विश्वको सर्वप्राचिन हिन्दु धर्मका अनुयायीहरुको महत्वपूर्ण पर्व हो, दशैं । यो समयमा नेपालमा विद्यालयहरु र अदालत घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म बन्द रहन्छन् भने अन्य सरकारी कार्यालय पनि फूलपाती अर्थात सप्तमकिो दिनदेखि विजया दशमीको पर्सीपल्टसम्म बन्द रहन्छन् । बालबालिकाले नयाँ पात्रो पाउनासाथ कहिले परेको होला भनेर सबैभन्दा पहिले हेरखोज गर्ने उत्साह र उमंगको पर्व पनि हो दशै ।
दशैं घरबाहिर देश वा विदेशमा रहेका परिवारका सदस्यहरुको जमघट हुने अवसर हो । खाए मकै नखाए भोकै हुनेहरुको परिवारमा पनि मिठो खानेकुरा पाक्ने अवसर हो अनि अधिकांश नेपालीको लागि नयाँ लुगाले आङ ढाक्ने अवसर हो । यतिमात्र होइन देशैंले अरु अनेकौं अवसरहरु लिएर आउँछ । गाउँ टोलमा यही समयमा सरसफाईको अभियान चल्छ । बाटो, कुवा, पँधेरो मर्मत र सरसफाई गर्ने अवसर पनि दशैले प्रदान गर्ने गरेको छ । यसो पनि भन्न मिल्यो यही समय पारेर हामी गाउँ टोल सफा गर्छौं । धारो, पंधेरो र बाटो सफा गर्न यही समयको प्रतिक्षा हामी गरिरहेका हुन्छौं । गाउँका घरहरु रातो माटो तथा कमेरोले लिपेर राम्रो बनाइएको हुन्छ । खुसी वा बाध्यताले गाउँ बाहिर रहेकाहरु गाउँ यही समयमा फर्कन्छन् र गाउँनै गुल्जार हुन्छ । गाउँको चमक नै भिन्नै हुन्छ यो बेला ।
रोटे पिङ, लिङ्गे पिङ अनि जाँते पिङमा गाउँका युवा र बालबालिका चिच्याउँदै रमाइरहेका दृष्य यही बेला देख्न पाईन्छ ।द्वेष, इष्र्या र रिस , अभाव, बेमेल सबैसबै भुलेर परस्पर रमाईरहेका मुहारहरु हेर्न यही दशैं कुर्नुपर्छ । आफुभन्दा ठूलाको हातबाट रातो तथा सेतो अक्षता निधारमा लगाएर आशिर्वाद लिदैं गरेको दृष्य अनि केटाकेटीहरु फलानो घरमा यति, अर्काे घरमा यति दक्षिणा पाएँ भनेर हिसाब गर्दै रमाउँदै दौडेको दृष्य पनि यही बेला देख्न पाईन्छ । यस्ता थुप्रै प्रीय र सम्भनामा सधैं रहने दृष्यहरुको चाँजोपाँजो दशैंले मिलाईदिने गरेको छ र त दशैं हाम्रालागि महत्वपूर्ण छ ।
दशैंको बेला हामी हिन्दु धर्मावलम्बीहरु शक्तिस्वरुपा नवदुर्गा भवानीको पुजा आराधना गर्ने गर्दछौं । पौराणिक कथा अनुसार नवदुर्गा भवानीले सत्ययुगमा महिषाशुर नाम भएको दानवको आतंकबाट मानव जगतलाइ मुक्ति दिलाएकी थिईन् । दुर्र्गा भवानीको हामीले विभिन्न नौ वटा रूपको पुजा आराधना गर्ने गर्दछौं । नवदुर्गामा क्रमशः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघण्टा, कुश्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री पर्दछन । शक्तिस्वरुपा नवदुर्गा भवानीका यी रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पुजा गर्ने गरिन्छ ।

नवरात्र पनि भनिने यो अवसरमा पहिलो दिन अर्थात घटस्थापनाको दिन सबैका घरघरमा शैलपुत्रीको पुजा आराधना
गरिन्छ । दाहिने हातमा त्रिशूल, देव्रे हातमा कमल, निधारमा अर्धचन्द्राकार चन्द्र भएकी हिमालय पुत्री आर्थत शैलपुत्रीको पुजा आराधना गर्नाले धन, धान्य, सैभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारको मनोकामना पूर्ण हुने मानिन्छ । सती, पार्वती, वृषारूढ़ा, हेमवती, भवानी आदि नामले पुकारिने यी देवी नन्दी(साँढे) मा सवारहुने विश्वास
