दमौली/आइतबार र सोमबार मनोनयन दार्तासंगै देशभर जस्तै तनहुँमा पनि स्थानीय निकायको निर्वाचनको गतिविधि बढेको छ । मनोनयन दर्ता गरेसंगै दलहरु मतदाताका घर दैलोमा आफ्ना प्रतिबद्धताको पोको बोकेर जान थालेका छन् ।
पालिका तथा वडामा वर्षेनी आउने ठूलो आकारको बजेट र त्यसको वितरणमा हुने आफ्नो प्रमुख भूमिकाका अतिरिक्त जनप्रतिनिधि भएबापत प्राप्त हुने सुविधाको कारण यस पटकको स्थानीय निर्वाचनमा पालिका प्रमुख वा उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य हुन आकांक्षा राख्नेहरुको संख्या उल्लेख्य रह्यो ।
चार नगरपालिका तथा छ गाउँ पालिका रहेको तनहुँमा तिनीहरुको प्रमुख तथा उप–प्रमुख र अध्यक्ष तथा उपाध्यक्ष गरी जम्मा २० जना निर्वाचित भएर आउने हुन् । तर जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार चार नगर पालिकाको प्रमुख हुन ३४ तथा ६ गाउँ पालिकाको अध्यक्ष हुन ३७ जनाले उम्मेबारी दर्ता गराएका छन् । यसैगरी उपप्रमुखका लागि २३ तथा उपाध्यक्षका लागि ३३ जनाले मनोनयन दर्ता गराएका छन् ।
तनहुँका १० स्थानीय निकायमा जम्मा ८५ वडा रहेका छन् । प्रत्येक वडामा एक वडाध्यक्ष रहने व्यवस्था भए अनुसार ८५ नै वडाध्यक्ष निर्वाचित भएर आउने हुन् तर वडाध्क्षमा मनोनयन दर्ता गराउनेको संख्या भने ४०६ रहेको छ । ८५ महिला सदस्यका लागि २९५, सोही संख्याको दलित महिला सदस्यका लागि २७७ तथा १७० खुल्ला सदस्यका लागि ६३६ जनाको मनोनय दर्ता भएको आयोगले जनाएको छ ।
अघिल्लो स्थानीय निर्वाचनमा एमालेका उम्मेदबारले भन्दा ९ हजार ४६४ बढी मत ल्याएर नगर प्रमुख पदमा निर्वाचित कांग्रेस पूर्व सभापति बैकुण्ठ न्यापानेलाई अहिले विजयी हुन कठिन हुने आंकलन गर्न थालिएको छ । टिकट वितरणकै विषयलाई लिएर असन्तुष्टी जनाउँदै पूर्व सचिव तथा संगठन विभाग प्रमुख विश्व वास्तोला, युवा नेता चुडामणी दाहाल, दीर्घबहादुर थापा तथा बाबुराम बगाले लगाएतले पार्टी साधारण सदस्य समेत नरहेने गरी राजिनामा दिएका छन् । दाहालले जोशी समूहबाट एमालेसंग गठबन्धन गरेर वडा नं १ बाट स्वतन्त्र उम्मेदबारी समेत दिएका छन् ।
अर्काे तिर पुराना व्यवासायी वृखराज श्रेष्ठले स्वतन्त्र रुपमा नगर प्रमुखको पदमा उम्मेदबारी दिएका छन् । न्यौपानेका लागि अझ ठूलो चुनौति बनेका छन्, कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दिपकराज
जोशी । जोशीले एमालेसंग गठबन्धन गरेर नगर प्रमुख पदमा उम्मेदबारी दिएका छन् । कांग्रेसले आफुलाई बारम्बार लखेटेको बताउने पूर्व सहमहामन्त्री जोशीकोलागि प्रतिष्ठाको विषय बनेको छोराको मेयर पदमा उम्मेदबारी एमालेको लागि पनि प्रतिष्ठकै विषय भएकाले दुवै पक्ष कम्मर कसेर लागि पर्ने भएकाले पनि न्यौपानेको जित सहज नभएको अनुमान लगाउने गरिएको हो ।
जोशी, एमाले गठबन्धनले निर्वाचत जित्छ/जित्दैन । जितेमा राजनीतिको दाउपेच र जालझेल तथा दवाव र प्रभाव झेल्ने बानी नपरेका दिपकले कसरी नगरपालिका हाँक्छन् ? त्यो पछिको कुरा भयो तर कांग्रेसको परम्परागत विरासत भत्काउने सन्दर्भमा भने जोशी दह्रो चुनौति नै हुन् । गठबन्धनका प्रखर पक्षपाति कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै नगरमा समेत गठबन्धन गर्न नसकेको कुराले चिढिएका नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्रको सम्भावित भूमिका पनि न्यौपानेको लागि चुनोति नै हुनेछ ।
झिनो मतान्तरले कांग्रेले जितको भानु नपामा पनि राम्रालाई भन्दा हाम्रालाई उम्मेदबार बनाइएको भन्दै असन्तुष्टी जनाउने नेता कार्यकर्ताको संख्या ठूलै छ । केन्द्रीय सदस्य धेरै भएका र सबैको चित्त बुझाउने क्रममा राम्रा होइन नेताका हाम्रा व्यक्तिले टिकट पाएको भन्दै भानुमा व्याप्त असन्तुष्टीले कांग्रेसलाई भानुमा आफ्नो विरासत कायम राख्नु हम्मे पर्ने देखिएको हो ।
सातसयको मतान्तरले कांग्रेसल जितेको अर्काे नपा शुक्लाको अवस्था पनि व्यासको भन्दा फरक छैन । कांग्रेसका तर्फबाट कृष्णराज पण्डित प्रमुखको उम्मेदबार बनेका छन् तर आफ्नो योगदानको अबमूल्यन गरिएको भन्दै स्थानीय नेता महेश्वर भट्राईले स्वतन्त्र उम्मेदबारी दिएसंगै पण्डितका लागि जित असहज बनेको छ । शुक्ला–३ तथा ८ बाट क्रमषः युवा नेताहरु दिपेन्द्र पौडेल र ऋषिराम महतले कांग्रेस साधारण सदस्यता समेत त्यागेर स्वतन्त्र उम्मेदबारी हालेपछि पण्डितका लागि जित थप जटिल बनेको हो । अघिल्लो निर्वाचनमा कांग्रेस उम्मेदबारले जितेका ऋषिङ, म्याग्दे तथा आँबुखैरेनीको अवस्था पनि सोचभन्दा फरक देखिएका छन् । उता एमालेका उम्मेदबारले जित हातपारेका भिमाद, घिरिङ र देवघाटको अवस्था पनि उसका लागि फेरी जित हात पार्न सहज नभएको बताउने गरिन्छ । माओवादी केन्द्रले जित हात पारेको बन्दीपुर पनि उसका लागि सहज छैन । यि सबै अवस्थाहरुको विश्लेषण गर्र्र्दा पूर्व दृष्यहरु बदलिने आंकलन गर्न थालिएको हो । ब्यास, भानु र शुक्ला बाहेकका स्थानीय तहका चुनावी सजिला असजिला बारे आगामी अंकमा चर्चा गरिनेछ ।
तनहुँमा स्थानीय निर्वाचन, असन्तुष्टिले पूर्व दृष्य बदलिने आंकलन
previous post