दमौली/तनहुँका चौपायामा अहिले लम्पी स्किन रोग महामारीको रुपमा फैलिएको छ । लम्पी रोगबाट हाल सम्म ४३ भन्दा बढी गाईभैंसी मरेका छन् ।
समयमै किसानले रोगका बारेमा थाहा नपाउँदा र रोगी तथा निरोगी गाईभैंसीलाई एकै थलोमा बाँध्न थालेपछि रोग महामारीको रुपमा फैलिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताउनुभयो । महामारीले गर्दा छोटो अवधिमै जिल्लाभर ४३ बढी गाईभैंसी मरेका र ६४८ गाईभैंसीमा रोग फैलिसकेको श्रेष्ठले जानकारी दिनुभयो । केन्द्र प्रमुख श्रेष्ठका अनुसार सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकामा २३५ गाईभैंसीमा फैलिएको छ भने १६ वटा मरेका छन् । भिमाद १०२ प्रभावित भएका छन् भने ११ मरेका छन् । घिरिङ गाउँपालिकामा यसैगरी ८७ मा फैलिएको छ भने ११ मरेका छन् । बन्दीपुरमा २४ वटामा फैलिएका छन् भने दुई मरेका छन् । व्यास नगरपालिकामा १२ वटामा फैलिएको छ भने भानुमा २१ वटामा सङ्क्रमण भएको छ । म्याग्देमा १ मरेको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र जिल्लाका १० वटै पालिकाले प्राविधिक खटाएर उपचार गर्दै आएपछि केही ठीक भएपनि गाईभैंसी मर्न छाडेका छैनन् । सङ्क्रात्मक विषाणुजन्य रोग लम्पी स्किनबाट भैंसीको तुलनामा गाईगोरुहरूमा बढी देखिएको केन्द्रले जनाएको छ ।
यस रोगको सङ्क्रमण हुँदा गाई भैँसीमा अत्यधिक ज्वरो आउने, पशु झोक्राउने, दाना पानी नखाने, दुहुना गाई भैँसीको दूध घट्ने, शरीरका विभिन्न भागहरूमा गिर्खा आउने र पछि गिर्खाहरू फुटी अल्सर हुने आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, रोगी पशुलाई जीवाणुको सङ्क्रमणले निमोनिया र थुनेलो हुने जस्ता समस्या पैदा भई पशुको मृत्यु हुने गरेको केन्द्र प्रमुख श्रेष्ठले बताउनुभयो । रोगको सङ्क्रमणको दर अनुसार पशुको मृत्युदर न्यून रहेको उहाँको भनाई छ । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने श्रेष्ठले बताउनुभयो । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप बढीरहेको उहाँले जानकारी दिनुभयो । गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कतिपयको मृत्यु समेत हुने केन्द्रले जनाएको छ । त्यस्तै सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ ।
सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ भएमा यो रोग छिटो फैलिने हुँदा सर्तकता अपनाउनु पर्छ ।
रोग नियन्त्रण र रोकथामको जनचेतना फैलाउन प्रचार प्रसार सामाग्री तथा सूचना प्रकाशन गर्ने, रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप कार्यक्रम सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख श्रेष्ठले बताउनुभयो । जस अनुसार केन्द्रबाट आकस्मित उपचार अन्तर्गत एक लाख रुपियाँको खोप खरीद गरिएको छ । रोगको सङ्क्रमणग्रस्त क्षेत्रमा तत्काल निःसंक्रमण, उपचार लगायतका नियन्त्रणका कार्यहरू सञ्चालन गर्न विज्ञ केन्द्रमा तत्काल सङ्क्रमण नियन्त्रण टिम गठन गरी पालिकासँग समन्वय गरी परिचालन गरिएको छ । रोग सर्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासन कार्यालयसँगको समन्वयमा प्रचलित कानुन बमोजिम पशु ढुवानी र ओसारपसार कार्यलाई नियन्त्रण वा निषेध गरिएको केन्द्रले जनाएको छ ।
रोग लागेको पशुलाई अलगै राख्ने, उपचार तथा उपचारमा खट्नेले नुहाएर र कपडा परिवर्तन गर्न पर्ने, ओसार पोसार नगर्ने, जुठो नखुवाउने जस्ता सुरक्षाका विधिहरू अवलम्बन गर्न आग्रह गरिएको डा.श्रेष्ठले जानकारी दिनुभयो । १ डोज चहिने भएपनि डोज छुट्टाएर किन्न नपाईदा मर्का परेको किसानले बताएका छन् । २५ डोजको औषधी किन्नु ५ हजारमा खरीद गर्नुपर्ने बाध्य भएको व्यास नगरपालिका–५ चिन्तुटारका नरे नेपालीले बताउनुभयो । नेपालीले भन्नुभयो,‘‘मेरो एउटा गाईको लागि १ डोज भए पुग्थ्यो तर २५ डोजको किन्नु पर्दा मर्का प¥यो ।’’ तनहुँमा यसको खोप नपाईएको पोखरा, चितवनबाट मगाउनु परेको किसानले दुखेसो गरेका छन् ।
भारतबाट २०७७ मा मोरङ हुँदै नेपाल छिरेको लम्पीस्किन रोग हाल देशका ३० बढी जिल्लामा फैलिएको बताइएको छ । विशेषगरी यो रोग ठूला पशुचौपाया गाई, गोरु, भैँसी, राँगोमा देखा पर्ने विज्ञहरूको भनाइ छ । खोटाङमा भने गाईगोरुमा मात्र देखापरेको छ । अधिकांश गाईगोरुमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्नेलगायतका लक्षण देखिएपछि कृषकहरू चिन्तित बनेका छन् ।
तनहुँमा लम्पी स्किनबाट चौपायाको मृत्यू
previous post