फागुन–२१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नं २ बाट दलका १२ र जनाले मनोनयन दर्ता गरेका छन् । तनहुँ आवाजले मतदातालाई योग्य प्रतिनिधि छान्न र मतदान गर्न सजिलो होस् भनेर उम्मेदवारका बारेमा नागरिकले जान्नु पर्ने कु्राहरु प्रस्तुत गर्ने जमर्काे गरेको छ । यस पटक नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेशनल रिपब्लिक नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदबारका बारेमा संक्षिप्त जानकारी लिएर आएका छौं । –तनहुँ आवाज साप्ताहिक
सनातन धर्मका पक्षधर भण्डारी
तनहुँ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार हुन्, शंकर भण्डारी । हालको भानु नगरपालिका वडा नं ९ मा ५७ वर्ष अगाडि जन्मेका भण्डारी स्पष्ट वक्ता र विकासप्रेमी नेताका रूपमा परिचित छन् । नेविसंघको राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका भण्डारी लामो समयसम्म कांग्रेसको सांगठनिक संरचनामा सक्रिय रहँदै आएका छन् । नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको रूपमा जिम्मेवारी सम्हालिसकेका भण्डारी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए ।

२०७४ को निर्वाचनः यस निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट उम्मेदवार बनेका उनी वाम गठबन्धनका उम्मेदवार केदार सिग्देलसँग झिनो मतान्तरले पराजित भएका थिए ।
२०७९ को निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका किरण गुरुङलाई ५,४७४ मतान्तरले पराजित गर्दै शानदार पुनरागमन गरेका थिए । प्रतिनिधि सभा सदस्यको रूपमा उनी आफ्नो क्षेत्रको पूर्वाधार विकास, कृषि आधुनिकीकरण र खानेपानी समस्या समाधानमा केन्द्रित भएका थिए । हिन्दु राष्ट्रको पक्षमा पनि समय–समयमा आफ्नो व्यक्तिगत धारणा राख्दै आएकाले गर्दा उनी पार्टीभित्र र बाहिर विशेष चर्चामा रहन्छन् । नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनुपर्ने मागलाई पार्टीको मुख्य एजेन्डा बनाउन कडा संघर्ष गर्दै आएका उनले महासमिति बैठकमा १०६३ जना सदस्यहरूको हस्ताक्षर संकलन गरी पार्टी नेतृत्वलाई बुझाएका थिए । त्रिचन्द्र क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन पूरा गरेका उनलाई कांग्रेसको ‘दोस्रो पुस्ता’का प्रभावशाली नेताको रूपमा हेरिन्छ ।
एमालेका पुराना र भरपर्दा खम्बा सिग्देल
नेकपा एमालेका तर्फबाट तनहुँ क्षेत्र नं. २ का उम्मेदवार केदार सिग्देल सो क्षेत्रका पाका र अनुभवी नेता हुन्। उनी विशेष गरी सांगठनिक सुझबुझ र विकासप्रेमी छविका लागि परिचित छन्।
वि.सं. २०२० मा साविक किहुँ गाविस (हाल भिमाद नगरपालिका)जन्मेका सिग्देलले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।

२०३५÷३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई उनी राजनीतिमा होमिएका सिग्देलले पृथ्वीनारायण क्याम्पस पोखरा र नेपाल ल क्याम्पस काठमाडौंमा विद्यार्थी राजनीति गरेका थिए ।
नेकपा एमाले तनहुँको दुई कार्यकाल जिल्ला अध्यक्ष भइसकेका सिग्देल पार्टीभित्र कुशल संगठक र स्पष्ट वक्ताका रूपमा पनि चिनिन्छन् ।
२०४६ सालको जनआन्दोलनमा तनहुँको दक्षिण–पश्चिम क्षेत्रको कमान्ड सम्हालेका सिग्देल २०७४ को निर्वाचनः यस निर्वाचनमा उनी तनहुँ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा प्रतिनिधि सभ छोडेर प्रदेश सभाको उम्मेदवार बनेका उनी नेपाली कांग्रेसका जितप्रकाश आलेसँग झिनो मतान्तरले पराजित भएका थिए ।
उनले आफ्नो क्षेत्रमा सडक कालोपत्रे, खानेपानीको विस्तार र कृषि आधुनिकीकरणलाई मुख्य प्राथमिकता दिँदै आएका छन् । केदार सिग्देललाई एमालेको “पुरानो र भरपर्दो खम्बा“ मानिन्छ, जसको ग्रामीण क्षेत्रमा बलियो पकड छ ।
प्रविधिको प्रयोगमार्फत सेवामा सुधार न्यौपाने
तनहुँ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका श्रीराम न्यौपाने इन्जिनियर र विकासविज्ञका रूपमा चिनिन्छन् । पूर्वाधार विकास र जलस्रोतको क्षेत्रमा लामो अनुभव भएका न्यौपाने पेशाले सिभिल इन्जिनियर हुन् ।

