथा साथै दार्जीलिङ बजारको झण्डै सबै भागको दृष्यावलोकन गर्न सकिने रहेछ, लुपबाट । थोरै समय हामीले त्यहाँ वितायौं र बौद्ध गुम्बा छेउको बजारमा ऊनीका कपडा दार्जीलिङको चिनो स्वरुप किनेर पशुपति नगर फर्कियौं । अघिल्लो रातको वसाई चित्त बुझ्दो नभएकाले पशुपति नगरकै अर्काे होटलमा बास बस्यौं, भोली विहान कन्याम चिया बगान हेर्ने अनि त्यहाँबाट देखिने सूर्याेदयको सुन्दर दृष्य अवलोकन गर्ने कल्पनाका साथ । तर कल्पना गरेजस्तो जीवनमा कहाँ हुने रहेछ र ? फिक्कल नपुग्दै फ्यान बेल्टमा समस्या आएर गाडी रोकियो । छिट्टै समस्या समाधान नहुने बुझेपछि कतिपय साथीहरु जिपमा त म लगाएत केही साथीहरु हिंडेरै कन्याम तर्फ लाग्यौं । कन्याममा दार्जीलिङमा जस्तो चिया खुवाउने मानिस त भेटिएनन् नै कन्यामको चिया हो मिठो छ, एक प्याकेट त लैजानुस् भनेर हाम्रा अगाडि आउन पनि कोही भेटिएनन् । व्यापार प्रवद्र्धनमा हामी दार्जीलिङका जति चलाख नभएको हो कि शायद । फर्कने क्रममा पूर्वपश्चिम राजमार्गको छेउमा भएका बाजेको पेडा पसलमा पाइने पेडाको स्वादलिन छुटाउने कुरै भएन । ढल्केबरको रातको खाना विर्सन लाएक थियो । भोलीपल्ट विहान, चितवनको दासढुंगामा रहेको थकाली खाना घरको खाना भने मिठो लाग्यो ।
चौथादिन मध्यान्ह दमौली आइपुगेपछि हाम्रो दार्जीलिङ भ्रमणको बीट म¥यो । दुइ दशक अगाडी दार्जीलिङको भ्रमणका क्रममा नेपाली पर्यटक भएका कारण पाएको न्यानो आतिथ्य र अहिले? सम्झेर मन विचलित हुन भने छाडेको छैन । दुइ दशक अगाडि दार्जीलिङले म र मेरो समूहमा सहभागी साथीहरुप्रति गरेको व्यवहारका कारण हामी त्यसै त्यसै पुलकित भएका थियौं । अपार श्रद्धा थियो, नेपालीका प्रति । तर अहिले ? न त हाम्रो गाईडको रुपमा रहेकाले हाम्रा प्रति राम्रो व्यवहार प्रदर्शन गरे, न व्यापारीले । कतिपय सन्दर्भमा त नेपालीका प्रति घृणा भाव झल्किन्थ्यो । दार्जीलिङ अब पूरै व्यापारिक भएछ । यस्तै लाग्यो मलाई । तर ढंग नपुगेको व्यापारी । ग्राहक चिढ्याउने व्यापारी । ग्राहक चिढ्याउने व्यापारीको व्यापार कति टिक्छ, त्यो त समयले बताउला तर एउटा कुरा भन्ने मन लाग्यो, दार्जीलिङको मन अब रानी रहेनछ । पसलहरुमा लगाइएका साइनबोर्डहरु त नेपाली भाषामा थिए तर शायद मन अब नेपाली
थिएन । भाषा नेपाली बाल्थे, मुहार नेपालीको जस्तो लाग्थ्यो तर फेरिपनि मनभने नेपाली थिएन । साइनो थियो तर केबल पैसासंगको । नेपाली जस्तो देखिनु, एउटै भाषा बोल्नुले अब नेपाली पर्यटक र दार्जीलिङलाई जोडन सक्ने अवस्था
रहेनछ । आत्मियता बढाउने अवस्था पनि रहेनछ । हामी र दार्जीलिङका नेपाली भाषी बीचमा आत्मियता बढाउने कुरा केही भयो भने त्यो थियो पैसा ।
दार्जीलिङको अर्काे नाम, पहाडहरुकी रानी । तर नागरिकताले नेपाली हुन नपाए पनि मनले नेपाली भएको बुझाई बनाएर आएको थिएँ म, दुइदशक अगाडिको भ्रमणबाट । त्यतिबेला मनले मात्र होइन तनले पनि दार्जीलिङ रानी नै थियो । सडकमा अहिलेको जस्तो अव्यवस्था थिएन् । फोहर व्यवस्थापन चुस्त थियो । अव्यवस्थित वसोवासका कारण ,सांधुरा गल्लीहरुका कारण स्वच्छन्द पूर्वक सास फेर्नपनि नपाउने अवस्था रहेछ । त्यसैले भनेको तनले पनि रानी हुनुको सान गुमाउन थालेछ, दार्जीलिङले ।