यो बर्षको दशैं शुुरु भै सकेको छ । सामान्यतया घटस्थापनाको दिनबाट शुरु हुने दशैं पूर्णिमाको दिनसम्म मनाउने प्रचलन रहेको छ । पन्ध्र दिन मध्ये विशेषतः चार दिन फूलपाती, अष्टमी, नवमी र विजया दशमीको अझ बढी महत्व रहन्छ र यो चार दिनलाई अरु दिन भन्दा अझ धुमधाम र हर्षोल्लासका साथ मनाउने गरिन्छ । खैरः कोरोना भाईरसको कारणले यो बर्ष भने विगतमा जस्तो दशैं भव्यवता र धुमधामका साथ नमनाईएला । एउटा सचेत र जिम्मेवार नागरिकको हैसियतले विषम परिस्थितिलाई मध्ये नजर गर्दै दशैंलाई कोरोनाको दृष्टिकोणले कसरी सुरक्षित तरिकाले मनाउन सकिन्छ भन्ने तर्फ ध्यान दिनु हामी प्रत्येक नागरिकको दायित्व पनि हो । अस्सर दशैं नेपाली पात्रो अनुसार असोज महिनामा पर्ने गर्दछ । यो बर्ष मलमासको कारणले कार्तिक मध्येतिर पुगेको छ । जे होस् दशैंको चहलपहल भने शुरु भैसकेको छ । गाउँघरतिर पिङ हाल्ने देखि लिएर शहर बजारमा किनमेल गर्नेहरुको भिड पनि राम्रै बढेको देखिन्छ । बजारको भिडभाड देख्दा यो समयमा सकेसम्म घरमै बसौं बाहिर निस्कनै परेपनि भौतिक दुरी कायम गरौं भन्ने कुरा सर्वसाधारणले बुझेका छैनन् या बुझेर पनि बुझ पचाई रहेका छन् भन्ने ठम्याउन मुस्किल छ । सायद भोलिको दिनमा सरकारले कोरोना नियन्त्रण गर्न सकेन भने र सामाजिक सञ्जालमा तथानाम गालि गर्ने जमातमा यही भिडभाडका केहि प्रतिनिधि पात्रहरु पनि समावेश नहोलान् भन्न सकिदैन ।
मेरो यो आलेखको आषय हाम्रो अहिलको सामाजिक परिदृष्यको (कोरोनासंग सम्बन्धित) उजागर गर्नु होइन । न त दशैंको बारेमा जानकारी गराउनु नै हो । तसर्थ दशैंको पृष्ठभूमि र सामाजिक परिदृष्यका कुराहरुलाई यतिमै सीमित राखेर आलेखको शिर्षक तर्फ लाग्नु चाहन्छु । आखिर दशैं कस्को हो ? कस्ले मनाउने हो दशैं ?
विगत केही बर्षदेखि केही जातजातीहरुमा एक हिसाबले दशैं बहिष्कारको अभियान नै चलेको छ । विशेष गरी मगर, गुरुङ्ग, राई, लिम्बु, तामाङ्ग जस्ता आमभाषामा मंगोलिएन मुलका भनिने जातिहरुमा दशैं बहिष्कारको अभियान चलेको छ । दशैंलाई हिन्दुहरुको महान पर्वको रुपमा लिइन्छ । नेपालमा हिन्दु धर्मप्रति आस्था राख्ने जनसमुदाय, अन्य जात जातीको भन्दा ब्राह्मण र क्षेत्री समुदायका मानिसहरु धेरैभएको हुँदा बाहुन क्षेत्रीको चाड हो र यो हामीलाई मंगोलिएन मूलका जातिहरु (प्रतिको दासत्व संस्कार हो, दशैं रातो टीका मंगोलिएन मुलका जातजातिहरुलाई बाहुन क्षेत्रीले गरेको अन्याय र दासत्वको प्रतिक हो भन्ने आवाजहरु पछिल्लो समयमा धेरै उठ्ने गरेको पाईन्छ । पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तार अभियानलाई नै पछि नेपाल एकिकरणको नाम दिईएको र नेपाल एकिकरण पश्चात वाध्यतापूर्वक यहाँका आदिवासी जनजातीहरुको धर्म संस्कार माथि सबैलाई हिन्दुकरण गरी दशैं