उद्घाटन भजन प्रार्थनापछि दाता सम्मान
गजरकोट/जनविश्वास जितेका नाहुँ देवताको थानमा निर्मित पूर्वाधार मन्दिरको मंसिर आठ गते शनिबार जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले एक समारोहका बीच उद्घाटन गर्नुभएको छ । जनविश्वास र आस्था रहेको नाहँु देवताको प्रभाव क्षेत्रको संरक्षण गरेर यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र निर्माण गर्न सकिने विश्वास प्रमुख अतिथि वाग्लेले उपस्थित सहभागिहरुका बीच व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि वाग्लेले गजरकोट नाहुँथान संरक्षण संस्थाका तर्फबाट मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान तथा मायाँको चिनो हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा साना साना नानीहरुले राम्रो नृत्य समेत प्रस्तुत गरेका थिए । पूर्वाधार मन्दिरको उद्घाटन पछि काठेकोटमा जन्मेर नाहुँ देवताको आर्सिवाद पाएपछि लण्डनलाई स्थायी वासस्थान बनाउन सफल वेमबहादुर थापा चित्रा थापा दम्पत्तीले स्थानीय साना नानीहरुलाई साथमा लिएर करिव एक घण्टा संस्कृत, हिन्दी र नेपाली भाषामा चरणबद्ध भजन तथा नाहुँ देवताको प्रार्थना गर्नुभएको थियो ।
पञ्चैवाजा सहित काठेकोटमा गएको त्यो समूहले भजन सकेपछि पुनः काठेकोटमा पुगेर प्रसाद ग्रहण गरी मन्तब्य तथा दाता सम्मान कार्यक्रम गरेको थियो । कार्यक्रमलाई जिल्ला समन्वय समिति तनहुँका नीलबहादुर थापा, नेकपा तनहुँका सदस्य होमबहादुर थापा, नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका उपसभापति ऋषिराम पोख्रेल, स्रोतव्यक्ति दामोदर खनाल, नेपाली काँग्रेस घिरिङका उपसंयोजक सुमन थापा, वडा नंं. २ का वडाध्यक्ष पूर्णबहादुर थापा, वडा नं. १ का वडाध्यक्ष गंगाराम कुमाल, वेमबहादुर थापा, नेपाल मगर राष्ट्रिय महिला संघकी केन्द्रिय सदस्य फुलकुमारी थापा, मेखनारायण श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
गजरकोट नाहुँथान संरक्षण संस्थाका अध्यक्ष भक्तबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सचिव इमानसिं थापाले गर्नुभएको थियो भने आयव्ययको प्रतिवेदन कोषाध्यक्ष चेतनारायण श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।