
…के गर्नु सर जति भनेपनि लाग्दै लाग्दैन । अलिअलि हाकीदाकी त गर्छु, टेर्दैैन । धेरै कराम, अलिअलि पिटपाट पारम् भनेनी केहि नराम्रो गरीहाल्छ कि भन्ने डर कसो गर्ने होला सर ? साह्रै गाह्रो भयो त ।
दुई दिन अगाडी हाम्रै विद्यालयमा आफ्नो बच्चाको नतिजा सुन्न आउनुभएको अभिभावकले पङ्क्तिकारसँग पोख्नु भएको दुखेसो हो यो । यो एउटा प्रतिनिधि घटना भएपनि वर्तमान समयमा किशोर अवस्थाका बालबालिकाहरुको अधिकांश अभिभावकहरुको साझा समस्या हो यो । आफ्ना बाल बच्चाहरु गलत प्रवृतिको शिकार हुँदैछन् भन्ने जान्दाजान्दै पनि अधिकांश अभिभावकहरु उनीहरुलाई सहि मार्गमा ल्याउने यथेष्ट प्रयास गर्दैनन्, गर्न डराउँछन् । बरु उहाँहरु अरुसँग आफ्नो दुखेसो पोखेर, अरुको हेरेर चित्त बुझाउने प्रयास गर्नुहुन्छ । जसको एकमात्र कारण हो बालबच्चाले कतै गलत कदम चालिहाल्छन् कि भन्ने डर । अहिले अधिकांश किशोर बालबालिकाहरुको अभिभावक यहि डर मनमा लिएर बाँचिरहेका छन् । हो अहिले धेरै अभिभावक ज्यूहरु डराउनुभएको छ । त्यसैले जान्दा जान्दै पनि आफ्ना बालबच्चाहरुलाई तह लगाउने यथेष्ट प्रयास गर्न सक्नुहुन्न । तर के डराएर बस्नु मात्रै समस्याको समाधान हो त ? यो डरबाट बाहिर निस्कने कुनै उपाय नै छैन त ? आजको लेखमा यहि सन्दर्भसंग आधारीत रहेर केहि विचारहरु राख्ने जमर्को गरेको
छु ।
समस्या समाधानको उपायहरुको बारेमा बहस गर्नु पूर्व समस्याकै बारेमा केहि बहस गरौं । बेला बेलामा समाचारमा आईरहन्छ, १६–१७ वर्षका विद्यालय उमेरका कलिला नानीबाबुहरुले अत्महत्या गरेको हृदयविदारक खबरहरु । साना साना कारणहरु जस्तो कि साथीसंगको मनमुटाव, अभिभावकको आफ्नो माग पुरा नगरीदिनु, प्रेममा बिछोड हुनु यस्तै यस्तै कारणहरुले किशोर अवस्थाकाको बालबालिकाहरुले अत्महत्या जस्तो भयानक कदम उठाउने साहस गरेको देखिन्छ । गम्भिर प्रश्न चाहि के हो भने १६–१७ वर्षका नानीबाबुहरुले यस्तो खतरापूर्ण काम गनेै साहस कसरी गर्छन् ? कहाँबाट सिक्दैछन् अहिलेका पु्स्ताका बालबालिकाहरुले यस्तो गलत क्रियाकलाप ? अनि बालबालिकामा विकास भईरहेको यस्तो गलत मनोविज्ञानको लागि हामी स्वयम् अभिभावक कतिको जिम्मेवार छौं ?
