नगरपालिकामा व्यासलाई र गाउँपालिकामा ऋषिङलाई धेरै अनुदान
दमौली/नेपाल सरकारले जेठ १५ मा सार्वजनिक गरेको बजेट विवरण अनुसार तनहुँका स्थानीय निकायले वित्तिय समानिकरण अनुदान तथा ससर्त अनुदान गरी ३ अर्व ७० करोड अनुदान पाउने भएका छन् ।
पालिकाको परिषदबाट योजना छनौट तथा पारित गरि विकास निर्माणका काममा खर्च गर्न पाउने वित्तिय समानिकरण अनुदान अन्र्तगत यहाँका स्थानीय निकायले १ अर्व १२ करोड ३५ लाख रुपैयाँ पाउने भएका छन् । शिक्षक तथा कर्मचारीको तलब भत्ता, सामाजिक सुरक्षा भत्ता , पालिकाको प्रशासनिक खर्च तथा जनप्रतिनिधिको तलब तथा भत्तामा खर्च गर्न पाउने गरी नेपाल सरकारले ससर्त अनुदान शीर्षकमा प्रदान गर्ने बजेट रकम १ अर्व ८८ करोड ३५ लाख रुपैयाँ रहेको छ । अर्थमन्त्रालयका अनुसार तनहुँका स्थानीय निकाय मध्ये सबैभन्दा धेरै अनुदान पाउनेमा जिल्ला सदरमुकाम रहेको व्यास नगरपालिका रहेको छ । व्यास नपाले कुल ६० करोड ९३ लाख अनुदान प्राप्त गरेको छ । नगरपालिका मध्ये सबैभन्दा थोरै अनुदान पाउने भीमाद नपाले २९ करोड १९ लाख प्राप्त गरेको छ ।
गाउँपालिका तर्फ ऋषिङ गाउँ पालिकाले सबैभन्दा धेरै २४ करोड ६२ लाख अनुदान प्राप्त गरेको छ भने सबैभन्दा थोरै घिरिङ गाउँपालिकाले १८ करोड ४७ लाख अनुदान प्राप्त गरेको छ । यसबाहेक स्थानीय सरकारहरुले राजस्व बाँडफाँड, विशेष अनुदान र समपूरक अनुदानबापत पनि छुट्टै अनुदान प्राप्त गर्ने व्यवस्था रहेको छ । राजस्व बाडफाँड बाहेकका अनुदान पालिकाको कार्यसम्पादनका आधारमा निर्धारण हुने गर्दछ ।