गोल्ला/नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले जनमतका आधारमा उम्मेदवार चयन गरी टिकट दिनु पर्ने बताउनु भयो । विगतमा टिकट वितरण गर्दा जनमत र पार्टी नीतिलाई पूर्ण रुपमा उपेक्षा गर्दै नातागोता र विक्रीको नीतिमा वितरण गरिदा नेपाली काँग्रेसको उम्मेदवारको हार भएको चर्चा गर्न भएको थियो ।
भागबण्डाको हकदावी गरेर केन्द्रबाट टिकट ल्याएर पैसा लिएर हो वा त्यसै हो मन लागेका मान्छेलाई टिकट दिएर नेपाली काँग्रेसका सच्चा इमानदार निष्ठावान कार्यकर्ताको अपमान गरिएकोमा आक्रोस पोख्दै पूर्व सहमहान्त्री गोविन्दराज जोशीले आउने चुनाव जनमतको कदर भए टिकट लिएर, पुनः अपमान भए जनमतका आधारमा जनताको टिकट लिएर आफूले चुनाव लड्ने घोषणा गर्नुभयो ।
वी.पी. विचार समाज जिल्ला कार्य समितिको पाँचौ अधिवेशन तथा समाजको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता जोशीले फागनु २९ गते सो कुरा बताउनु भएको हो ।
सामान्य चेकअपका लागि भारतको मेदान्त पुगेको मौका छोपेर कार्यकर्तालाई जोशीलाई आईसियूमा राखेर उपचार भएको छ भन्ने भ्रम सिर्जना गरेर मेलमिलाप हुन सक्दैन भन्दै नेता जोशीले भन्नुभयो, ‘मेलमिलाप सिद्धान्तका आधारमा हुन्छ, भ्रम र धोकाले कार्यकर्ताको अपमान गरेर मेलमिलाप हुन सक्दैन । कार्यकर्तालाई सम्मान गर्न नजानेसम्म मेलमिलापको अर्थ हुँदैन ।’
नेपाली काँग्रेसको नेतृत्वलाई सर्वनास हुने बाटोमा नजान आग्रह गर्दै जोशीले राजनीतिमा रगतको नाता भन्दा सिद्धान्तको नाता नजिकको हुन्छ, सिद्धान्तका आधारमा संगठित निष्ठावान कार्यकर्ताको अपमानले ने. काँग्रेसको अस्तित्व सर्वनास हुने चेतावनी दिनुभयो ।
वी.पी. विचार समाज तनहुँका अध्यक्ष डिल्लीराम अधिकारीको सभापतित्वमा भएको सो समारोहलाई सम्बोधन गर्दै जोशीले १५÷१६ बर्ष निर्वाचित राजनीतिको जिम्मेवारीबाट बाहिर पर्दा विकासका गतिविधि पछाडि परेको अनुभूत गरेका तनहुँका आमजनताले अझै एक पटक उम्मेदवार बन्न गरेको आग्रहलाई मैले अवमूल्यन गर्न सक्दिन, ७० बर्षको उमेरमा अन्तिम पटक आमजनताको आग्रह बमोजिम म उम्मेदवार बन्दैछु तपाईहरुले सहयोग गर्नुहोला भन्नुभयो ।
वी.पी. विचार समाज तनहुँको भवन निर्माणमा सहयोग पु¥याउने चन्दादाता, निर्माण समिति लगायतका सत्रजनालाई सो अवसरमा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
सभालाई नेपालीका काँग्रेसका नेता गोपिबहादुर गुरुङ्ग, परशुराम गिरी, सुकुमलाल गुरुङ्ग, श्रीभक्त आचार्य, नरेन्द्र थापा, खोजबहादुर गुरुङ्ग, इन्द्र पौडेल, रामदेव पन्थ, हिमनिधि पाण्डे, इन्कन खनाल, मनिबहादुर गुरुङ्ग ‘चरी’ लगायतले सम्बोधन गर्नुभएको थियो । यस अघि सभालाई नेपाल पत्रकार महासंघ तनहुँका सभापति ओमकार आचार्यले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा आर्थिक प्रतिवेदन कोषाध्यक्ष चिनु पोखरेल र प्रगतिप्रतिवेदन सचिव हरिशरण पण्डितले पेश गर्नुभएको थियो ।
पाँचौ अधिवेशनले पुनः डिल्लीराम अधिकारीलाई नै सर्वसम्मत सभापति निर्वाचित गरेको छ । सभापतिले बाँकी पदाधिकारी र सदस्य मनोनित गर्ने विधानमा व्यवस्था छ ।
जनमतको आधारमा टिकट दिनु पर्दछ–काँग्रेस नेता जोशी
previous post