किसोर अवसस्था स्वभावले नै जिज्ञासु उमेर हो । शारीरिक परिवर्तन, मानसिक परिवर्तन पनि तिब्र रुपले हुने उमेर भएको हुँदा यो उमेर समूहका बालबालिकाहरु अलि बढी चंचल हुने, छिट्टै रिसाउने, साना साना कुराले पनि धेरै ठेस पुग्ने, स्वभावका हुन्छन् । मानव बृद्धि र विकासको यो एउटा स्वभाविक प्राकृतिक प्रक्रिया हो । सामान्य रुपमा सम्झाई बुझाई गर्दा पनि यस्ता समस्याहरुबाट पार लगाउन सकिन्छ । तर जब बालबालिकाहरुले आत्महत्या जस्तो गंभिर कदम चाल्ने साहस गर्दछन् तब त्यसलाई कुनै पनि दृष्टिकोणबाट सामान्य मान्न सकिदेै । आत्महत्या भनेको जुन सुकै उमेर समूहका मानिसले गरेपनि त्यो सामान्य कुरा होइन । झन राम्रोसंग संसार पनि नबुझेका, बालबालिकाहरुले यस्तो कदम चाल्नु त भयानक खतराको संकेत हो । अहिलेको समय प्रविधिको समय हो । समाजका हरेक व्यक्तिहरु प्रविधिको पहूँचमा छन् । बालबालिकाहरु पनि यो कुराबाट अलग रहने कुरा भएन । तर बालबालिकाहरुले प्रविधिको अति प्रयोग र गलत प्रयोग गर्दा ठूला ठूला घटनाहरु घटिरहेका छन् । यूटुप फेस बुक जस्ता सामाजिक सञ्जालहरुमा राम्रो कुरा पनि आईरहेका हुन्छन् । नराम्रा कुरा पनि आई रहेका हुन्छन् । स्वभावैले किसोर अवस्थाका बालकालिका हरु राम्रो भन्दा पनि नराम्रो कुरा तर्फ आकर्षित हुन्छन् । त्यस्तै सिको गर्न थाल्छन् । सुरो बन्दै जान्छन् । जसको फलस्वरुप हामीले अप्रत्यासित घटनाहरुको सामना गर्नुपरिरहेको हुन्छ ।
बालबालिकाहरु समस्यामा छन् । निश्चित रुपमा समस्यामा छन् । चाहेर नचाहेर, जानेर उनिहरु यस्तो गलत प्रबृत्तिको सिकार भैरहेका छन् । यसको सबैभन्दा बढी जिम्मेवार स्वयम हामी अभिभावक हौं र समाधान पनि स्वयम अभिभावक नै ।
हामीभित्र रहेको डर नै हाम्रो समस्याको सबैभन्दा ठूलो कारण हो । जबसम्म हामी हाम्रो मनबाट मेरो बच्चाले केही गलत कदम उठाई हाल्छ कि भन्ने डरलाई निकाल्न सक्दैनौं । तबसम्म हामी यो समस्याबाट मुक्त हुन सक्दैनौं । मेरो बच्चा कायर छैन, मेरो बच्चाले राम्रो संस्कार पाएको छ, मेरो बच्चाले त्यस्तो गलत कदम उठाउन सक्दैन भन्ने आत्मविश्वास हुनु आवश्यक सबैभन्दा पहिला । आत्मविश्वास भएर मात्रै पुग्दैन, त्यही अनुसारको संस्कार र शिक्षा पनि दिन सक्नु पर्दछ । तर पहिले आत्मविश्वास हुनु पनि आवश्यक छ । बालबच्चा सानो हुँदा हामी आफ्नो बच्चा अरुको भन्दा कम नहोस् भन्ने मानसिकता र सन्तानप्रतिको मोहले गर्दा उसको हर इच्छा पुरा गर्ने कोशिस गर्दछौं । चाहे ती आवश्यक हुन् या अनावश्यक । कतिपय अवस्थामा उनिहरुले इच्छै नगरेको कुराहरु पनि हामी पुरा गरिदिन्छौं । जसले गर्दा बालबालिकाहरुमा सानैदेखि आवश्यकता भन्दा बढी इच्छा गर्ने बानीको विकास हुन्छ । हुर्कदै जाँदा उनिहरुको इच्छा पुरा नभएमा खाना नखाने, स्कूल जान नमान्ने, रोएर कराएर घुर्कि लगाउने, जिद्धि गर्ने बानीको विस्तारै विस्तारै विकास हुन्छ । सन्तानको मायाँले गर्दा हामी ती कुराहरुलाई बच्चाहरु यस्तै हुन भनेर त्यति खास ध्यान दिन्नौं र उनिहरुको इच्छा पुरा गरिदिन्छौं । जसले गर्दा हुर्कदै जाँदा आफ्नो इच्छा पुरा गराउन अभिभावकलाई घुक्र्याउने, धम्क्याउने गलत बानीको विकास हुँदै जान्छ र ठूलो भएपछि यस्तो चाहियो, त्यस्तो चाहियो । नदिए यसो गर्छु, त्यसो गर्छु, मर्दिन्छु भन्ने सम्मको अवस्थामा पुग्दछन् । त्यसैले बालबालिकालाई सानै उमेरदेखि सहि संस्कार दिनु आवश्यक छ ।
