फागुन–२१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नं २ बाट दलका १२ र जनाले मनोनयन दर्ता गरेका छन् । तनहुँ आवाजले मतदातालाई योग्य प्रतिनिधि छान्न र मतदान गर्न सजिलो होस् भनेर उम्मेदवारका बारेमा नागरिकले जान्नु पर्ने कु्राहरु प्रस्तुत गर्ने जमर्काे गरेको छ । यस पटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी) , नेपाल जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र मंगोल नेशनल अर्गनाईजेशनका उम्मेदबारका बारेमा संक्षिप्त जानकारी लिएर आएका छौं । –तनहुँ आवाज साप्ताहिक
उत्पादन र रोजगारीमा जोड दिने लामगादे
तनहुँ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका गणेशबहादुर लामगादे शुक्लागण्डकी नगरपालिका बुद्धटोलका स्थायी वासिन्दा हुन् । एसएलसी पास गरेका ४९ वर्षिय लामगादे नेकपा (माओवादी) का एक प्रभावशाली दलित नेता र अधिकारकर्मी हुन् ।
लामो समयदेखि नेकपा (माओवादी) मा आबद्ध उनी पार्टीको केन्द्रीय सदस्य र नेपाल दलित मुक्ति मोर्चा को केन्द्रीय अध्यक्षको रूपमा पनि परिचित छन् ।

उनले मुख्यतः दलित, उत्पीडित, र सीमान्तकृत समुदायको अधिकार, समावेशीकरण र सामाजिक न्यायका मुद्दाहरूलाई राजनीतिको मूलधारमा उठाउँदै आएका छन् ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा समेत तनहुँ क्षेत्र नं. २ बाट उम्मेदवार बनेका उनी दलित समुदायका विरुद्ध हुने भेदभाव र छुवाछूत उन्मुक्तिका लागि कानुन कार्यान्वयन हुनुपर्छ भन्ने मान्यता राख्छन् । माओवादीभित्र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न र दलित मोर्चालाई संगठित गर्न उनको महत्वपूर्ण भूमिका रहेको छ ।
विशेषगरी भूमिहीन र दलित समुदायको आर्थिक उत्थानका लागि “उत्पादन र रोजगारी“ को मोडेलमा जोड दिने उनी अहिले पनि पार्टीको सांगठनिक काम र सामाजिक न्यायको अभियानमा सक्रिय छन् ।
सीमान्तकृत समुदायको आवाज बोल्ने राना

तनहुँ क्षेत्र नं. २ मा नेपाल जनमुक्ति पार्टीका उम्मेदवार पूर्णबहादुर राना ऋषिङ४ भिरकोटका स्थायी बासिन्दा हुन् । एमए गरेका ४६ वर्षिय राना सक्रिय राजनीतिकर्मी हुन् । विशेष गरी पहिचान र समावेशिताका मुद्दाहरू उठाउने दलसँग आबद्ध राना जनजाति (मगर) समुदायको प्रतिनिधित्व गर्ने नेता हुन् । उनले उत्पीडित र सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउँदै आएका छन् । रानाले आफ्नो चुनावी अभियानमा जातीय पहिचानमा आधारित प्रदेशहरूको निर्माण र राज्यका हरेक तहमा सबै समुदायको न्यायोचित प्रतिनिधित्व हुनुपर्ने एजेन्डालाई प्राथमिकता दिने गरेका छन् ।
उनी साना दल र स्वतन्त्र उम्मेदवारहरूले जस्तै ठूला दलहरूको विकल्पका रूपमा सुशासन र विकासको मुद्दा पनि उठाउने गर्छन् । तनहुँको कृषि, पर्यटन र युवा स्वरोजगारीका विषयमा पनि उनले आफ्ना प्रतिबद्धताहरू राख्दै आएका छन् ।
राना तनहुँको राजनीतिमा एक निष्ठावान र पहिचानवादी नेताका रूपमा चिनिन्छन् । ठूला दलहरूको वर्चस्व रहेको यस क्षेत्रमा उनले आफ्नो पार्टीको “पहिचान र अधिकार“ को सन्देश लिएर मतदातामाझ जाने गरेका छन् ।
युवालाई श्रम र उत्पादनसँग जोड्दै अधिकारी
क्षेत्र नं. २ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट म्याग्दे गापा ३ अधिकारी थोक निवासी लक्ष्मण अधिकारी उम्मेदवार बनेका छन् । ६४ वर्षिय लेखापढी व्यवसायी अधिकारी नारायणमान बिजुक्छे (रोहित) नेतृत्वको नेपाल मजदुर किसान पार्टीका सक्रिय नेता/कार्यकर्ता हुन् ।

