दमौली/नेपाल आदिवासी जनजाति महासंघ तनहुँको आयोजनामा यही पुस २४ गते देखि माघ ५ गते सम्म सञ्चालन हुने छैठौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव–२०८२ को तयारी तिव्र गतिमा अगाडि बढाएको छ ।
भाषा, लिपि, धर्म, संस्कृति र सभ्यताको जगेर्ना तथा हस्तान्तरणमा एक्यबद्धता, खुला जीवन्त सांस्कृतिक संग्रहालय निर्माण र पर्यटन विकासमा प्रतिबद्धता’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवमा आयोजकले महोत्सव अवधिभर करिब तीन लाख दर्शकले अवलोकन गर्नेे अनुमान सहित लक्ष्य राखेको छ ।

महोत्सव भव्य बनाउने उद्देश्यले दमौलीका विभिन्न स्थानमा स्वागत गेट, परम्परागत जातीय घर, स्टल निर्माणको कार्य भइरहेको महोत्सव मुल समारोह समिति संयोजक सनम तामाङले जानकारी दिए ।
व्यास नगरपालिका–३ स्थित अनसन चौतारीको खुला मैदानमा सञ्चालन हुने महोत्सवमा आइफिल टावर, लण्डन ब्रिजको आभास गर्न पनि पाइने तामाङले बताए । “यी मुख्य आकर्षणको संरचना भए पनि मौलिक संस्कार, संस्कृति संरक्षण प्राथमिकता हो”, भन्दै उनले, मुनाफाले जीवन्त सांस्कृतिक संग्राहलय निर्माण भएकोले आम्दानी बढाउने विषय प्राथमिकतामा रहेको समेत बताए ।
आइफिल टावर, लण्डन ब्रिजलगायतका संरचनाले दर्शकलाई आकर्षित गर्ने महासंघका सचिव जीवन गुरुङ ‘कुमार’ले बताए । उनका अनुसार विद्यालयस्तरीय नृत्य प्रतियोगिता, मौलिक सांस्कृतिक झाँकी तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।
परिषद्का कोषाध्यक्ष ठाकुुर दरैका अनुसार महोत्सवबाट करिब रु.७३ लाख आम्दानी हुनेछ र रु.५८ लाख खर्च हुने भने महोत्सवबाट रु.१५ लाख बचत गर्ने लक्ष्य लिइएको कोषाध्यक्ष दरैले बताए । जिल्लाभरका जातीय कला, संस्कृति र पहिचान झल्कने जीवन्त सांस्कृतिक संग्रहालय निर्माण गरिने परिषद्का वरिष्ठ उपाध्यक्ष सिद्धान्त थापाले बताए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारको प्रस्तुति रहनेछ । कला, संस्कृति, भाषा, धर्म र सभ्यताको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आदिवासी जनजाति महासंघ तनहुँका पूर्व अध्यक्ष हरिसिंह गुरुङले बताए । महासंघका उपाध्ययक्ष शेर बहादुर बोटेले महोत्सवमा १५० वटा स्टल रहने बताए । यस पटक महोत्सवमा मगर, दरै र कुमालको परम्परागत घर निर्माण गरिनेछ ।
