रमेश विकल
फागुन २१ नजिकिँदै गर्दा कुन उम्मेदवारले धेरै मतदाताको मन जितेर प्रतिनिधि सभा सदस्य हुने मौका पाउला भन्ने अडकलबाजी भइरहेका छन् । चोक, चौतारा र चिया पसलमा यहि विषयमा छलफल र बहस हुने गरेका छन् । निर्वाचन कसले जित्ला भनेर पूर्वानुमान गर्न यस अघिका निर्वाचन परिणाम तर्फ नजर लगाउनु र त्यसका आधारमा अब के होला भनि तर्क गर्नु उपयुक्त हुन्छ ।
तनहुँ १ को २०७९ को निर्वाचनलाई हेर्दा नेपाली कांग्रेस, नेकपा माओवादी तथा नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीसँगको गठबन्धनमा थियो । एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी तथा अन्य दल र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा थिए ।
उक्त निर्वाचनबाट कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल २५,३६१ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । तर समानुपातिक तर्फ भने कांग्रेसले २०१५८ मत मात्र पायो । पौडेलले पाएको थप मत गठबन्धनमा सामेल दलका मतदाताको थियो । पौडेलले जस्तै एमाले उम्मेदवार एकबहादुर रानाले पनि समानुपातिकमा पार्टीले पाएको मत १६,६८३ भन्दा बढी १९,९८१ मत पाएका थिए । पौडेलसंग असन्तुष्ट गठबन्धन सम्बद्ध दलका मतदाताले रानालाई मतदान गरेको अनुमान लगाउन सकिन्छ ।
यस क्षेत्रमा तेस्रो बनेका स्वतन्त्र उम्मेदवार कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले ६,८८६ मत तथा चौथो बनेका राष्ट्रिय स्वतन्त्र पार्र्टीका विकास सिग्देलले ६,०४४ मत पाएका थिए । समानुपाति तर्फ तेस्रो भएको रास्वपाले १२७७३ मत पाएको थियो । जोशी र सिग्देलले पाएको प्रत्यक्ष तर्फको मत जोडने हो भने रास्वपाले समानुपातिकमा पाएको मतसँग संयोगवश झण्डै बराबर हुन आउँछ ।
पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन भयो । निर्वाचनमा रास्वपाका उम्मेदवार स्वर्णीम वाग्ले ३४,९१९ मत ल्याएर विजयी भए । उपविजेता बनेका कांग्रेसका गोविन्द भट्टराईले २०,१२२ मत पाए । यहाँ अर्काे संयोग बनेको छ । उपनिर्वाचनमा भट्टराईले पाएको मत र कांग्रेसले समाुनपातिकमा पाएको मतमा ३६ मतको मात्र अन्तर छ । यसले के देखाएको छ भने कांग्रेसका मतदाता विचलित भएका र मत यताउता भएको छैन । उपनिर्वाचनमा जोशी तथा नेकपा माओवादी र नेकपा एस गठबन्धनमै रहेकाले उनीहरुको पनि उम्मेबारी थिएन । यो निर्वाचनमा एमाले उम्मेदवार सर्वेन्द्र खनालले अघिल्ला उम्मेदबार रानाको तुलनामा ११,४९३ कम मत (८,४४८) पाए ।
अर्काे संयोग कस्तो छ भने माओवादी (७३२६) र नेकपा एस(९५०) ले समानुपातिकमा पाएको मत, जोशी तथा सिग्देलले प्रत्यक्षमा पाएको मत र खनालले गुमाएको मत जोडने हो भने वाग्लेले पाएको मतसँग नजिक हुन जान्छ । निर्वाचनको केही दिन अगाडि एउटा चुनावी सभामा प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहालले तत्कालिन नेकपा एसका नेता कृष्णकुमार श्रेष्ठलाई गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका थिए । गोविन्दले जित्दा कृष्णकुमार श्रेष्ठ मन्त्री बन्ने र एमालेको संगठनमा त्यसले नराम्रो असर पर्ने ठानेका एमालेका नेता कार्यकर्ताले स्वर्णीमलाई मत दिएको गाईँगुई त्यतिबेला चलेको थियो ।
यि सबै संयोगहरू हेर्दा अमेरिकी पूर्व राष्ट्रपति फ्राँकलिन डि रोजबेल्टको एउटा भनाई सम्झना हुन्छ । रोजबेल्टले भनेका थिए, “राजनीतिमा केही पनि संयोगवश हुँदैन, यदि केही हुन्छ भने तपाईँ निश्चित हुन सक्नुहुन्छ कि त्यो योजनाबद्ध रुपमा भएको हो ।”
यसपटक भट्टराई र वाग्ले फेरी आमनेसामने भएका छन् । जोशी आफै उम्मेदवार छैनन तर उनका छोरा सादगी जीवनशैलीका दिपकराज जोशी विकासका दमदार ऐजेण्डा सहित स्वतन्त्र उम्मेदबारको रुपमा खडा हुँदा विकाशप्रेमी मतदाता आश्वस्त देखिन्छन् । स्थानीय समुदायसँग घुलमिल भएकी एमालेकी युवा नेतृ भगवती न्यौपाने निर्वाचनको मैदानमा छन् ।
माओवादी र नेकपा एस एकिकृत भएर नेपाली कम्युनिस्ट पार्टी बनेको छ र सादगी नेता विद्यानाथ ढकाललाई उसले उम्मेदबार बनाएको छ । गर्विलो काँग्रेसी राजनैतिक पृष्ठभूमि भएको परिवारका सदस्य मञ्जिल राना उज्यालो नेपाल पार्टीबाट उम्मेबार बनेका छन् । राप्रपाले पनि यसपटक खासगरी हिन्दु मतदाताको मन जित्न सक्ने तार्किक, बौद्धिक युवा व्यक्ति अभिाषेक जोशीलाई उम्मेदबार बनाएको छ । बाँकी उम्मेवार पनि आ–आफ्नो ठाउँमा सक्षम छन् ।
२०७९ को निर्वाचन तथा २०८० को उपनिर्वाचनको मत परिणामको विश्लेषण केही पूर्वानुमान गर्न सकिन्छ तर कसको जित हुन्छ सहजै भन्न सकिने अवस्था छैन । कसले जित्ला ? कसले वाजी मार्ला ? यस्ता प्रश्नको उत्तर पाउन हामीले फागुन २१ सम्म कुर्नै पर्ने हुन्छ ।
तनहुँ–१ ले कसलाई पठाउला सदनमा ?
previous post
