हरेक वर्ष २ फ्रेबुअरीलाई विश्व सिमसार दिवसको रुपमा संसार भर मनाउने गरिन्छ । हिजो विश्व सिमसार दिवसको अवसर पारेर ध्भतबिलमक बअतष्यल ायच उभयउभि बलम लबतगचभ अर्थात मान्छे र प्रकृति दुबैका लागि सिमसारको संरक्षण भन्ने नराका साथ र नेपालमा “दलदल, पानी, पोखरी र खोला, संरक्षण गरे सर्वहित होला” भन्ने नारा का सो दिवस मनाइयो । यो वर्ष अर्थात सन् २०२२ को नाराको अर्थ हो सिमसारको संरक्षणसंग जोडिएको प्रकृति र मानिसको संरक्षणको महत्व ।
त्यसो भए के हो त सिमसार भनेको ? अनि प्रकृति संरक्षण र सिङ्गो मानवजातिको अस्तित्व रक्षामा सिमसारको के महत्व छ ? यही विषयमा यो आलेखमा चर्चा गर्न चाहन्छु । नेपाली बृहत् शब्दकोषमा सिमसार शब्दको अर्थ, पानी नसुक्ने र अलिअलि झार हुने चिसमिरो जमिन भनिएको छ । यसको अर्थ सिमसार भनेको पानी नसुक्ने दलदले वा छिपछिपे जमिन हो ।
सिमसार अन्य भूभागमा नपाइने असंख्य प्राणीका वासस्थान हुन् अनि अन्यत्र नपाईने कैयौं वनस्पति पाइने क्षेत्र हुन् । त्यहाँ पानीओतदेखि कछुवा र पानीहाँसदेखि भ्यागुता अनि असंख्य प्रजातिका माछासमेत आश्रित हुन्छन् । यसका साथै सिमसारले अत्यधिक कार्बन संग्रहण गर्ने हुँदा तापक्रम र जलवायु परिवर्तन नियन्त्रणमा पनि उल्लेखनीय भूमिका निभाउँछ ।
सिमसारले हामीले गरेको प्रदूषण छान्दै पानीको निर्मलीकरण गर्छ अर्थात पिउन योग्य बनाउँछ । सिमसारले जमिनमा पाइने कुल कार्बनको एकतिहाइ आफैँले सोसेर राखिदिन्छ । यतिमात्र होइन करिब ४० प्रतिशत जीवजन्तु सिमसारमा बस्छन् या बच्चा निकाल्छन् । त्यसैगरी अत्यधिक माछाको संख्या र प्रजाति नुनिलो पानीमा नभई सिमसार क्षेत्रमा पाईन्छन् ।
सन् १९७१ फेबु्रअरी २ मा इरानको रामसार सहरमा भएको भेलाले विश्वका रामसार क्षेत्रको संरक्षणको अवधारणा सहित एउटा महासन्धीको परिकल्पना गरेको थियो, जसलाई पछि गएर रामसार महासन्धी भनियो ।
जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिएका सिमसार क्षेत्रको संरक्षण गर्न आवश्यक पहल गर्ने उद्देश्यले भएको यो महासन्धीमा नेपाल सहित संसारका एकसय ७० राष्ट्रले हस्ताक्षर गरेका छन् । विश्वका सिमसारलाई तिनको संरक्षण हेतु रामसारमा सूचिकृत गरिन्छ र संसारका एक हजार ६ सय ७६ सिमसार रामसारमा सूचिकृत छन् ।
नेपालमा ५ हजार ३ सय ५८ वटा सिमसारीय क्षेत्र छन् भने घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय क्षेत्र, बीसहजारी ताल क्षेत्र, कोशी टप्पु आरक्ष, से फोक्सुन्डो ताल, गोक्यो ताल, माईपोखरी, रारा ताल, पोखराका विभिन्न ताल तथा गासाइकुण्ड मात्र विश्व रामसार क्षेत्रमा सूचीकृत छन् र यसले ओगटेको क्षेत्रफल ६० हजार ५६१ हेक्टर रहेको छ ।
जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिएका सिमसार घट्नु वा लोप हुँदै जानु भनेको जैविक विविधतामा ह्रास आउनु हो । जैविक विविधतामा ह्रास आउनुको अर्थ हाम्रो दैनिक जीवन पनि कष्टकर हुनु हो अनि हाम्रै अस्तित्व संकटमा पर्नु हो । त्यसैले यसको विनाश र अतिक्रमण रोक्न आवश्यक छ । कतिपय अवस्थामा आम नागरिकलाई सिमसारको महत्व बुझाउन नसक्दा यसको विनास हुदैँ गएको छ । यसका लागि आम मानिसमा सिमसारको अर्थ र महत्व बुझ्ने खालका कार्यक्रमहरु गर्नु जरुरी छ । सिमसारको विनाश हुँदै जाँदा माथि भनिएका जलचरहरुको आश्रय स्थलको विनाश हुने र ति जीवहरु लोप हुँदै जाने अवस्था आउँछ ।
यद्यपि सिमसार को विनाशमा जनसंख्याको वृद्धि, सहरीकरण, अन्य विकासका कार्यहरु तथा जलवायुमा भएको परिवर्तन र मिचाहा प्रजातिका वनस्पतिको अतिक्रमण कारक छन् । लोपहुन लागेका जीवजन्तु र वनस्पतिको संरक्षणमा सिमसारको महत्व रहेकोले त्यस्ता जीवजन्तु र वनस्पति संरक्षण र पारिस्थितिक प्रणालीको सुसञ्चालनका लागि सिमसारको संरक्षण गर्नु अत्यावश्यक हुन्छ । विभिन्न प्रकारका जीव विचरण गर्ने तथा वास बस्ने भएका कारण सिमसार क्षेत्रको संरक्षण गर्दा त्यस्ता जीव तथा वनस्पतिको पनि संरक्षण हुन पुग्छ र वातावरण संरक्षणमा पनि टेवा पुग्छ । पारिस्थितिक प्रणाली वा पर्यावरणीय सन्तुलनमा पनि सिमसारको महत्वपूर्ण स्थान छ । त्यसो त विश्वमा बढ्दै गएको पानीको संकट कम गर्न पनि सिमसार क्षेत्रलाई संरक्षित गर्नुपर्छ ।
नेपालको हकमा कुल क्षेत्रफलको ६ प्रतिशत मात्र क्षेत्रफल ओगटेको सिमसार क्षेत्रले थुप्रै मेरुदण्ड भएका प्रजाति, दुइ हजारभन्दा वढी प्रजातिका वनस्पति, २४६ रैथाने प्रजातिका फूल, ३७ प्रजातिका कीटपतङ्ग, ३६ प्रजातिका उभयचर, १८५ प्रजातिका माछा, ८० प्रजातिका घस्रने जन्तु र १९३ प्रजातिका चराचुरुङ्गीको वासस्थान दिएको छ ।
यी सबैको वासस्थान जोगाउन पनि हामीले सिमसारको संरक्षण गर्नु जरुरी छ । संगै हामीले के पनि बुझ्नु जरुरी छ भने माथि भनिएका जीवजन्तुका वासस्थान सुरक्षित रहँदा यिनीहरुको अस्तित्व रहन्छ र तिनको अस्तित्वसंग हाम्रो पनि अस्तित्व जोडिएको छ । सिमसारसंग हाम्रो जीवन र अस्तिव मात्र होइन हाम्रो सभ्यता, संस्कृति र परम्परा पनि जोडिएको छ ।
हामीले मनाउने चाडपर्वहरु योसंग गाँसिएका छन् । हामीले जलका देवता भनेर गरिने सर्प ( नाग ) को पुजा का लागि पानीको श्रोत भएको ठाउँ चाहिन्छ । अनि छठको पुजा गर्न पनि पानीको श्रोत नै चाहिन्छ । हामी अधिकांशको पित्रृ कार्यका लागि पनि पानीको संसर्ग नै चाहिन्छ । सिमसारको संरक्षण गर्नु भनेका पानीको संरक्षण गर्नु हो र कल्पना गरौं त पानी विनाको संसार कस्तो होला ? के हाम्रो जीवनको अस्तित्व रहला ?
हाम्रै तनहुँमा पनि यस्ता धेरै सिमसार क्षेत्रहरु छन्, जसले अन्य जीवहरुसंगै हामी मानव जातिको अस्तित्व रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । यसरी समग्रम हाम्रो वातावरणलाई हामीलाई बस्न लाएक बनाउने अनि हाम्रो जीवनकै संरक्षण गर्ने सिमसारको संरक्षणमा हामी सबैले ध्यान दिन प्रारम्भ गरौं । विश्व सिमसार दिवसको ढिलै भएपनि शुभकामना !