दमौली/कोभिड–१९ को तेस्रो भेरियण्ट ओमिक्रोनको संक्रमण दर विस्तारै ओरालो लाग्दै गएको छ ।
तनहुँ आवाजले साप्ताहिक रुपमा अघिल्लो विहिबार देखि पछिल्लो बुधबारसम्मको अवधिको संक्रमणको अवस्थालाई हेर्दा ओमिक्रोनको संक्रमण विस्तारै घट्दै गएको दखिएको हो । माघ १३ गते विहिबार देखि १९ गते बुधबारसम्मको अवस्था विश्लेषण गर्दा यो साताको पहिलो दिन रहेको ३६.७६ प्रतिशतको संक्रमण दर साताको अन्तिम दिन बुधबार आईपुग्दा ३१.४ प्रतिशतमा झरेको छ ।
संक्रमणमा अतारचढाव भने यो साता पनि चलिनै रह्यो । सााको पहिला दिनको झण्डै ३७ प्रतिशत संक्रमण आइतबार घटेर २७ प्रतिशतमा आयो । सोमबार फेरी बढेर ३३ प्रतिशत रहेको संक्रमण दर साताको अन्तिम दिन बुधबार भने घट्दै गएर ३१.४ प्रतिशतमा पुगेको छ ।
बुधबारसम्म पाँचसय भन्दाबढी संक्रमित हुने जिल्लाको संख्या गण्डकी प्रदेशका कास्की र नवलपरासी पूर्व समेत गरी १६ रहेका छन् भने तनहुँ लगाएत १८ जिल्लामा संक्रिय संक्रमितको संख्या २०० भन्दा बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबारसम्म ६२ लाख २५ हजार ९४१ जनाको परिक्षण गरिएकोमा १० लाख ९१ हजार ८८८ जनामा नतिजा पोजेटिभ आएको छ । जसमध्ये आठ लाख ७८ हजार ७२० जना अर्थात ९१.६ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ७६४ जनाको मृत्यु भएको छ । जनु कुल संत्रमितको १.३ प्रतिशत हो । संसारभरको तथ्याङ्कलाई हेर्ने हो भने निको हुने दर ७९.२ प्रतिशत रहेकोमा नेपालको निको हुनेदर त्यो भन्दा बढी रहेको छ । यसैगरी मृत्यु हुनेदर संसारभरको १.५ प्रतिशत रहेकोमा नेपालको भने १.३ प्रतिशत मात्रै रहेको छ ।
बुधबारसाँझ सम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै मृत्यु बागमती प्रदेशमा पाँच हजार ७४ को भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेश चारसय ८० जनाको भएको छ । मृत्यु हुनेको संख्याको आधारमा गण्डकी प्रदेश चौथो स्थानमा छ । यो प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म एक हजार ३९९ जनाको मृत्यु भएको छ ।