बालबालिका सानै भए त माथि भनिएका कुराहरु काममा आएः छोरा छोरी हुर्किसकेपछिको अवस्थामा के गर्ने ? हामीले के बुझ्नु जरुरी छ भने, हाम्रो बालबच्चाले यस्तो चाहियो, त्यस्तो चाहियो, नपाए यस्तो गर्दछु, त्यस्तो गर्दछु भनेको, आफ्नो कुरा मनाउनको लागि मात्र हो । शुरुवाति अवस्थामा नै उनिहरुको अनावश्यक इच्छाहरु माथि अंकुश लगाउनु पर्दछ । साँच्चै केही गरिहाल्छ कि भन्दै हरेक कुरा मान्दै जाँदा उनिहरुको त्यो गलत प्रबृत्ति झन बलियो रुपमा विकसित हुँदै जान्छ । तसर्थ समयमै सचेत हुनु पर्दछ । सम्झाई बुझाई गर्दा मान्दैनन् भने सही बाटोमा ल्याउन आफ्नो छोरा छोरीलाई दुई चार झापड लगाउनु परेपनि लगाउनु पर्दछ । हुन त बालबालिकाहरुलाई कुनै पनि बाहानामा कुनै पनि शारीरिक दण्ड दिनु बालअधिकारको विरुद्ध हो । तर अधिकार भन्दैमा जानीजानी विग्रन दिनु पनि त भएन ।
हाम्रो बालबालिकाले हामीले भनेको नटेर्ने अर्को कारण हो, बालबालिकालाई शिक्षकले तह लगाउँछन् भन्ने गलत
बुझाई । बालबालिकालाई सही मार्गमा ल्याउनुमा शिक्षकको पनि अहं भूमिका हुन्छ । यसमा दुईमत छैन । तर जे जे गर्नुपर्दछ, शिक्षकले नै गर्छ भनेर बस्नु चाहिी गलत कुरा हो । भोलि बालबालिका गलत बाटोमा हिडे भने शिक्षकलाई त सयौं विद्यार्थीहरुमा दुई चारवटा विग्रिए भन्ने न हो । छोरा छोरी विग्रिएर सबै थोक सकिने त हाम्रो हो नि ।
त्यसकारण अभिभावकहरुले के बुझ्नु आवश्यक छ भने हाम्रा छोरा छोरीलाई यदि कसैले तह लगाउन सक्छ भने हामीले नै सक्छौं ।
वर्तमान समयमा हामी अभिभावकबाट हुने अर्को गल्ति भनेको प्रयाप्त समय नदिनु हो । एक पटक मनन् गरौं त २४ घण्टामा हामी हाम्रो बालबच्चालाई कतिसमय दिन्छौं ? उनिहरुलाई राम्रो संस्कार दिन हामीले कति प्रयास गरेका छौं ? बालबालिकालाई प्रयाप्त समय नदिंदा उनिहरु विग्रने सबैभन्दा ठूलो जोखिम हुन्छ । त्यसकारण प्रसस्त समय दिऔं । दिनमा एक पटक परिवारको सबै सदस्य संगै खाना खाऊँ । बालबालिकासंग पारिवारिकासंग गफगाफ गर्ने गरौं । बाबु नानी सानासाना छन् भने उनिहरुलाई भुलाउन मोवाईल टिभिको सहारा लिनु भन्दा कथा सुनाउने विकास गरौं । भनिन्छ बालबालिकालाई कथा सुनाउनु भनेको भोलिको एउटा विद्वान तयार पार्नु हो । प्रत्येक दिन आफ्नो छोरा छोरीको दिन कस्तो वित्यो, के के ग¥यो, सोध्ने गरौं । अलिकति हुर्कि सकेका छोरा छोरीलाई घरको आर्थिक छलफलमा पनि सहभागि पनि सहभागि गराऔं ।
जसले गर्दा उसलाई आफ्नो घरको अवस्था थाहा हुन्छ र अनावश्यक इच्छाहरु व्यक्त नगर्न सक्छ । आफ्नो छोरा छोरीको इच्छा पुरा गर्ने मात्र होइन । उनिहरुलाई पारिवारिक जिम्मेवारी पनि दिने गरौं । जसले गर्दा उसले आफूलाई जिम्मेवार महसुस गर्न सिकोस् । सबैभन्दा महत्वपूर्ण कुरा चाहि आफ्नो छोरा छोरीको सानातिना गल्तिलाई केटा केटी हो यस्तो त भैहाल्छ भनेर नजर अन्दाज गर्ने गल्ति नगरौं । सानातिना गल्ति गर्दा गर्दै ठूलो गल्ति हुने हो । त्यस कारण आफ्नो बालबच्चाको हर कुराप्रति सचेत रहने कोशिस गरौं ।
जबसम्म हामी आफ्नो बालबच्चाको अगाडि आफूलाई निरिह पाउँछौं, तबसम्म हामी उसलाई संस्कार दिन र सहि मार्ग देखाउन सक्दैनौं । तसर्थ आवश्यक मात्र कडा हुन पनि सिक्नु पर्दछ । यसको अर्थ च्यापेरै राख्नु पर्दछ भन्ने होइन । तर अनावश्यक स्वतन्त्रता दिनु पनि हुँदैन । नत्र भने के गर्नु, केही नराम्रो गरिहाल्छ कि भन्ने डरबाट हामी कहिल्यै पनि मुक्त हुन सक्दैनौं ।