हुलाक टिकटको बढी मुल्य लिएको र जग्गा हराएको गुनासो
दमौली/जिल्ला हूलाक कार्यालय तनहुँले पहिलो पटक आफ्नो बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
कार्यालयले बुधबार तनहुँ स्थित सम्पूर्ण प्रकाशन गृहका प्रमुखहरुलाई आमन्त्रण गरेर आफ्नो बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।
जिल्ला हुलाक कार्यालयले ३७ वटा अतिरिक्त हुलाक र १४ वटा इलाका हुलाक कार्यालयका कूल दुई सय पाँच जना कर्मचारीले सेवा प्रदान गरेको जनाएको छ । जिल्ला हुलाक कार्यालयले राष्ट्रिय सतर्कताकेन्द्र तथा सूचना आयोगको परिपत्र अनुसार जिल्लाभरका सार्वजनिक निकायको सूचना अधिकारीको विवरण संकलन गर्ने अद्यावधी गर्ने र प्रकाशन गर्ने काम गरेको जनाएको छ । त्यसैगरी जिल्ला भरका सार्वजनिक निकायहरुमा सूचना अधिकारीको व्यवस्था गरे नगरेको तथा त्रैमासिक रुपमा स्वतः प्रकाशन गर्नुपर्ने सूचना प्रकाशन सम्बन्धमा अनुगमन गरेको समेत जनाएको छ । परिपत्र अनुसार तीन महिना भुक्तान भएपछिको महिनाको सातगतेभित्र त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
हुलाक टिकट मूल्य भन्दा बढी मूल्य लिइएको गुनासो तर्फ ध्यानाकर्षण जनाउँदै जिल्ला हुलाक कार्यालय तनहुँले मूल्य तिरेपछि हुलाक टिकट पाउनु पर्ने जनाएको छ । हुलाक टिकटको मूल्य भन्दा मूल्य लिने छुट कसैलाई नभएको स्पष्ट पार्दै कसैले मूल्य भन्दा बढीमा हुलाक टिकट उपलब्ध गराएमा जिल्ला हुलाक कार्यालयलाई सूचना उपलब्ध गराएमा त्यस्तो विक्री केन्द्र तुरुन्त बन्द गराईने तनहुँ जिल्ला हुलाक कार्यालयले जनाएको छ । बुधबार बार्षिक प्रगति प्रतिवेदन सार्वजनिकरण तथा लोककल्याणकारी विज्ञापन प्रकाशन मापदण्ड सम्बन्धी गोष्ठीमा हुलाक कार्यालय तनहुँेले सो कुरा स्पष्ट पारेको छ ।
जिल्ला हुलाक कार्यालय तनहुँ अन्तरगतको ऋषिङ्ग रानीपोखरी इलाका हुलाक कार्यालयको नाममा दर्ता स्रेस्ता कायम भएको जग्गा हराएको कार्यालयले जनाएको छ ।
सरस्वतीकृष्ण श्रेष्ठको नामबाट कि.नं. २१७ को क्षेत्रफल ०–२–१–२ जग्गा इलाका हुलाक कार्यालयको नाममा सरी जग्गा धनी प्रमाण पुर्जा बनेको थियो । सो जग्गामा रहेको भवन पनि हाल अस्तित्वमा रहेको छैन । साथै क्षेत्रफल मध्ये नापीले कार्यलयको नाममा कि.नं. २२५ कायम गरी क्षेत्रफल ०–१–०–३ मात्र कायम गरिदिएको छ । के कसरी कुन प्रक्रियाबाट क्षेत्रफल घट्यो भन्ने जिज्ञासा कार्यालय प्रमुख मित्रलाल भट्टराईसंग राख्दा खोजी भैरहेको बताउँछन् । दुई दाम जग्गा मोटर बाटोमा परेको देखिएको छ । बाँकी ०–१–०–१ क्षेत्रफल के कसरी हरायो अनभिज्ञता प्रकट गर्दछन् । त्यसैगरी वैदी इलाका हुलाक कार्यालयको कि.नंं २६६ को जग्गाको पनि खोजी भैरहेको छ । बार्षिक प्रगतिप्रतिवेदन सार्वजनिक तथा लोककल्याणकारी विज्ञापन प्रकाशन तथा भुक्तानी मापदण्ड विषयक गोष्ठिमा सो कुरा सार्वजनिक गरिएको थियो ।