
– गत शुक्रबार नेपाली कांग्रेस तनहुँले आफ्ना संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालको जन्म जयन्तीका अवसर पारेर आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले गुणादीको चुन्याहा पानी खाएर दमौलीवासी विरामी पर्ने गरेको बताए पछि उनको निकै आलोचना भयो । पौडेलको पक्ष विपक्षमा सामाजिक सञ्जालमा विचार राख्ने क्रम अझै रोकिएको छैन । नेपाली कांग्रेस तनहुँले मंसिर ४ को निर्वाचनका लागि उनी सहित अन्य दुइ जनाको नाम क्षेत्र नं १ को उम्मेदबारमा सिफारिस गरेको छ ।
–एमाले नेता विष्णु पौडेल बालुवाटार जग्गा काण्डमा मुछिए । उनले आफ्नो अज्ञानता बताउँदै जग्गा फिर्ता गर्ने बताएपछि सफाई पाए । र अहिले एमाले रुपन्देहीले उनलाई मंसिर ४ मा हुने संघीय संसदको निर्वाचनका लागि उम्मेदबार सिफारिस गरेको छ ।
–काभ्रेपलाञ्चोक–२ बाट अघिल्लो निर्वाचनमा निर्वाचित एमाले नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिए । उनको प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भयो । बास्कोटा पनि मंसिर ४ मा हुने निर्वाचनमा काभ्रेबाट उम्मेदबारका लागि एमालेबाट सिफारिस भएका छन् ।
–रौतहट निवासी कांग्रेस नेता महोम्मद अफताव आलम मानिसलाई जिउँदै इट्टा भट्टीमा जलाएको आरोपमा निलम्बित भएका छन् । उनी दोषी हुन वा होइनन् त्यसको छिनोफानो हुन बाँकी नै छ तर आम मानिसको नजरमा उनी आफ्नो अपराध लुकाउन जिउँदै मानिसलाई भट्टीमा हालेर जलाउने मानिस हुन् । आलमलाई पनि रौतहट कांग्रेसले आगामी निर्वाचनमा उम्मेदबारका लागि सिफारिस गरेको छ ।
–रोल्पा लिवाङमा जन्मेका माओवादी नेता तथा तत्कालिन सभामुख कृष्णबहादुर महरा, रोशनी शाहीसंगको यौन काण्डमा मुछिए । उनले अदालतबाट सफाई पाए । कुनै अभियुक्त यस्ता हुन्छन् जसले अदालतबाट त सफाई पाउँछन् तर जनताको नजरबाट सफाई पाएका हुँदैनन् । महारा त्यस्तै अभियुक्त मध्येका हुन् । उनलाई पनि माओवादी रोल्पाले आगामी निर्वाचनका लागि उम्मेदबार सिफारिस गरेको छ ।
हामी माथि जसले शासन गरिरहेका छन्, तिनीहरुका तस्विर हुन् माथिका । तस्विर आफै बोलेका छन्, त्यसबारे मलाई केही भन्नु छैन । जिज्ञासा के मात्र हो भने आफ्नो घाँटी भिजाउन छोडेर, खेत बाँझो राखेर दशकौं देखि दमौलीवासीलाई पानी दिने गुणादीका वासिन्दाप्रति कृतज्ञ हुनुपर्ने पौडेलले किन त्यसो भने ? २०५१ देखिका निर्वाचन जिताउन सघाएका गुणादीका वासिन्दाको मन कुड्याउने आत्मविश्वास केले दियो ? अनि “जिब्रोको गरिमा, मिठो बोलिमा” भन्ने नबुझेका हुन् या बुझ्न नचाहेका हुन् ? र के को आडमा फेरी निर्वाचनमा होमिन खोज्दैछन् ?
