तमु ल्होसार तमु( गुरुङ) समुदायले नयाँ वर्षको रुपमा मनाउने एक महत्वपूर्ण पर्व हो । ल्हो ले वर्ग अथवा वर्ष र सारले नयाँ सर्नु भन्ने जनाउने हुँदा ल्होसारलार्य नयाँ वर्षका रुपमा मनाउन थालिएको हो । गुरुङहरुले लगभग २६०४ वर्ष अगाडि देखि ल्होसार मान्दै आएको दावी गरेता पनि यो पर्व कहिले देखि मनाउन थालियो भन्ने एकिन इतिहास छैन ।
तमु( गुरुङ) समुदायले प्रयोग गर्ने तमु पात्रो अनुसार हरेक वर्ष पुष १५ मा वर्ग फेरिने हुँदा यस दिनलाई नयाँ वर्गको सुरुवात एवं नयाँ वर्षको सुरुवात हुने दिनका रुपमा मनाउन थलिएको हो । तमु पात्रो अनुसार ल्हो( वर्ग) १२ वटा हुन्छन् । ती सबै विभिन्न पुशपंछीहरुको नामबाट राखिएको पाईन्छ ।
१) च्यु–ल्हो ( मुसा वर्ग )
२) ल्वौं–ल्हो ( गाई वर्ग )
३ ) तो–ल्हो ( बाघ वर्ग )
४) हि– ल्हो ( बिरालो वर्ग )
५) मिन्हि–ल्हो ( गिद्ध वर्ग )
६) सष्ट्रि–ल्हो ( सर्प वर्ग )
७) त–ल्हो ( घोडा वर्ग )
८) ल्हु–ल्हो ( भेडा वर्ग )
९) प्र–ल्हो ( बाँदर वर्ग )
१०) च्ह्या–ल्हो ( चरा वर्ग )
११) खि–ल्हो ( कुकुर वर्ग )
१२) फो–ल्हो ( मृग वर्ग )
हरेक वर्षको पुष १५ बाट वर्ग फेरिने र हरेक १२ वर्ष पछि सुरुकै वर्ग आउने हुँदा यस दिनलाई विशेष मानिएको हो । गुरुङ समुदायका मानिसहरुले हरेर शुभ अशुभ काम गर्दा वर्ग हेरेर गर्ने हुँदा यसको छुट्टै महत्व रहेको छ । यस वर्ष ल्वौ–ल्हो ( गाई वर्ग ) को विदाई र तो–ल्हो ( बाघ वर्ग) को स्वागत गरी तमु ल्होसार मनाईँदैछ । यस वर्ष पुष १५ गतेपछि जन्मने बालबालिकाहरु तो–ल्हो(बाघ) वर्ग हुनेछन् भने पहिले बाघ वर्ग हुँदा जन्मेका व्यक्ति १२, २४, ३६, ४८…….. वर्ष पूरा भएका हुनेछन् ।
ल्होसार पर्वलाई मुख्यतया कृषिसंग जोडेको पाईन्छ । तिब्बतमा इसापुर्वको सातौं शाताब्दीतिर भिन्न रुपमा ल्होसार मनाउने गरेको इतिहास पाईन्छ । तिब्बतमा किसानहरुले वर्ष बाली स्याहार्ने बेला कृषि बाली पर्व ( हार्भेष्ट फेस्टिभल) मनाउने गर्थे । पछि त्यही पर्वलार्य ल्होसारका रुपमा रुपान्तरण गरिएको पाईन्छ । नेपालमा पनि पुष १५ मा तमु ल्होसार मनाउने हुँदा खेतीबाली थन्काएर सकेपछि वर्ष भरिको थकाई र कामलाई विर्सन एक दिन दाजभाइ, छोरीचेली, इष्टमित्र, छरछिमेक, साथीभाइ सबै एकै ठाउँमा भेला भई यो पर्व मनाईन्छ । यस दिन विवाहित चेलीबेटी बोलाएर खानपिन गराउने र रमाईलो गर्ने हुँदा यस दिन माइती र चेली सार्थ आफन्तहरुसंगको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । तमु ल्होसारका दिन गुरुङ समुदायका मानिसहरु आफ्नो जातिय पोशकमा सजिएर हिँड्ने हुँदा यस पर्वले संस्कृति, सभ्यता, परम्रागत पोशाक र समग्र पहिचान समेत झल्काउने र संरक्षण गर्ने गर्दछ ।
पछिल्लो समय तमु ल्होसार केही खर्चिलो र भड्िकलो बन्दै गएको भनेर आलोचना हुुन थालेको छ । त्यसैले तमु ( गुरुङ) समुदायले यस पर्वलार्य कसरी रमाईलो, कम खर्चिलो, परम्परागत, सांस्कृतिक र सभ्य रुपमा मनाउन सकिन्छ भन्ने बारेमा विचार गर्न आवश्यक छ । यसो भएमा मध्यम र निम्न आर्थिक अवस्था भएका तमुहरुको परिवारमा समेत ल्होसारले खुसी र उमंग ल्याउन सक्छ । ल्होसारको सबै नेपाली दाजुभाइ, दिदी बहिनी, आमाबुबाहरुमा शुभ कामना ।