सनातन हिन्दु धर्मका अनुयायीको महत्वपूर्ण पर्व दशैं संघारमै आई सकेको छ । शिक्षालय र अदालत जस्ता सरकारी कार्यालय बन्द भैसकेका छन् भने फूलपातीको दिनबाट अन्य कार्यालयहरु पनि बन्द हुनेछन् । कुनै पर्व विशेषमा यतिलामो समय सरकारी कार्यालय बन्द हुने नेपालमा यही पर्व मात्रै हो । यसबाट पनि दशैंको नेपाली जनजीवनमा कस्तो महत्व र प्रभाव छ भन्ने प्रष्ट हुन्छ । पछिल्ला दिनहरुमा हिन्दुहरुको मात्र होइन अन्य धर्मावलम्बीहरुको पनि पर्व बन्दै गएको छ, दशैं । अर्काे शब्दमा सम्पूर्ण नेपालीको साझा पर्व बन्दै गएको छ, यो पर्व ।
दशैंमा विशेष चहलपहल हुन्छ, नेपाली समाजमा । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म जगतमाता दुर्गाको पुजा आराधना गरेर दशौं दिनमा त्यसैको प्रसाद स्वरुप निधारमा रातो तथा सेता टीका र समृद्धिको प्रतिक जमरा लगाएर ठूलाबाट आर्शिवाद लिने चलन छ । देश विदेशमा भएका परिवारका सदस्यहरु जम्मा हुने अवसरपनि यहि पर्वले प्रदान गर्ने गरेको छ । यतिमात्र कहाँ हो र ? घरको लिपपोत तथा रङ रोगन यही बेला हुन्छ अनि गाउँ टोलको सरसफाई, बाटो–घाटोको मर्मत सम्भार, कुवा ÷धारो÷पँधेरोको सरसफाई र मर्मत पनि हामी यहि समयमा गर्ने गर्दछौं । रोटेपिङ, लिङ्गे पिङ खेलेर चचहुँई भनेर रमाउने अवसर पनि यही हो । रोजगारी र अन्य कारणले घरबाहिर रहेकाहरु गाउँमा जम्मा हुने र आफना अुनभवहरु साटासाट गर्ने तथा बाल्यकालका रमाईला क्षणहरु सम्झने अवसर पनि दशैंले हामीलाई जुराई दिने गर्दछ ।
समग्रमा दशैं हामीलाई परस्पर जोड्ने पर्व हो । शक्तिरुपा भगवती दुर्गाका नौ रुपहरु शैलपुत्री, व्रह्मचारणी, चन्द्रघण्टा, कुश्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पुजा , आराधना गरेर सकल जगतको सुख र समृद्धिको कामना गर्ने पर्व विजया दशकीको सम्पूर्ण पाठक, विज्ञापनादाता, लेखक, शुभेच्छुक सबैमा हार्दिक मंगलमय शुभकामना । हामी चाहन्छौं, हाम्रा पाठक, विज्ञापनादाता, लेखक, शुभेच्छुक सबै सबैलाई सुख, समृद्धि, सुस्वास्थ्य र दीर्घायू मिलोस् ।
दशैंको शुभकामना !-सम्पादकीय
previous post