मान्न बाद्य पारिएकोले यो आदिवासी जनजातिहरुको चाड होइन, त्यसैले यसलाई बहिष्कार गर्नु पर्दछ भन्ने आवाज आदिवासी जनजातिको नेतृत्वले पछिल्लो समयमा उठाई रहेको छ । सत्य के हो ? यथार्थ के हो ? खोज, अध्यायन, अनुसन्धान गर्दैै जाँदा अवश्य पत्ता लाग्दछ । मेरो आलेखको आषय चाही आदिवासी जनजातिले दशैं मान्नु हुन्छ या हुन्न भन्ने निक्र्यौल प्रस्तुत गर्नु भन्दा अलि फरक खालको छ ।
नेपालमा बर्षेनि सयौं चाडपर्व मनाईन्छ । ती चाडपर्वहरु कुनै धार्मिक, कुनै जातिय, कुनै सामाजिक त क्षेत्रीय । जस्तै ल्होसार जातिय पर्व हो । यो विशेष गरी गुरुङ्ग, तामाङ्ग र शेर्षाहरुले मनाउँछन् । ल्होसारकै पनि जातिय समुदाय हेरी फरक फरक नाम छ । तमु ल्होसार, सोनाम ल्होसार, ग्ल्बो ल्होसार । चण्डी पूर्णिमा मगर समुदायको जातिय पर्व हो । चण्डिपूर्णिमाकै दिनलाई बौद्ध धर्मावलम्वीहरुले बौद्ध जयन्तीको रुपमा बडो धुमधामसंग मनाउँछन् । छट क्षेत्रीय पर्व हो । हिन्दु धर्म अन्तगत नै पनि छट विशेष गरी तराई मधेशका क्षेत्रहरुमा मनाईन्छ । पछिल्लो समयमा भने पहाडी क्षेत्रका हिन्दुहरुले पनि यसको सिको गर्दैछन् । माघ एक गते अर्थात माघेसंक्रान्ति अन्य जातिय समुदायको लागि संक्रान्ति मात्रद्द हो तर मगर समुदायले यो दिनलाई जातिय नयाँ बर्षको रुपमा मनाउँछ भने माघेसंक्रान्तिलाई नै तराई मधेशतिर माघी पर्व भनेर मनाईन्छ । भन्नुको तत्पर्य नेपालमा मनाईने चाडपर्वहरु धेरै थरीका छन् । यसरी हेर्ने हो भने दशैं कुनै एउटा जातविशेषको भन्दा पनि धर्म विशेषको चाड हो– हिन्दु धर्मको चाड । त्यसकारण दशैं कुन कुन जातिको ले मनाउने, कुन जातकोले नमनाउने भन्दा पनि कुन धर्मप्रति आस्था राख्ने मान्छेहरुले मनाउने भन्ने कुरा हो । क्रिश्चियन धर्मप्रति आस्था राख्नेहरु क्रिसमस मनाउँछन् । बौद्धमार्गिहरु बौद्धजयन्तिमा रामाउँछन्, मुस्लिमहरु इदमा खुशी हुन्छन् । त्यसरी नै हिन्दुप्रति आस्थावानहरुले दशैं मनाउँछन् । त्यसकारण दशैं जातको होइन । धर्मको चाड हो ।
मैले दशैं जातको होइन, धर्मको चाड हो भन्दै गर्दा एउटा प्रश्न आउँछ, आदिवासी जानजातिको धर्म हिन्दु हो कि होइन । अहिलेको सन्दर्भमा आदिवासी जनजातिको धर्म हिन्दु हो कि होइन भन्दा पनि मान्न पाउने कि नपाउने भन्ने कुराले महत्व राख्दछ । नेपालको संविधानले प्रत्येक नागरिकलाई धार्मिक स्वतन्त्रता दिएको छ । प्रत्येक नागरिकलाई आफूले मन पराएको धर्मप्रति आस्था राख्ने पुरा स्वतन्त्रता छ । साथसाथै परापूर्वकालदेखि चलिआएको आफ्नो परम्पराको संरक्षण र सम्बद्र्धन गर्ने अधिकार स्वतन्त्रता पनि दिएको छ । त्यस कारण यदि साँच्चै नै आदिवासी जनजातिहरुले हिन्दु धर्म मान्नु हुँदैन, दशैं मनाउनु हुँदैन, आदिवासीहरुको आफ्नै धर्म छ भने आदिवासी जनजातिहरुको नेतृत्व