मेलम्ची खानेपानी आयोजना, नागढुंगा सुरुङमार्ग र विभिन्न जलविद्युत् आयोजनामा नेतृत्वदायी वा प्राविधिक भूमिका निर्वाह गरेका न्यौपाने सामाजिक र व्यावसायिक योगदानका लागि नेपाल सरकारबाट प्रबल जनसेवाश्री (चतुर्थ) बाट सम्मानित भएका थिए ।
रास्वपाको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभाग को प्रमुख रहेका न्यौपानेले आफ्नो उम्मेदवारीलाई “केवल राजनीतिक आकांक्षा मात्र नभई विज्ञताको प्रयोगमार्फत विकास गर्ने योजना” का रूपमा प्रस्तुत गरेका छन् । भानु नगरपालिकाका स्थायी वासिन्दा ५६ वर्षिय न्यौपाने तनहुँलाई देशकै आर्थिक रूपान्तरणको केन्द्र बनाउने, तनहुँ जलविद्युत् आयोजनाको जलाशयलाई पर्यटन, जलक्रीडा र मत्स्यपालनमा जोड्ने, भ्रष्टाचारमुक्त प्रशासनिक सेवा र प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहमा सुधार गर्ने एजेण्डा सहित निर्वाचनमा होमिएका छन् ।
जनताको समस्यामा तुरुन्तै पुग्ने नेताः थापा
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीबाट तनहुँ क्षेत्र नं. २ का उम्मेदवार सोमबहादुर थापा चुनावी मैदानमा छन् । म्याग्देका थापा यस क्षेत्रका एक सक्रिय र भुइँतहका कार्यकर्ताका रूपमा परिचित छन् ।

लामो समयदेखि तनहुँको स्थानीय राजनीतिमा सक्रिय ४९ वर्षिय थापाले पार्टीको जिल्ला तहमा विभिन्न जिम्मेवारीहरू सम्हाल्दै छन् भने माओवादी आन्दोलनका क्रममा स्थानीय स्तरमा प्रभाव पार्न सफल नेताका रूपमा समेत चिनिन्छन् ।
संघीयताको वास्तविक कार्यान्वयन र गाउँ–गाउँमा “समाजवाद उन्मुख” विकासको मोडल लैजाने प्रतिबद्धता जनाउनुका साथै तनहुँको दक्षिणी भेगमा कृषि उत्पादकत्व बढाउन सिँचाइको व्यवस्था र युवाहरूलाई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने एजेन्डा सहित निर्वाचनमा होमिएका छन् । प्रशासनिक झन्झट मुक्त सेवा र स्थानीय निकायमा हुने भ्रष्टाचार नियन्त्रणका लागि जोड दिने थापा क्षेत्र नं. २ अन्तर्गत पर्ने शुक्लागण्डकी, भिमाद र ऋषिङ क्षेत्रका ग्रामीण सडकहरूको स्तरोन्नति गर्ने योजनामा छन् । नेपाली कम्युनिस्ट पार्टीको सांगठनिक संरचनालाई मजबुत बनाउँदै यस पटक प्रतिस्पर्धामा आफूलाई निर्णायक उम्मेदवारका रूपमा प्रस्तुत गरेका थापालाई स्पष्ट वक्ता र जनताको समस्यामा तुरुन्तै पुग्ने नेताका रूपमा स्थानीय बासिन्दाहरूले चिन्ने गर्छन् ।
युवाको मत तान्ने प्रयासमा ठकुरी
यामबहादुर ठकुरी आगामी प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नं. २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार हुन् ।

शुक्लागण्डकी नपा डाँडाबारीका ५८ वर्षिय ठकुरी राप्रपाका एक सक्रिय स्थानीय नेता हुन् । लामो समयदेखि तनहुँको सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशील ठकुरी राप्रपाको मूल सिद्धान्त—संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र सुशासनको पक्षमा वकालत गर्ने नेताका रूपमा परिचित छन् ।
“भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो” भन्ने राप्रपाको मूल नारालाई आत्मसाथ गर्दै उनले स्थानीय तहमा हुने अनियमितता रोक्ने प्रतिबद्धता जनाएका छन् । नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउने र तनहुँका धार्मिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण गर्ने, तनहुँ–२ मा कृषिमा आधारित उद्योगहरूको स्थापना गरी युवा स्वरोजगार प्रवद्र्धन गर्ने र अधुरा सडक तथा खानेपानी आयोजनाहरू समयमै सम्पन्न गर्ने योजना ठकुरीले प्रस्तुत गरेका छन् । ठकुरीको उम्मेदवारीलाई राप्रपाले आफ्नो साङ्गठनिक सुदृढीकरण र नयाँ मतदाता आकर्षण गर्ने रणनीतिका रूपमा लिएको छ । विशेषगरी युवा र वैकल्पिक राजनीति खोजिरहेका मतदाताहरूलाई आफ्नो पक्षमा पार्ने ठकुरीको प्रयास देखिन्छ ।
नयाँ राजनैतिक संस्कारको खोजीमा राना
तनहुँ क्षेत्र नं. २ मा नेशनल रिपब्लिक नेपाल पार्टीका तर्फबाट नमबहादुर राना फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका छन् ।

देशमा नयाँ राजनीतिक संस्कार र व्यवस्थाको वकालत गर्दै आएका राना देशमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको प्रणाली हुनुपर्ने, सार्वजनिक निकायहरूमा व्याप्त भ्रष्टाचारको अन्त्य र दोषीहरूलाई कडा कारबाही हुनुपर्ने, स्थानीय स्रोत र साधनको परिचालन गरी तनहुँका युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने र जिल्लामै रोजगारीका अवसर सिर्जना गर्ने एजेण्डा लिएर निर्वाचनमा होमिएका छन् । तनहुँ–२ को पहाडी भूगोललाई ध्यानमा राख्दै व्यावसायिक कृषि र पर्यटन प्रवद्र्धन गर्ने रानाले आफ्नो प्रचारप्रसारका क्रममा ठूला दलहरूको “असफलता” लाई उजागर गर्दै साना र नयाँ दलहरूलाई एक पटक अवसर दिन मतदाताहरूसँग आग्रह गरिरहेका छन् ।