गरिन्छ ।
भगवान शंकरलाई पतिको रूपमा पाउन कठिन तपस्या गरेका कारणले नवदुर्गाको दोश्रो अवतारलाई व्रह्मचारणी भनिएको हो र यी देवीको पुजा नवरात्रको दोस्रो दिन गर्ने गरिन्छ । यीनको भक्तिपूर्वक गरिने पुजा आराधनाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार तथा संयमको वृद्धि हुने तथा जस्तोसुकै परिस्थितिमा पनि मानिसको मन कर्तव्य पथबाट बिचलित नहुने र सदा सिद्धी तथा विजय प्राप्त हुने विश्वास रहेको छ ।
निधारमा घण्टीको जस्तै आकारको अर्धचन्द्र भएको कारणले चन्द्रघण्टा नामले पुकारिने यी भगवतीको पुजा आराधनाले कष्ट निवारण हुने, साधक सिंह जस्तै पराक्रमी तथा निर्भय हुने, तथा घण्टीको ध्वनिले साधकलाई प्रेतबाधाबाट रक्षा हुने पौराणिक मान्यता छ । निधारमा अर्धचन्द्राकार चन्द्र, स्वर्ण समान चम्किलो शरीर, दश हात भएकी, युद्धको लागि सदैव तयार रहने, सौम्य तथा शान्तिदायक शक्तिस्वरुपा सिंहलाई बहान बनाएकी देवी चन्द्रघण्टाको पुजा नवरात्रको तेस्रो दिन गरिन्छ ।
आदिस्वरुपा तथा आदिशक्ति नाम समेतले पुकारिने देवी कुष्माण्डाले सृष्टिको अस्तित्व नै नभएको समयमा ब्रह्माण्डको रचना गरेकी हुन भने सुर्यको समान कान्ति तथा चमक भएकी कुष्माण्डा देवीको आराधना गर्नाले आयु, यश, बल तथा आरोग्य को वृद्धि हुने विश्वास रहिआएको छ । आठ हात मध्ये एक हातमा अष्ट सिद्दी तथा नव निधि प्रदान गर्ने जपमाला, अन्य सात हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमलको फूल, अमृतपूर्ण कलश, चक्र, गदा लिएकी सिंहमा सवार हुने देवी कुष्माण्डाको पुजा आराधना नवरात्रको चौथो दिन श्रद्धाभक्ति पुर्वक गर्ने गरिन्छ ।
देवासुर संग्राममा देवताहरुका सेनापति रहेका स्कन्दकी माता अर्थात स्कन्द माताको पुजा नवरात्रको पाँचौ दिन गरिन्छ । भक्तिभावले स्कन्दमाताको उपासना गर्नाले भक्तको सम्पूर्ण इच्छा पूर्ण हुने, यस मृत्युलोकमा नी परम शान्ति तथा सुख प्राप्त हुने र मोक्षको द्वार खुल्ने विश्वास लिइन्छ । दाहिने तर्फ माथिल्लो हातले स्कन्दलाई काखमा राखेको, माथि उठेको तल्लो हातमा कमलको फूल, देब्रे तर्फ माथिल्लो हात वर मुद्रामा, माथि उठेको तल्लो हातमा कमलको फूल, कमलको फूलको आसन भएकी स्कन्द माता पनि सिंहमा सवार हुन्छिन् ।
नवरात्रको छैटौं दिन पुजा आराधना गरिने देवी हुन्, कात्यायनी । शक्तिस्वरुपा कात्यायनी भगवतीको भक्ति गर्नाले साधकलाई सरल तरिकाले अर्थ, धर्म, काम तथा मोक्ष प्राप्त हुने तथा यसै लोकमा अलौकिक तेज र प्रभावले युक्त हुने विश्वास गरिन्छ । महर्षि कात्यायनको पुत्रीका रुपमा जन्म लिएकीले कात्यायनी नामले पुकारीने यी देवीको स्वरुप चम्किलो एवं ज्योतिर्मय हुन्छ भने दाहिने तर्फ माथिल्लो हात अभय मुद्रामा, तल्लो हात वर मुद्रामा, देब्रे तर्फ माथिल्लो हातमा तरबार, तल्लो हातमा कमलको फूल रहेको हुन्छ । अन्य देवीको जस्तै यीनको पनि बाहन सिंह नै रहेको छ ।