र अनुसन्धानकर्ताहरुले आफ्नो जातिय समुदायलाई त्यो कुरा बुझाउने र सिकाउने तर्फ प्रयास थाल्नु प¥यो । हिन्दु धर्म त अझ पुरानो भयो । अस्ति भरखरै भित्रिएको क्रिश्चियन धर्मप्रति आस्था राखेर (जे जस्तो सुकै कारणले भएपनि) क्रिश्चियन बनेका आदिवासी जनजातिहरु कति छन् ? प्रसस्तै छन् त ? उनिहरुलाई के भन्ने ? त्यसकारण यदि साँच्चिकै नेतृत्व तहमा बसेका व्यक्तिहरुलाई आदिवासी समुदायको धर्मसंस्कृति परम्पराको पिर लागेकै हो र वास्तवमै अब त्यसलाई पुनर्जागरण गर्नु पर्दछ भन्ने महसुस भएकै हो भने प्रसस्त अनुसन्धान गर्नु प¥यो । मानिसहरुलाई त्यो स्तरको चेतना विकास गर्ने तर्फ ध्यान दिनु प¥यो । बर्षामा खहरे उर्ले जस्तो दशैं आउँदा हिन्दुको विरोध गर्ने, क्रिसमसको आउँदा क्रिश्चियनको विरोध गर्ने अरु बेला तैंचुपमैचुप गरेर आदिवासीको धर्म संस्कृतिको पुनरजागरण सम्भव होला त ? आफै बोल्न नजान्ने मगरले मगर भाषा बचाउँ भन्दै हिड्न सुहाउँछ र । बर्षभरि कोटपाईन्ट र जिन्समा ठाँटिने अनि ल्होसारको एक दिन भाँग्रा लगाउँदैमा गृुरुङ्ग भेषभुसाको संरक्षण हुन्छ र ! हिन्दु नमान, दशैं नमाउँ भन्दै गर्दा आदिवासीको धर्म के हो भन्ने पनि नेतृत्वसंग जवाफ हुनु पर्दछ होइन ? कि हिजो प्रचण्डले राजनीतिमा स्थापित हुन र सत्तामा पुग्न जातियता र जातिय राज्यको मुद्धा उठाए जस्तै आदिवासी जनजातिको नेतृत्वले पनि राजनीतिमा स्थापित हुने सटकट्को रुपमा धर्मको मुद्धा उठाएको होइन कतै ?
नेपाल विगतदेखि नै धार्मिक सहिष्णुता भएको राज्य हो । यहाँ विभिन्न धार्मिक समुदायका मानिसहरु छन् र उनिहरु बीचमा आपसीमेलामिलाप र सद्भाव पनि छ । हिन्दुधर्मावलम्विहरु पनि क्रिसमसमा रमाएकै छन् । क्रिश्चियनहरुले पनि दशैं तिहारमा मिठो मसिनो खाएर सद्भाव प्रकट गरेकै छन् । बौद्धमार्गिहरुले इदमा मुस्लिम समुदायलाई इद मुवारक भनेकै छन् । यसरी बर्षौदेखि चलिआएको धार्मिक सहिष्णुतालाई मेरो चाड, तेरो चाड भनेर आपसि वितृष्णा फैसलाउने काम गर्नु आजको शिक्षित र सभ्य समाजको लागि अलि नसुहाउने काम हो कि ? दशैं हाम्रो चाड होइन नेर कराउनु भन्दा हाम्रो चाड यो हो है भनेर सम्झाउन सक्दा पो राम्रो हुन्थ्यो कि ? विरोध गरेर भन्दा हातेमालो गरेर अगाडि बढ्न सके सामाजिक सद्भाव खलबलिने थिएन कि ? तेरो र मेरो भन्ने भावनालाई छोडेर हाम्रो भन्ने भावना विकास गर्ने र नेपालको धार्मिक, सांस्कृतिक जातिय विविधतालाई संरक्षण र सम्बद्र्धन गर्न एकआपसमा हातमा हात काँधमा काँध गरे हामी अझै बलियो र सम्पन्न हुने होइन र ? त्यसैले मलाई लाग्छ दशैं पनि हाम्रो हो । क्रिसमश पनि हाम्रो हो । इद पनि हाम्रो हो । बुद्धजयन्ति, ल्होसार, माघी, छट सबै पर्व हाम्रै हुन् । हामी सबैको पर्वः नेपालीको पर्व ।
दशैं कस्को ?
previous post