नेमकिपाले यसपटक देशैभरि धेरै क्षेत्रमा उम्मेदवारी दिने क्रममा तनहुँ २ मा उनलाई अघि सारेको हो। पार्टीको नाम जस्तै, उनले स्थानीय किसानका समस्या, मलखादको उपलब्धता र मजदुरहरूको उचित ज्यालाको विषयलाई प्राथमिकता दिएका छन् ।
ठूला भनिएका राजनीतिक दलहरूको विकल्पका रूपमा नेमकिपाले सधैँ उठाउने “स्वच्छ राजनीति र सुशासन“ को मुद्दा उनको पनि मुख्य एजेन्डा हो । सीमा रक्षा र वैदेशिक हस्तक्षेपको विरोध गर्ने पार्टीको नीति अनुरूप उनले राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज उठाउँदै आएका छन् ।शिक्षा र स्वास्थ्यलाई पूर्णतया निःशुल्क र गुणस्तरीय बनाउनुपर्ने माग उनको चुनावी अभियानको हिस्सा रहेको छ
नेमकिपाले आफ्नो निश्चित ’भोट बैंक’ र सिद्धान्तमा आधारित राजनीतिलाई यस क्षेत्रमा विस्तार गर्ने प्रयास गरिरहेको छ । अधिकारीले विशेष गरी स्थानीय युवाहरूलाई श्रम र उत्पादनसँग जोड्ने कुरामा जोड दिँदै आएका छन् ।
समानुपातिक प्रतिनिधित्वको पक्षमा गोतामे
भीमाद नपा सितल चौतारीका बासिन्दा लालबहादुर सार्की (गोतमे) राष्ट्रिय जनमुक्ति पार्टीका एक जुझारु नेता र अधिकारकर्मी हुन् ।
४० वर्षिय एसएलसी पास गोतामेले मुख्यतया दलित र सीमान्तकृत समुदायको मुद्दालाई राजनीतिको केन्द्रमा राख्दै आएका उनी राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट आगामी फागुन २१, २०८२ मा हुन गइरहेको निर्वाचनका लागि उम्मेदवार बनेका छन् ।

दलित अधिकार र सामाजिक न्यायः उनी दलित समुदायमाथि हुने विभेद र उत्पीडनका विरुद्ध सशक्त आवाज उठाउने गोतोम राज्यका हरेक अंगमा दलितहरूको समानुपातिक सहभागिता हुनुपर्ने अडानमा छन् । राष्ट्रिय जनमुक्ति पार्टीको मुख्य सिद्धान्त “जातीय पहिचान“ लाई उनले आफ्नो चुनावी अभियानको आधार बनाउने गरेका छन् ।
ठूला राजनीतिक दलहरूले सुशासन दिन नसकेको भन्दै उनले वैकल्पिक शक्तिका रूपमा आफ्नो पार्टीको आवश्यकता औंल्याउने गरेका छन् ।
स्थानीय स्तरमा एक निष्ठावान र इमानदार नेताका रूपमा चिनिने गोतामे तनहुँका विभिन्न क्षेत्रमा संगठन विस्तार र सामाजिक जागरणका कामहरूमा सक्रिय छन् ।
युवा नेतृत्वको पक्षमा वकालत गर्दै आले
सुस्मा आले (२८) मंगोल नेशनल अर्गनाइजेशनकी एक जुझारु युवा नेतृ र संगठनको तनहुँ जिल्ला सभाकी सचिव हुन् । आदिकवि भानुभक्त क्याम्पसबाट शिक्षा शास्त्रमा स्नातक उत्तिर्ण ऋषिङकी आलले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नं. २ बाट उम्मेदवारी दिएकी छिन् ।
लामो समयदेखि तनहुँको संगठन विस्तारमा सक्रिय सुस्मा हाल मंगोल नेशनल अर्गनाइजेशन, जिल्ला सभा तनहुँको सचिवको रूपमा कार्यरत छिन् । उनले मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्तीय सभाको कोषाध्यक्षको जिम्मेवारीमा समेत रहेर काम गरिसकेकी छन् ।

नेपालका ९० प्रतिशत भन्दा बढी गैर–हिन्दु मूलवासीहरूलाई “मंगोल“ पहिचान दिलाउने र उनीहरूको राजनीतिक अधिकार सुनिश्चित गर्ने उनको एजेण्डा हो । धर्मनिरपेक्षताको कट्टर समर्थक सुस्माले विभिन्न समयमा “दसैँ बहिष्कार“ जस्ता सांस्कृतिक जागरणका अभियानहरूमा पनि नेतृत्वदायी भूमिका खेलेकी छिन् ।
राज्यका हरेक संयन्त्रमा खस–आर्यको वर्चस्व अन्त्य गरी समानुपातिक प्रतिनिधित्व हुनुपर्ने उनको मुख्य माग रहँदै आएको छ । समावेशी राजनीति र युवा नेतृत्वको पक्षमा वकालत गरिरहेकी सुस्मा आले तनहुँमा “मंगोलवाद“ र “मूलवासी राष्ट्रवाद“ को विचारधारालाई गाउँ–गाउँसम्म पु¥याउन सक्रिय नेतृ हुन् । उनको उम्मेदवारी मुख्यतया पहिचानको राजनीति र परम्परागत राजनीतिक शक्तिहरूको विकल्प खोज्ने मतदाताहरूका लागि केन्द्रित छ ।
