दमौली/जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदबार शान्तिरमण वाग्ले पुनः निर्वाचित भएका छन् ।
जिल्ला समन्वय समितिका लागि सोमबार निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको थियो । तर आइतबार समन्वय समिति प्रमुखमा कांग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदबार वाग्लेको मात्र उम्मेदबारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । व्यास नपा वडा नं ३ को वडा सदस्य रहेका वाग्ले यसअघि पनि जिसस प्रमुखमा निर्वाचित भएका थिए ।
जिसस उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदबार बनेका माओवादी केन्द्रका तर्फबाट आँबुखैरेनी गाउँ पालिका वडा २ को वडा सदस्यमा निर्वाचित बासुदेव थापाको निर्वाचित भएका छन् । उपप्रमुखमा पनि थापाको मात्र उम्मेदबारी परेको थियो ।
आठ सदस्य रहने जिससमा कांग्रेसका तर्फबाट छ जना तथा माओवादी केन्द्रका तर्फबाट २ जनाको उम्मेदबारी परेको थियो । अर्काे दल एमालेले कुनै पनि पदमा उम्मेदबारी नदिएपछि उनीहरु पनि निर्विरोध निर्वाचित भएका हुन् ।
कांग्रेसका तर्फबाट जिसस सदस्यमा निर्वाचित हुनहरुमा भानु–१३ का चिरञ्जिबी ढकाल, आँबुखैरनी–४ का नेत्र गुरुङ, ऋषिङ–२ की पानकुमारी खाँड, शुक्लागण्डकी –१० की तीलादेबी राना तथा म्याग्दे–४ का डोलबहादुर सुनार रहेका छन् । यसैगरी माओवादी केन्द्रका तर्फबाट निर्वाचित हुनेहरुमा शुक्लागण्डकी–११ का खिमलाल भण्डारी तथा बन्दीपुर–५ की लक्ष्मी गुरुङ रहेका छन् ।
जिल्ला समन्वय समितिको निर्वाचनका लागि जिल्लाका पालिका प्रमुख तथा उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ ।
तनहुँका १० पालिकाका २० मतदाता मध्ये कांग्रेसका १०, एमालेका ६ र माओवादी केन्द्रका ४ मतदाता रहेको थिए ।
२०७४ को निर्वाचनमा १२ मतदाता भएका कारण एकल जिसस बनाएको कांग्रेसले यस पटक भने एकल जिसस बनाउन सकेन ।
जिसस तनहुँमा पुनः वाग्ले
previous post