तनहुँका कांग्रेस नेता पौडेलमात्र होइन, स्याङ्जामा जन्मेर रुपन्देहीको बासिन्दा बन्न पुगेका विष्णु पौडेल बालुवाटारको सरकारी जग्गा आफ्नो छोराको नाममा बनाएपछि विवादमा आएका थिए । तर झण्डै दुइतिहाई बहुमत सहितको नेकपा सरकारका शक्तिशाली प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका विश्वास पात्र उनले जग्गा फिर्ता गर्ने बताएपछि सफाई मात्र पाएनन् बरु उपप्रधानमन्त्री तथा अर्थमन्त्री लगाएतका पद पुरस्कार समेत पाए । सरकारी जग्गा व्यक्तिका नाममा बनाएको अभियोग लागेका उनीसंग पनि यही प्रश्न हो कि केको बलमा निर्वाचनमा होमिन खोज्दैछन् ।
इ–पासपोर्ट छपाईका लागि ल्याउन लागिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका गर्ने समयमा स्वीस कम्पनीको एजेन्टसंग प्रेस खरिदमा ७० करोड कमिसनका लागि गरिरहेको सौदावाजीको अडियो सार्वजनिक भएपछि गोकुल वास्कोटा विवादमा आए । ७० करोड होइन ७० अर्ब हान्देको हो । त्यो कसैको बाउको सम्पत्ती होइन, राज्यको ढुकुटी हो भन्दै सार्वजनिक सञ्चार माध्यममा भ्रष्टाचार गरेको स्वीकार्ने बास्कोटा भ्रष्टाचार पनि गर्दिन र गर्न पनि दिन्न भन्ने ओलीका यति विश्वास पात्र हुन कि ७० करोड कमिसन काण्ड बाहिरिनु अघिल्लो दिन ओलीले उनलाई अरु राजनीतिज्ञ एकातिर र गोकुल बास्कोटा एकातिर तुलोमा राख्ने हो भने गोकुलको पल्ला भारी हुने बताएका थिए । उनै बास्कोटा यसपटक पनि काभ्रेबाट उम्मेदबार हुने निश्चित प्रायः छ ।
२०६४ सालको संविधान सभा निर्वाचनका बेला रौतहटमा भएको बम काण्डका अभियुक्त महोमद आफताब आलममाथि २२ जना नेपाली नागरिकको हत्या गरेको अभियोग छ । विपक्षी मतदातालाई तर्साएर निर्वाचन जित्ने वातावरण बनाउन आफताबको घरमा बम बनाइएको र असावधानी वस् बम पड्किन जाँदा घाइते ८ र मृत्यु हुन पुगेका १४ जनालाई इट्टा भट्टीमा जलाएर हत्याको प्रमाण नष्ट गरेको आरोप आलमलाई लागेको छ । र आलम आगामी निर्वाचनमा रौतहटबाट उम्मेदबारी दिने तरखरमा छन् यद्यपि कांग्रेस महामन्त्री गगनकुमार थापाले आलमलाई उम्मेदबार नबनाउने बताएका छन् ।
लामो समयदेखि चिनजानमा रहेकी संसद सचिवालयकी एक कर्मचारी माथि यौन दुव्र्यवहार गरेको आरोप लागेका कृष्णबहादुर महरा पनि उम्मेदबारको सूचिमा छन् । खोज्दै जाने हो भने यस्तै थुप्रै पात्र र प्रवृत्तिहरु नेपाली राजनीतिमा भेटिन्छन् । शायद औलामा गन्न सकिने मात्र बेदाग भेटिएलान् । अनुहार भरी हिलो छ्यापिएका उनीहरु आखिर केको बलमा मतदाता सामु जान लागेका होलान् भन्ने जिज्ञासा स्वाभाविक छ । र उत्तर पनि सहज छ, अथाहा पैसाको परिचालन । शिर्षकमा उल्लेखित उखानका काग जस्ता मतदाता हामी, जो भोली हेर्दैनौं, हेर्छौं त केबल मतदानको दिन नजिकिँदै गर्दा कसले बढी पैसा दिन सक्छ । टपरीमा पैसा रुपि भातको सिता लिएर आउने छद्मभेषीहरु मतदाता रुपि कागलाई मोहित गर्छन अनि चुनिन्छन्– जनताको अपमान गर्नेहरु, सरकारी जग्गा हडप्नेहरु, भ्रष्टाचार गरेको सगर्व घोषणा गर्नेहरु, जिउँदै मानिसलाई जलाउनेहरु अनि यौन दूराचारका अभियुक्तहरु ।