कमलबारी/केही गर्ने इच्छा भए कुनै कुरा असम्भव छैन भन्ने कुरा व्यास १२ कमलबारीकी अस्मिता थापाले सार्थक बनाएकी छन् । गत शुक्रबार अस्मिता आफु पढेको विद्यालय सिद्धेश्वरी माविबाट शैक्षिक वर्ष २०७५ मा विभिन्न कक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुका लािग विभिन्न पुरस्कार लिएर विद्यालय आइन् । पुरस्कारमा थिए ः क्याल्कुलेटर, कापी, कलम, शिसाकलम, ज्यामिती बक्स, र पानी पिउने बोतल ।
दशवटा कक्षाका तीस विद्यार्थीका लागि २० हजार रुपैयाँ बराबरको पुरस्कार लिएर आएकी उनलाई पहिले त कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले रकम उपलब्ध गराएका कारण पुरस्कार लिएर आएकी भन्ने सोचे । तर वास्तविकता भने भिन्ने रहेछ । पृथ्वीनारायण क्याम्पस पोखरामा विएस्सी तेस्रो वर्षमा अध्ययनरत उनले साथीहरुसंगबाट उक्त रकम संकलन गरेकी रहिछन् ।
विद्यालयले गत फागुनमा आफ्नो स्थापनाको स्वर्ण महोत्सवका अवसरमा हाल सम्म सर्वाधिक अंक ल्याएर एसएलसी उत्तीर्ण गर्ने विद्यार्थीको रुपमा उनलाई सम्मान गरेको थियो । थापा भन्छिन् – सोही सम्मानले मलाई प्रोत्साहन गरेर म साथीहरुसंग मागेर भए पनि आफु पढेको विद्यालयका विद्यार्थीहरु लाई सहयोग गर्छु भन्ने निर्णयमा पुगेकी हुँ । अस्मिताले कलेजमा आफ्ना साथीहरुलाई जब उनको अठोट सुनाइन तब साथीहरु पनि सहयोग गर्न तयार भए । पोखराका कुन्दन मगर, अनुप थापा तथा अखिलेस श्रेष्ठ र तनहुँकै जितबहादुर थापाले उनको होस्टेमा हैँसे मिलाए । अनि जम्मा भयो बिसहजार रुपैयाँ । त्यही बीसहजारले उनले विभिन्न शैक्षिक सामग्रि किनिन् र आफ्ना गाउँले भाइ बहिनीको पढाइमा सहयोग गर्न विद्यालय आइपुगिन् । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा बालबालिकालाई पुरस्कार हस्तान्तरण गर्दै गर्दा अस्मिताको मुहारमा खुसी झल्केको प्रष्टै देख्न सकिन्थ्यो । स्थानीय शिक्षक छवीदीप आले सानै देखि अस्मिता मेधावी र सहयोगी भएको बताउँछन् । मध्यम वर्गिय परिवारकी त्यो पनि अध्ययनरत अस्मिताले चाहेर पनि एक्लै त्यो स्तरको सहयोग गर्ने अवस्था थिएन । तर जब उनले अठोट लिईन त्यो पूरा गरेर छाडिन् । जहाँ इच्छा त्यहाँ उपाए भन्ने कुरालाई अस्मिताको कामले सत्य तुल्याई दिएको छ ।