चौधौं महाधिवेशनका बेला विचारमा भन्दा नेतृत्व चयनमा केन्द्रीत रहेको भन्दै वैचारिक हिसाबले तदर्थवादमा रहेको भनेर आरोप खेपिरहेको कांग्रेस नेतृत्व चयनका हिसाबले पनि तदर्थवादमा रहेको देखिन आएको छ । नयाँलाई जनमतद्वारा अनुमोदित भएर नेतृत्वमा आउने बाटो बन्द गर्ने काम यसका भ्रातृ संघहरुमा चलेको छ ।
माघ २७ मा सुरु भएर फागुन ३ मा सकिएको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको वैठकले अवधि समाप्त भएका भ्रातृ संघको केन्द्रीय समितिहरु नेपाली कांग्रेसको विधान बमोजिम स्वतः विघटन भएको भन्दै पार्टी केन्द्रीय सभापतिले आवश्यक परामर्श गरेर फागुन मसान्त भित्र ती भ्रातृ संघको केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।
वर्षाैदेखि तदर्थवादमा चल्दै आएका नेपाली कांग्रेसका भ्रातृ संघहरु नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल तथा नेपाल भूतपूर्व सैनिक संघ अब फेरी टिके प्रणालीमा चल्नेछन् । सम्पादन समितिले दिएको अधिकार प्रयोग गर्दै कांग्रेस सभापति देउवाले ती भ्रातृ संघको नेतृत्व छनौट गर्नेछन् । स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम आएको मितिले ३ महिना भित्र नयाँ नेतृत्वले केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिने तथा तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न नसक्ने कार्यसमिति स्वतः विघटन हुने निर्णय समेत कार्यसम्पादन समितिले गरेको छ ।
यस अघिका अभ्यास र कार्यप्रणालीलाई देखे भोगेका कांग्रेसजन तथा भ्रातृ संघका सदस्यहरु तोकिएको समयमा महाधिवेशन हुने कुरामा विश्वस्त हुन सकेका छैनन् । दल तथा तिनका भ्रातृ संगठनका महाधिवेशन भनेका तिनमा प्राण भर्ने अभियान हुन । महाधिवेशनले संगठनलाई मजबुत मात्र बनाउँदैन वैचारिक हिसावले समेत चुस्त बनाउँछ, धारिलो बनाउँछ । तर नेताहरुको अकमण्र्यताले कांग्रेस जसले आफुलाई प्रजातन्त्रको पर्याय भन्छ, उसका भ्रातृ संस्थाहरुको अधिवेशन वर्षाैंदेखि हुन सकेको छैनन् र यस पटक पनि निर्वाचनको कारण देखाई तदर्थवादमै चलाउन खोजिएको छ । यसले कांग्रेसको विश्वसनियतामा नै प्रश्न उठेको छ भने संगठन सुस्त त छ नै वैचारिक हिसावले पनि भुत्ते भएको छ । तसर्थ यस अघि जे भएपनि अब तोकिएको समयमा महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने तथा सांगठनिक तथा वैचारिक रुपमा सवल बन्ने अवसर कांग्रेसले आफ्ना भ्रातृ संघहरुलाई दिनु आवश्यक छ । अरुका गैर लोकतान्त्रिक आचरणका विरुद्ध औला उठाउने कांग्रेसले आफैैभित्र यस्तो आचरण पाल्नु र मौलाउन दिनु कदापी राम्रो होइन् ।
तदर्थवादमा कांग्रेस-सम्पादकीय
previous post