ब्रह्मांड समान गोलाकार तीन नेत्र, स्वासबाट अग्नि निस्कने, दाहिने तर्फको माथिल्लो हात वर मुद्रामा, तल्लो हात अभय मुद्रामा तथा देब्रे तर्फको माथिल्लो हातमा फलामको हतियार, तल्लो हातमा खड्ग धारण गर्ने हेर्दै डरलाग्दी देवी कालरात्रीको पुजा फूलपाती अर्थात सप्तमीको रातमा गरिन्छ ।
कालरात्रीको स्वरूप भयानक भए पानी अत्यन्त शुभ फल दिने देवीको रुपमा लिइन्छ । कालरात्रीको स्वरूपको प्रभावले सम्पूर्ण राक्षस, भूत, प्रेत, पिसाच तथा नकारात्मक उर्जा नाश हुने विश्वास लिइन्छ । घना अन्धकार समान भयानक कालो स्वरूप भएकी देवी कालरात्रीको बहान भने गधा रहेको छ । कालरात्रीको पुजा आराधनाका साथ हामीले यस रात देवीको मन्दिरमा फूलपाती भित्र्याउने विशेष उत्सव समेत गर्ने गर्दछौं ।
आश्विन शुक्ल अष्टमीको दिन पुजा आराधना गरिने देवी हुन्, महागौरी । महागौरीको उपासना गर्नाले उपासकको सबै खाले पाप तथा कुकर्म नाश भएर जाने विश्वास लिइन्छ । महागौरीको कृपाले भक्तले भविष्यमा सन्ताप, दुःख भोग्नु पर्दैन, उ सबै प्रकारले पवित्र बन्छ र अक्षय पुण्यले युक्त हुन्छ भन्ने मानिन्छ । भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्नको लागि महागौरीले कठोर तपस्या गरेकी थिइन् । सोही कारणले उनको शरीर कालो भयो । तर तपस्या देखि प्रसन्न भएर भगवान शिवले उनको शरीर गङ्गाको पवित्र जलले धोएर कान्तिमय बनाई दिनु भयो भने वर्ण पनि गोरो भयो । दाहिने तर्फ तल्लो हातमा त्रिशुल, माथिल्लो हात अभय मुद्रामा तथा देब्रे तर्फ तल्लो हात वर मुद्रामा, माथिल्लो हातमा डमरु लिएकी अन्नपूर्णा, श्वेताम्बरधरा, वृषारूढ़ा, ऐश्वर्य प्रदायिनी, चैतन्यमयी आदि नामले पुकारीने महागौरीको बहान साँढे हो । नवरात्रको अन्तिम दिन सादर आराधना गरिरने देवीको नाम हो, सिद्धिदात्री । यी सम्पूर्ण सिद्धी प्रदान गर्ने देवी हुन् । यी देवीको पूजा गर्नाले बाँकी देवीको पनि स्वयं उपासना हुने मान्यता छ । भनिन्छ, भगवान शिवले पनि यिनै देवीको कृपाले आठ सिद्धी प्राप्त गरेका थिए । दाहिने तर्फ तल्लो हातमा चक्र, माथिल्लो हातमा गदा तथा देब्रे तर्फ तल्लो हातमा शंख, माथिल्लो हातमा कमलको फूल लिएकी सिद्धीदात्री कमलको फूल लाई नै आसन बनाउने गर्छिन् । भनिन्छ, सिद्धिदात्रीको आराधना गरेपछि अन्य देवीहरुको पनि आराधना हुन्छ ।
विजया दशमीको अन्तिम दिन दशमी तिथीमा देवी विसर्जन गरेर उनको पुजाको प्रसाद स्वरुप आफुभन्दा ठूलाबाट समृद्धिको प्रतिक रातो टीका तथा सेतो टीका अनि जमरा लगाएर आर्शिवाद लिने गरिन्छ । यो दिन दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो । कतिपय समुदायमा भने कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलन छ । योसंगै सौहार्दता, सत्य, न्याय, खुसी र उमंगको पर्व विजया दशमीको बीट मर्छ । –स्रोत विभिन्न शैक्षिक सामग्रीबाट संकलन